बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १८:१५

तीर्थ श्रेष्ठ

सायद २०३९/४० साल तिरको कुरा हुनुपर्छ । हाल टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय भएको ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय थियो ।

मेरा अत्यन्त आत्मीय मित्र साहित्यकार विनय रावल त्यहाँ कार्यरत थिए । सूर्यबहादुर केसीजीसँग दोहोरो संवादसहितको पहिलो भेट त्यहाँ भएको थियो ।

Advertisement

केसीजी आफ्नो निर्माण व्यवसायको सन्दर्भमा त्यहाँ बैंक ग्यारेन्टीको काममा त्यहाँ पुग्नुभएको थियो । कार्यालय समय समाप्त हुन लागेको अवस्था थियो ।

सायद उहाँको काम त्यही दिन नै सम्पन्न हुनुपर्ने थियो । र काम भइरहेको थिएन । मलाई देखेपछि उहाँ नजिक आउनु भयो ।

Advertisement

अभिवादनको आदानप्रदानपछि भन्नु भो ‘दाइ, तपाईंको चिनजानको कोही छ यहाँ । मेरो आजै गर्नुपर्ने काम थियो ।’

मैले मेरो साथी छ, आउनुहोस् उहाँसँग कुरा गरौंला भनें र हामी विनयकहाँ पुग्यौं ।

मेरो विशेष आग्रहमा त्यही दिन नै उहाँको काम फत्ते भयो । यसरी भविष्यमा सहकार्य गर्नु लेखेको हाम्रोबीच सहकार्य आकस्मिक रुपमा सुरु भएको थियो ।

थाहा छैन नियतिले कस्तो संगत लेखेको छ निधारमा ? कति पूर्व परिचितहरु अपरिचित झैं र कति अपरिचितहरु आत्मीय झैं बन्न पुग्छन् ।

एउटा ट्रायल मोटरसाइकल चढेर स्टन्ट बाजीमा रमाउने र आफ्नो पिताको पदानुशरण गरेर व्यवसायमा तल्लीन युवा के कारणले राजनीतितर्फ आकर्षित भयो ? यो प्रश्न मैले केसीजीलाई कहिल्यै गरिनँ ।

नेपाल विद्यार्थी संघमार्फत प्रजातन्त्र पुनःथापनाको एक सूत्रीय अभियानमा संलग्न नेपाली कांग्रेसमा म आवद्ध भइसकेको थिएँ ।

पृना क्याम्पसमा स्ववियुको सभापतिको उम्मेदवार बनेको र पोखरा उद्योग वाणिज्य संघको सदस्य निर्वाचित भइसकेकाले म पनि २/४ जनाले चिन्ने परिस्थितिमा थिएँ ।

यहीबीच पोखरा नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च उत्तम पुनविरुद्ध अविश्वासको प्रस्तावका कारण नगर पञ्चायतको मध्यावधि निर्वाचन हुने भयो ।

त्यसमा केसीजी प्रधानपञ्चको उम्मेदवार हुनुभयो । उहाँ सायद २७ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उहाँले सहयोगको लागि आग्रह गर्नुभयो ।

म उहाँको पक्षमा लागें । एक प्रकारले पञ्चायतको चुनावमा कांग्रेस र कम्युनिस्ट दुबै पक्षले कोही खुलेर कोही गोप्यरुपमा उहाँको पक्षमा परिचालित भए ।

उहाँ प्रधानपञ्च र काजीमान गुरुङ उपप्रधानपञ्चमा निर्वाचित हुनुभयो । त्यस निर्वाचनपछि उहाँको छवि समाजमा उदार, विनम्र र विकासप्रेमीको रुपमा देखिन थाल्यो ।

