गण्डकीमा आज थपिए १९६ संक्रमित, ५५ प्रतिशत कास्कीका

समाधान संवाददाता २०७७ कार्तिक २१ गते २१:३४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शुक्रबार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ८ जना (५५.१० प्रतिशत) कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसबाहेक नवलपुरका २९, तनहुँका २७, स्याङ्जा र बागलुङका १२, पर्वतका ४, लमजुङका ३ र गोरखाका १ जना छन् ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय ३९ पुगेको छ । संक्रमितमध्ये ४८ सय ३५ जना निको भएका छन् ।

मृतक १०० पुगे

Advertisement

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ३ र बागलुङका १ संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय पुगेको हो ।

कास्कीका २ र बागलुङका १ संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कास्कीका अर्का १ संक्रमितको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।

कोरोनाबाट मृत्यु हुनेमा ३० दिने शिशु पनि छन् । ती शिशु पोखरा महानगरपालिकाको भनिए पनि वडा खुलाइएको छैन ।

उनको शुक्रबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा निमोनियाको समस्या थियो ।

पोखरा १० का ५७ वर्षे संक्रमित पुरुष र बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षे संक्रमितको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ । दुवैको बिहीबार राति मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यसबाहेक पोखरा १७ का ७५ वर्षे संक्रमित पुरुषको शुक्रबार बिहान जिएमसीमा मृत्यु भएको हो ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया