दसैं बिदाबाट फर्किएका मजदुर काममा खटिए

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ११:३३

रासस, तनहुँ

दसैं बिदा सकिएसँगै क्याम्प फर्किएका मजदुरलाई काममा खटाइएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मजदुरलाई काममा खटाइएको हो ।

Advertisement

दसैं बिदा सकिएर क्याम्प फर्किएका मजदुरको पिसीआर परीक्षण गरिएसँगै काममा खटाइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए।

क्याम्प फर्किएकामध्ये ७१ मजदुरको पिसीआर परीक्षण गरिएकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकीको रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

कोरोना सङ्क्रमण पुष्टि भएकालाई क्याम्पभित्रै निर्माण गरिएको आइसोलेसनमा राखिएको र बाँकीलाई काममा लगाइएको घिमिरेले बताए।

घिमिरेका अनुसार आयोजनाले क्याम्पभित्रै २० शय्या क्षमताको आइसोलेसन बनाइएको छ ।

‘सङ्क्रमितलाई आइसोलेसनमा राखेर बाँकीलाई विद्युत्गृह निर्माणको काममा लगाएका छौँ,’ उनले भने ।

दसैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दसैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युत्गृह निर्माणको काम जारी राखेका थिए ।

असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सञ्चालन भएको थियो ।

सिनोले आयोजनाको प्याकेज–२ अन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढेको छ ।

दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ ।

उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनका लागि कुल ९४ वटा टावर निर्माण गरिनेछ ।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीनवटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्रउपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ ।

पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए ।

पहिलो प्याकेजअन्र्तगत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह निर्माण गरिनेछ ।

खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८ करोड ४० लाख डलर व्योहोर्ने छ ।

तपाईको प्रतिक्रिया