त्यसको नेपथ्यमा उहाँको आफ्नो चरित्रबाहेक कारणले पनि काम गरेको थियो ।

एउटा ट्रायल मोटरसाइकल चढेर स्टन्ट बाजीमा रमाउने र आफ्नो पिताको पदानुशरण गरेर व्यवसायमा तल्लीन युवा के कारणले राजनीतितर्फ आकर्षित भयो ? यो प्रश्न मैले केसीजीलाई कहिल्यै गरिनँ ।

किन गरिनँ आफैलाई पनि थाहा छैन । व्यक्तिगत मनमुटावका कारण उहाँ राजनीतिको मैदानमा ओर्लनु भएको हो भन्नेहरु पनि छन् । त्यो नै पर्याप्त कारण हो जस्तो मलाई लाग्दैन ।

२०४३ सालको चैत महिनामा स्थानीय निकायको निर्वाचनको घोषणा भयो । नेपाली कांग्रेसले निर्वाचनमा आफ्ना कार्यकर्ताहरुलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने निर्णय ग-यो ।

२ भिन्न राजनीतिक पृष्ठभूमिका लक्का जवानहरू प्रधान र उपप्रधान हुँदा कतै यसले विकास निर्माणको काममा बाधा त पुग्दैन भन्ने आशंका पनि केही पोखरेलीहरु माझ थियो । विस्तारै हाम्रोबीच छलफल हुन थाले । संवादले सम्भावनाको द्वार खोल्दोरहेछ । पोखराको विकासका सम्बन्धमा हाम्रा विचार त्यति फरक नरहेछ । जब यो कुरा हामीले बुझ्यौं ।

त्यसमा गणेशमानजी र गिरिजाप्रसादको धारणा फरक थियो । गणेशमानजी पञ्चायतको आउटपोस्ट क्याप्चर गर्न स्थानीय निकायको निर्वाचनमा भाग लिन लागेको भन्नुहुन्थ्यो भने गिरिजाप्रसाद राजाको विकासको सदिच्छालाई सहयोग गर्न स्थानीय निकायको निर्वाचनमा सहभागी हुन लागेको बताउनु हुन्थ्यो ।

त्यसका बाबजुद पोखरामा कांग्रेसी कार्यकर्ताहरु निर्वाचनमा सहभागिताको सन्दर्भमा उत्साहित देखिन्थे ।

म आफू भने सक्रिय राजनीतिबाट आफूलाई टाढा राख्ने मानसिकतामा थिएँ । तर सायद नियतिलाई यो मञ्जुर थिएन ।

कांग्रेसले पत्रकार केशवराज पराजुलीलाई प्रधानपञ्च र मलाई उपप्रधानपञ्चको उम्मेदवारको रुपमा प्रस्तुत ग-यो ।

अघिल्लो चुनावमा जसलाई सहयोग गरेको हो । अब उसैसँग आमनेसामनेको परिस्थिति बन्यो । चुनाव भयो ।

केसीजी प्रधानपञ्च र म उपप्रधानपञ्चमा निर्वाचित भयौं । सायद यो जोडी इतिहासमै कान्छोजोडी थियो ।

त्यतिखेर केसीजी ३० र म २८ वर्षको थिएँ । देखिने गरी हामीसँग युवकोचित उत्साहबाहेक अरु केही समानता थिएन ।

केसीजी पहिलोपटक प्रधानपञ्च निर्वाचित हुँदा उहाँको राजनीतिक पृष्ठभूमिकाबारे सायद कोही स्पष्ट थिएनन् ।

दोस्रोपटकको निर्वाचनमा भने उहाँ पञ्चायतको संस्थापन पक्षको उम्मेदवार हुनु भएको थियो ।

२ भिन्न राजनीतिक पृष्ठभूमिका लक्का जवानहरू प्रधान र उपप्रधान हुँदा कतै यसले विकास निर्माणको काममा बाधा त पुग्दैन भन्ने आशंका पनि केही पोखरेलीहरु माझ थियो ।

