भारतीय सेनाध्यक्षकाे भ्रमण रोक्न पोखरामा प्रदर्शन

समाधान संवाददाता २०७७ कार्तिक १७ गते १४:३४

समाधान संवाददाता
पोखरा

नेपाल भारत सीमाबारे विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न भन्दै सोमबार पोखरामा संयुक्त देशभक्त मोर्चाले धर्ना दिएको छ ।
सेनाध्यक्ष नरवणेको नेपाल भम्रण रोक्न माग गर्दै मोर्चाले सोमबार १ घन्टा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएको हो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेपाल कसैको इशारामा चलिरहेको भन्ने भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय र लज्जास्पद भएकाले आफूहरु विरोधमा उत्रेको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले बताए ।

Advertisement

विवादित अभिव्यक्ति दिने व्यक्तिलाई नेपाल भ्रमण गर्न दिन नहुने मोर्चाको धारणा रहेको उनको भनाइ छ । नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन पनि मोर्चाले माग गरेको छ ।

भारतीय सेनाध्यक्षलाई सम्मान गर्ने परम्परा खारेज गर, नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षको भ्रमण रद्ध गर, नेपाल र नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षलाई शीतल निवासमा स्वागत किन ?, भारतीय सेना कालापानी तुरुन्तै छोड लगायत नाराअंकित प्लेकार्डसहित मोर्चाले धर्ना दिएको हो ।

Advertisement

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते ३ दिनका लागि नेपाल आउँदैछन् । उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाल, भारतका सेनापति र सेनाध्यक्षको भ्रमणमा यस्तो पदवी दिने परम्परा छ ।

तपाईको प्रतिक्रिया