बाबाआमाको सम्मानमा पदमार्ग

समाधान संवाददाता २०७७ कार्तिक ५ गते ६:०९

राकेश शर्मा
म्याग्दी


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पाउद्वाराबासीले आफ्ना बाबाआमाको सम्मानमा कालीगण्डकीको तिर पोखरेबगरदेखि हिमालको काख खयरताल (खयर लेक)सम्म पदमार्ग बनाएका छन् ।

देश तथा विदेशमा रहेका पाउद्वारबासीले आफ्ना दिवंगत भएका पितृ र ८४ वर्ष उमेर पुगेका बाबाआमाको सम्मानका लागि पदमार्ग बनाएका हुन् ।

Advertisement

उनीहरुले सामूहिक रुपमा जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा पदमार्ग बनाएका छन् । अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) बनाइएको छ । ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा बनेका छन् । यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा बनाइएका लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली हिँड्दा हुने थकानलाई भुल्छन ।

यसभन्दा अघि पाउद्वारदेखि खोप्रालेक जाने पर्यटकका लागि बाटोमा तिर्खा लाग्दा खानेपानी थिएन । पर्यटकले पाउद्वारदेखि नै पानी बोकेर जानुपर्ने बाध्यता थियो । पाउद्वारका बुद्धि पुनले स्थानीयले पितृ उद्दारको लागि बाटोमा खानेपानीको धारा, थकान लाग्न बस्ने चौतारी बनाएको जानकारी दिए । ‘बाबाआमालाई सम्झने र सम्मान गर्ने हाम्रो गाउँको छुट्टै विशेषता छ,’ उनले भने, ‘पदमार्गमा आउने जो कोहीको आशीर्वादले हामीलाई पुण्य मिल्ने छ ।’

Advertisement

पाउद्वार घरभई पोखरा बस्दै आएका कृष्णबहादुर तिलिजाले खयरताल जान धोती खोलाको उकालोमा ३ खण्डमा विभाजन गरेर सहयोगदाता खोजेर पदमार्ग बनाउन लागेको बताए । पदमार्गको एक खण्ड बाँकी रहेको जानकारी दिँदै तिलिजाले आफ्ना ३ भाइले बाबा ८४ वर्ष पुगेको उपलक्ष्यमा पूजा गर्नुभन्दा उहाँको सम्मान स्वरुप ७ लाखको लागतमा ५ सय ८५ सिँढी बनाएको बताए ।

कृष्ण तिलिजाको परिवार जस्तै ३६ भन्दा बढी घरपरिवार रहेको पाउद्वारबासी हरेकले पदमार्ग बनाउन केही न केही सहयोग गरेका छन् । खोप्रालेकमा पर्यटकको आगमन सुरु भएपछि स्थानीय लगायत रोजगारीका लागि प्रवासमा पुगेकाले आफन्तको सम्मानमा करिब १ करोड बराबरको पदमार्ग निर्माण गरेका हुन् ।

पदमार्ग नबन्दासम्म पर्यटकलाई खोप्रा, खयरलेक पुग्न निकै कठिन थियो । पदमार्ग बनेपछि खोप्रालेकलाई प्रमुख पर्यटकीयस्थल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पदमार्ग बनाउन स्थानीयले सरकारी बजेटका पटक पटक पहल गरेता पनि सम्भव हुन सकेको थिएन । स्थानीयले पितृको नाममा चौतारी, खानेपानी, पदमार्ग निर्माण लगायतका कार्य सबैको लागि अनुकरणीय बनेको छ ।

खोपारा क्षेत्रको पर्यटकीय विकासमा लागेका बेलायती सेनाबाट अवकासप्राप्त लेफ्टिनेन्ट राजु पुनले सबै गाउँले मिलेर गरेको कामले सफलता पाएको बताए । ‘पदमार्ग बिग्रे भत्केको खण्डमा स्थानीयले जनश्रमदान गरेर बनाउने निधो गरेका छन,’ उनले भने, ‘केहीले आफ्नो भागमा परेको ठाउँमा ठेक्का दिए, केहीले दिनगन्तीमा मान्छे लगाएर काम गरेका थिए ।’ उनका अनुसार स्थानीयले पदमार्गको बीच बीचमा पर्यटकका लागि विश्राम गर्न सत्तल समेत निमार्ण गरेका छन् ।

उनीहरुले हिड्न नसक्ने पर्यटकका लागि ठाउँ ठाउँमा बसेर खान मिल्ने भवन समेत बनाएका छन् ।

गाउँलेको पहलमा पालिकाको साथ
पाउद्वारबासीले सुरु गरेको अभियानमा अन्नपूर्ण गाउँपालिकाले पछि आएर साथ दिएको छ । पालिकाले अहिले खोप्रादेखि खयरलेक जोड्ने पदमार्गको निमार्ण कार्य थालेको छ ।

पालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १० लाखको बजेटबाट पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निमार्ण समितिका अध्यक्ष राकेश पुर्जाले लरेनीमा १ सय ५०, डेरीबासमा १ सय, दोबाटोमा १ सय ५०, खोपारामा २० र चिन्नेखर्कमा ४ सय मिटर गरी ८ सय २० मिटर पदमार्ग बनाएको जानकारी दिए । खोपारामा भलपानी व्यवस्थापनका लागि नाली र ३ थान ग्याबिन पर्खाल निर्माण गरिएको छ ।

पुर्जाका अनुसार समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटरको उचाइमा पदमार्ग निर्माण गर्न कार्यक्षेत्रमै क्याम्प खडा गरिएको थियो । पदमार्ग निमार्णमा स्थानीय बेरोजगार युवाहरूलाई परिचालन गरिएको छ । २५ युवालाई दिनको १ हजार रुपैयाँका दरले ज्याला दिएर पदमार्ग निर्माणमा परिचालन गरिएको उनको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने शिखको वयली, ढाडखर्क हुँदै खोपरा जोड्ने अर्को पदमार्ग निर्माणका लागि समेत गाउँपालिकाले यसै वर्ष १० लाख बजेट विनियोजन गरेर काम सुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताए । गाउँपालिकाभित्र पर्ने पर्यटकीय स्थलहरुको डिपिआर तयार गरी पूर्वधार निमार्ण गर्न लागेको उनले जनाए ।

तपाईको प्रतिक्रिया