मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भनेः सशुल्क उपचार गर्ने निर्णय सच्याऔं

समाधान संवाददाता २०७७ कार्तिक ७ गते १२:२०

समाधान संवाददाता, पोखरा

१ हप्ता पहिले सरकारले कोरोना संक्रमितले आफ्नो खर्च आफैं व्यहोर्नुपर्ने जनायो । महामारीमा सरकारको काम संक्रमितको संख्या गन्नेमात्रै भएको भन्दै आलोचना सुरु भयो । केन्द्र सरकारको निर्णय प्रदेश सरकार पनि सन्तुष्ट छैनन् ।

एकपछि अर्को गर्दै प्रदेशले संक्रमितको खर्च व्यहोर्ने निर्णय गर्न थाले । गण्डकी प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको निशुल्क उपचार गर्ने निर्णय गर्‍यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार नै यसको घोषणा गरिसकेका थिए ।

Advertisement

बुधबार मन्त्रिपरिषद् बैठकपछि उनी काठमाडौं गए । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरे । भेटघाटका क्रममा मुख्यमन्त्री गुरुङले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हट्न नहुने भन्दै निर्णय सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘हामी अहिले काठमाडौंमा छौं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग हिजो भेटघाट भएको थियो,’ मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले भने, ‘भेटमा कोरोना संक्रमितको उपचारबाट सरकार पछि हट्न हुँदैन भन्नुभएको छ । यसमा प्रधानमन्त्री पनि सकरात्मक देखिन्नुहुन्छ ।’

Advertisement

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितको सशुल्क उपचार गर्ने भन्ने सूचनाबारे मुख्यमन्त्रीले अस्पतालका निर्देशकसँग कुराकानी गरेको न्यौपानेले बताए ।

‘केन्द्रले निर्णय नसच्याए प्रदेशले संक्रमितको खर्च व्यहोर्छ भनेर निर्देशकसँग कुराकानी भयो । प्रदेश पछि हटे त्यहाँ उपचारलाई आउने संक्रमितको खर्च प्रदेशको कोरोना कोषबाट हुन्छ,’ उनले भने ।

केन्द्र मातहतको क्षेत्रीय अस्पतालले केन्द्र सरकारको निर्णयअनुसार संक्रमितको सशुल्क उपचार गर्ने भन्दै बिहीबार सूचना निकालेको थियो ।

अस्पतालले कात्तिक ४ देखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी आफैले व्यहोर्नुपर्ने र खाजाखानाको व्यवस्थापन गर्न असमर्थ भए पहिल्यै धरौटी राख्नुपर्ने जनाएको थियो ।

अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले सूचना निकाले पनि अहिलेसम्म उपचार खर्च नलिएको बताए ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया