कालीगण्डकीमाथि बन्जी, स्विङ र साइक्लिङकाे मज्जा

समाधान संवाददाता २०७७ कार्तिक १३ गते ११:२७

पोखरा

पर्वत सदरमुकाम नजिकै भएर बग्छन् कालीगण्डकी र मोदी । यी २ नदीको संगम हो मोदीबेनी । जुन हिन्दुहरुको पवित्र तीर्थस्थल हो । २ नदीले बनाएका खोंच पार गर्न घन्टौं समय लाग्थ्यो ।

बजारबाट तल नदीको किनारमा ओर्लियो । भए पुल नभएर आफै नदी तरेर फेरि उकालो लाग्नुपर्ने ।
यहि समस्यालाई सम्बोधन ग¥यो कुश्मा र ज्ञादी जोड्ने झोलुंगे पुलले । यो पुल आफैमा लामो त छँदैथियो । नदी सतहबाट बनेको नेपालकै अग्लो पुलका रुपमा पनि यसले परिचय बनायो ।

Advertisement

स्थानीयलाई आउजाउ गर्न सहज भएको यो पुल स्वदेशी र विदेशी पर्यटकका लागि समेत आकर्षणको थलो बन्यो । त्यसपछि कालीगण्डकी नदीमाथि यस्तै पुल बन्यो पर्वत र बागलुङ जोड्ने गरी । यसले पहिलो पुलको उचाइको रेकर्ड तोड्यो ।

अहिले फेरि पर्वतमा अर्को पहिचान थपिएको छ बन्जी र स्विङ । द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ सञ्चालन थालेको छ । स्काइ साइक्लिङ पनि गराउने लक्ष्य राखेको कम्पनीले यही कात्तिक १५ गतेबाट औपचारिक रुपमा साहसिक खेल सञ्चालन गर्ने भएको छ ।

Advertisement

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँंगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङ (पिङ) का लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोला देखि पुलको उचाइ २ सय २८ मिटर अर्थात ७ सय ४८ फिट छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७ सय ६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्यान्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्वीटरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज गर्ने दाबी अध्यक्ष कार्कीको छ ।

यहाँको स्विङ भने विश्वकै अग्लो बनेको कार्कीले दाबी गरे । बन्जी र स्विङ दुवैका लागि हाल ७ हजार रुपैयाँ तोकिएको छ । पोखरादेखि कुश्माको दुइतर्फि गाडीको सुविधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ । टेन्डम (जोडी) बन्जीको १२ हजार लाग्छ ।

गुलेली शैलीको पिङ
बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

जमीनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक रहेको कम्पनीको दाबी छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ ।

चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ । पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रुपैयाँ लाग्ने कार्कीले बताए ।

स्काइ साइक्लिङ

स्टिल कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको छ । विश्वकै सबैभन्दा ऊचाइमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाइ ३ सय मिटर छ । दुइतर्फी ३ सय मिटर लम्बाइ रहेको रुटमा १ पटकमा २ जनाले साइक्लिङ गर्न मिल्ने कार्कीले बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए । साइक्लिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए ।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैं फिक्स ह्यान्डल भएको साइकललाई डोरीमा कुदाइन्छ । स्काइ साइक्लिङको सन्चालन भने केही महिनापछि गरिने छ ।

रिसोर्ट
बाग्लुङको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ । २१ वटा सफारी टेनट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न ।

लगानी
सम्पूर्ण परियोजना सक्न २० करोड खर्च हुने योजना भए पनि लकडाउनले गर्दा समयमा उदघाटन गर्न नपाएर लागत बढेर २८ करोड पुगेको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् ।

अध्यक्ष कार्की सँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्विङकालागि बनाइएको पुलको मात्र लगानी ८ करोड छ । १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ ।

कसरी पुग्ने ?

द क्लिफ प्रालि पोखरा बाट ५५ किमि, अन्नपूर्ण बेसक्याम्प को गेटवे नयाँपुलबाट १५ किमी दुरिमा अवस्थित छ ।
काठमाडौ, चितवन, पोखराबाट पर्वत कुश्मा सम्म सजिलै सार्वजनिक बस पाइन्छ । पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मा सम्म पुग्ने ‘सेयरिङ ट्याक्सी’मा पनि जान सकिन्छ ।

द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखरा– कुश्मा दुइतर्फी गाडीको सुविधा लिन सकिन्छ । जम्प नगर्ने तर हेर्न मात्र जान चाहने व्यक्तिले २ हजार रुपैयाँ तिरेर ‘गो एन्ड सी’ प्याकेज रोजेर २ तर्फी गाडीको सुविधा लिन सक्छन् ।

तपाईको प्रतिक्रिया