सुनसान छ वर्षमै ६० हजार पर्यटक पुग्ने मुस्ताङ

समाधान संवाददाता २०७७ कार्तिक २० गते ११:१०

एसके थकाली, जोमसोम

मुस्ताङको पर्यटन व्यवसाय विगत ८ महिनाबाट ठप्प छ । कृषि र पर्यटन व्यवसायमा आश्रित स्थानीय कोरोना कहरका कारण पर्यटक नआए पनि कोरोनाको जोखिमबाट सुरक्षित रहन चाहेका छन् ।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङ पर्यटकले भरिभराउ हुन्थो । नेपाल भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक आउलान् र व्यवसाय चम्काउला भन्ने आशामा रहेका यहाँका पर्यटन व्यवसायीलाई कोरोना कहरले दाँतमा ढुंगा लागेको छ ।

Advertisement

भ्रमण वर्षले गति लिन नपाउँदै कोरोनाकै कारण मुस्ताङमा पर्यटकको आउजाउ शून्य छ । होटल भाडामा लिएका व्यवसायी थप समस्यामा परेका छन् ।

सन् २०१९ मा मुस्ताङमा सार्क तथा तेस्रो मुलुकका गरी ५७ हजार ५ सय ६५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

Advertisement

सन् २०१८ मा ५९ हजार ८ सय ३८ पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमको तथ्यांकमा उल्लेख छ ।

सन् २०२० को जनवरीमा ५ सय ५३, फ्रेब्रुअरीमा १ हजार ७२, मार्चमा २ हजार ५ सय ५१ विदेशीगरी ४ हजार १ सय ७५ पर्यटकले मात्र मुस्ताङको भ्रमण गरेका छन् । गत वर्ष जनवरीदेखि अक्टुबरसम्म ५० हजार ६ सय १४ विदेशी पर्यटकले भ्रमण गरेका थिए ।

कोरोना कहर तथा लकडाउनकै तुलना गर्दा गतवर्षको चैतदेखि कात्तिक महिनासम्म ४९ हजार ६ सय ६४ विदेशी पर्यटक मुस्ताङ आएकोमा यस वर्ष ४५ हजार ४ सय ८९ विदेशी पर्यटक कम भएको एक्याप जोमसोमले जनाएको छ ।

मुस्ताङ भ्रमणमा आउने पर्यटकमा कतिपय राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै आउँथे । कतिपय पोखराबाट जहाज चढेर आइपुग्थे ।

सरकारले असोज १ गतेदेखि अन्तर्राष्ट्रिय विदेशी वाह्य तथा आन्तरिक हवाई उडान र लामोदुरीको यातायात सेवा सञ्चालन गरे पनि मुस्ताङमा अझै पर्यटकको उपस्थिति शून्य छ ।

गण्डकी प्रदेशका केही जिल्लाहरुमा आन्तरिक पर्यटकको चहल पहल हुन थाले पनि यहाँका व्यवसायीहरु निर्धक्क भएर व्यवसाय गर्न सक्ने अवस्था नरहेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।

उनले विदेशी पर्यटक नआए पनि नेपालका विभिन्न स्थानका आन्तरिकले मुस्ताङ आउन हुने या नहुनेबारे व्यवसायीसँग जानकारी लिएको बताए ।

अध्यक्ष तुलाचनले नेपालमा अझै कोरोनाको संक्रमणदर बढेकोले होटल व्यवसायीले फागुन १ गतेसम्म होटल सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिए ।

विगतका वर्षमा हजारौं आन्तरिक तथा वाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेता पनि यो वर्ष कोरोना प्रभावले पर्यटक आएका छैनन् ।

वर्खायाम सुरुसँगै पर्यटकको चहल पहल हुने मुस्ताङमा चैते दसैं, १६ श्राद्वको तिथि, दसैं तिहारको लामो बिदामा उल्लेख्य पर्यटक घुम्न आउने गरेको होटल ताजका सञ्चालक तृष्णा गौचनले जानकारी दिइन् ।

उनले यसवर्ष कोरोनाका कारण मुस्ताङमा कुनै पर्यटक आउन नसकेको बताइन् । अहिलेको अवस्थामा यहाँका व्यवसायीलाई सहज रुपमा होटल खोल्ने अवस्था छैन ।

व्यवसायलाई भन्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिएकोले पर्यटकले चाहेर पनि घुम्न नसक्ने उनले उल्लेख गरिन् ।

तपाईको प्रतिक्रिया