बेन स्टाेक्स चम्केपछि राजस्थानसँग मुम्बई पराजित

समाधान संवाददाता २०७७ कार्तिक १० गते ७:४०

एजेन्सी ।

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो ।

शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले अविजित रहदै १ सय ७ रनको शतकीय इनिङ्स खेले । स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गरे ।

यस्तै सन्जु सामसनले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

स्टोक्स र सामसनले तेस्रो विकेटका लागि अविजित १ सय ५२ रनको साझेदारी गरे ।

राजस्थानका रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए । मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

मुम्बईको उच्च स्कोरका लागि हार्दिक पाण्डयले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै सूर्यकुमार यादबले ४० रन जोडे । इशान किशनले ३७ रन जोड्दा सौरभ तिवारीले ३४ रन बनाए ।

क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६/६ रन बनाएर आउट भए ।

राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ विकेट लिए । कार्तिक त्यागीले १ विकेट लिए ।

जितसँगै राजस्थानले मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।

मुम्बईमाथिको सानदार जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । र, राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

मुम्बईले भने ११ खेलमा १४ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।

तपाईको प्रतिक्रिया