कोरोनाले रोक्यो मुस्ताङीको बेसी झर्ने परम्परा

समाधान संवाददाता २०७७ कार्तिक १७ गते ७:१०

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङका बासिन्दा हिउँदयामको जाडो छल्न तथा घुम्ती व्यापार तथा व्यवसायका लागि बेसी झर्ने परम्परालाई यस वर्ष कोरोना कहरले रोकेको छ ।

बर्खायाममा लगाएको खेतीपातीको कामकाज तथा महत्वपूर्ण चाडपर्व मानेर स्थानीय समुदाय वर्षेनी बेसी झर्ने चलन थियो ।

Advertisement

सदियौंदेखिको बेसी झर्ने स्थानीयको सांस्कृतिक परम्परालाई यसपटक कोरोना कहरले पूर्ण बिराम लगाएको लोमान्थाङ गाउँपालिका—५ का वडाध्यक्ष नवाङकुंगा लामाले जानकारी दिए ।

विगतमा असोजको दोस्रो हप्तामा खेतीपाती भित्र्याएपछि त्यहाँका बासिन्दा विस्तारै बेसी झर्थे ।

Advertisement

तर यसपटक उनीहरु चिसो सहेरै गाउँघरमै बस्ने योजना बनाएका छन् । बेसीमा कोरोनाको प्रभाव तिब्र भएको उल्लेख गर्दै वडा अध्यक्ष लामाले बेसी झर्दा रोग सर्ने डरले गाउँमै बस्ने स्थानीयले बताएको उल्लेख गरे ।

‘स्थानीयले गतवर्ष बेसी झर्दा कोरोना कहरले घर फर्किंदा निकै सास्ती पाए,’ वडाध्यक्ष लामाले भने, ‘बेसी झरेर रोगको सामाना गर्नुभन्दा गाउँकै हिमपात र चिसोको सामना गर्नु उपयुक्त छ ।’

उनले वैकल्पिक माध्यम अपनाएर जाडो छल्ने गाउँवासीको योजना रहेको उल्लेख गरे ।

लोमान्थाङ गाउँपालिका छोसेरका युवा कर्मावांगेल गुरुङले कोरोना कहरले स्थानीय गाउँमै बसेको बताए ।

गत वर्ष असोज र कार्तिकको पहिलो हप्तामा ९० प्रतिशत स्थानीय बेसी झर्ने गरेको जानकारी दिँदै उनले पोखरा, काठमाडौंमा घर भएका एकाध व्यक्तिबाहेक अरु कोही बेसी नझरेको सुनाए ।

उनले स्थानीयहरु हिउँदयाममा २/४ पैसा कमाएर घर गुजारा चलाउने गरेकोमा यसपटक कोरोना कहरले त्यो काम रोकिएपछि धेरैलाई आर्थिक समस्यामा पर्ने बताए ।

कोरोना भाइरसको प्रकोपको कारण जाडो सुरु हुदाँ समेत उपल्लो मुस्ताङका घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छैनन् । चालु शैक्षिक सत्रको पठन÷पाठन असोज १ गतेदेखि सुरु भएको छ ।

विद्यालयका विद्यार्थीलाई बेसी झारेर पढाइ सञ्चालन गर्न कोरोनाको जोखिम हुने भएकाले यसपटक घुम्ती कक्षा सञ्चालन नगर्ने योजना रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

वैकल्पिक माध्यमको दूरशिक्षा सञ्चालनमा आवश्यक पर्ने रेडियो, टेलिभिजन र इन्टरनेट लगायतको पहुँच नहुँदा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम साविक अनुसारको पठनपाठन भइरहेको अध्यक्ष बिष्टले बताए ।

कोरोना कहरकै कारण यसवर्ष उपल्लो मुस्ताङका बालबालिकाले चिसो र हिमपात सहदै पढ्नुको विकल्प नभएको अध्यक्ष बिष्टको भनाई छ ।

लोमान्थाङ गाउँपालिकामा १ माध्यमिक विद्यालयसहित १० सामुदायिक र ४ गुम्बा विद्यालय छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ८ सामुदायिक विद्यालय छन् ।

गतवर्ष कार्र्तिक १३ गते उपल्लो मुस्ताङबाट घुम्ती कक्षा संञ्चालन गर्न झरेका विद्यालयहरुको नियमित पठन पाठन यसपटक कोरोनाकै कारण सम्बन्धित विद्यालयमै भइरहेको छ ।

वर्षेनी कार्तिकदेखि चैत्रमहिनासम्म उपल्लो मुस्ताङमा हिमपातले गाउँबस्ती छपक्कै सेताम्मे हुने गर्छ ।

गाउँका स्थानीयले घर कुरुवा र तथा पशुचौपायाको रेखदेख गर्न परिवारका एक सदस्यलाई खटाई अधिकांश सदस्य बेसी झर्ने गर्छन् । हिउँदयाममा उनीहरु बेसी झर्दा गाउँवस्ती पुरै सुनसान हुने गर्छ ।

गाउँलेहरु पुरै बेसी झरेपछि उपल्लो मुस्ताङका सरकारी तथा सुरक्षा निकायमा कार्यरत कर्मचारी समेत जाडो छल्न जोमसोम झर्ने प्रचलन छ ।

समुद्री सतहदेखि करिब ४ हजार ८ सय मिटरको उचाईमा रहेको उपल्लो मुस्ताङमा कात्तिक लागेपछि चिसो सुख्खा हावा चल्छ ।

उत्तरतर्फबाट बेजोड धुलाम्मे हावाले स्थानीय जनजीवनलाई समेत अस्तव्यस्त पार्छ ।

हिउँदयाममा हिमपात हुने, चिसो बढ्ने र खोलानाला सेफ्टी ट्यांकी जम्ने र घरका धाराहरुमा पानी बरफ हुने लगायतका कारण स्थानीयको दैनिकी कष्टकर बन्ने गरेको छ ।

हिउँदयामको प्रतिकुल मौसमका कारण सानासाना बालवालिका, ज्येष्ठ नागरिकलाई रुघाखोकी र निमोनिया लगायत रोगले सताउँछ ।

अधिकांश स्थानीय गरिब तथा विपन्न वर्गका भएकोले बर्खायामभरी लगाएको अन्नवालीले उनीहरुलाई १२ महिनाको छाक टार्न मुस्किल पर्छ ।

खेतीपातीको उत्पादन अन्नबालीले उनीहरुलाई वर्षभर थेग्न मुस्किल पर्ने भएकाले उनीहरु हिउँदमा जाडो छल्न बेसी झर्ने परम्परा रहेको हो ।

बेसी झर्ने क्रममा उनीहरुले विभिन्न घुम्ती व्यापार तथा व्यवसाय गर्छन् ।

वर्षेनी हिउँदयामको ५ महिने बेसीको घुमन्ते व्यापारबाट कमाएको वैैकल्पिक आम्दानीले चैत्र वैशाखमा गाउँ फर्किंदा खाद्यान्न, लत्ताकपडा र घरायसी प्रयोजनका चाहिने सामग्री लिएर फर्कने चलन थियो ।

तपाईको प्रतिक्रिया