विस्तारै हाम्रोबीच छलफल हुन थाले । संवादले सम्भावनाको द्वार खोल्दोरहेछ । पोखराको विकासका सम्बन्धमा हाम्रा विचार त्यति फरक नरहेछ । जब यो कुरा हामीले बुझ्यौं ।

एक अर्कोसँग निरन्तरको छलफल चल्न थाल्यो । त्यस क्रममा महेन्द्रपुल पुनर्निर्माण, तरकारीमा आत्मनिर्भर पोखराको निर्माण, साँघुरा डहरहरुलाई फराकिलो र कालोपत्रे गर्ने योजना, अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता, भानु जयन्तीको अवसरमा खुला कविता प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, रविबाली कार्यक्रम, पोखराका कविहरुको प्रतिनिधि कविता संग्रहको प्रकाशन, विदेशबाट पोखरेली कलाकारहरूले सिर्जना गरेको दृश्यचित्र उपहार प्रदान गर्ने परम्परा, पोखराको पहिलो टाउन प्रोफाइल तयार गर्ने जस्ता विविध कार्य सम्पन्न भए ।

यी सबै कार्यहरूमा हामी दुईबीच राम्रै समझदारी र सहकार्य रह्यो । उहाँ विकास र निर्माणमा गहिरो अभिरुचि राख्नु हुन्थ्यो ।

जनतासँग विनम्रतापूर्वक प्रस्तुत हुने उहाँको स्वभाव थियो । कमजोरी नहुने दुनियाँमा को होला ? निश्चय नै उहाँका पनि केही कमजोरी थिए ।

एउटा सफल उद्यमी र राजनीतिकर्मीका रुपमा उहाँसँग असन्तुष्टहरु पनि होलान् । तर पोखरालाई उजिल्याउन उहाँले गर्नु भएको यत्नको आलोकमा ती धुमिल छन् ।

पोखरा नगर पञ्चायतको प्रधान र उपप्रधानपञ्चको रुपमा कार्यरत हामी २ कार्यरत हुँदा पञ्चायत व्यवस्थाविरुद्ध निर्णायक आन्दोलनका रूपमा २०४६ को जनआन्दोलन भयो ।

त्यस बेला हामीले बहुदलीय व्यवस्थाको पक्षमा पोखरा नगर पञ्चायतको बैठकद्वारा एउटा प्रस्ताव पास भयो । आन्दोलनको उभारको बीच त्यसको खासै चर्चा हुन सकेन ।

केसीजीकै निवासमा उहाँलाई सहमत गराएर मैले ‘वर्तमान राजनीतिक समस्या समाधान गर्न श्री ५ महाराजधिराज सरकारबाट बहुदलीय शासन व्यवस्था बक्स भएमा पोखरा नगर पञ्चायतको यस बैठकले शिरोधार्य गर्ने व्यहोरा मौसूफको जुनाफमा बिन्ती जाहेर गर्ने’ प्रस्ताव पेस गरेको थिएँ ।

दुईजना वडाध्यक्षबाहेक अरु सबैले सहमति जनाएकाले बहुमतका आधारमा त्यो प्रस्ताव पारित भयो । उहाँको समर्थन नभएको भए सम्भवत त्यो प्रस्ताव पारित हुँदैनथ्यो ।

उहाँपछि राप्रपामा सक्रिय हुनुभयो र कांग्रेसमा प्रवेश गर्नुभयो । म लामो समयदेखि राजनीतिमा निष्क्रिय छु ।

सूर्यबहादुर केसीको निधनले पोखराले एउटा सफल उद्यमी र विकासप्रेमी नेता गुमाएको छ । उहाँसँग धेरै सम्झना छन् ।

हतारहतारमा यो संक्षिप्त आलेखमार्फत उहाँसँगको सहकार्यलाई सम्झदै उहाँको देहमुक्त आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

यो पनि

कालको पदमा परेर फर्केका सूर्य

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

अवसरलाई फुत्कन नदिने सीताराम

अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

तपाईको प्रतिक्रिया