कोरोना कहर – माइनस तापक्रम सहेर गाउँमै पढ्दै मुस्ताङी

एसके थकाली, जोमसोम
जाडो छल्न बेसीमा घुम्ती विद्यालयमा पढ्न झर्ने उपल्लो मुस्ताङका विद्यार्थी कोरोना कहरको कारण यस वर्ष त्यहाँ नै चिसो सहेर पढ्नुपर्ने भएको छ ।
समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइका लोमान्थाङ र लोकेघर दामोदरकुण्ड गाउँपालिकाका विद्यालयमा कात्तिक सुरु भएसँगै चिसो मौसमका बाबजुद पठनपाठन भइरहेको छ ।
वर्षेनी असोजको अन्तिम हप्तामा चिसो छल्न घुम्ती विद्यालयको रुपमा पोखरामा लगेर विद्यार्थीको पढाइ सञ्चालन गर्दै आएका विद्यालयले यस वर्ष भने कोरोना जोखिमका कारण साविककै स्थानमा पढाइ सञ्चालन गरेका छन् ।
मुस्ताङको उपल्लो भागमा अहिले चिसो ह्वात्तै बढिरहेको छ । मौसम प्रतिकुल भइरहेकाले विद्यार्थीका लागि पठनपाठन असहज बनेको छ । त्यहाँ यतिबेला नदीनाला, धारा र सेफ्टी टंकीसमेत जमेको छ ।
चिसो मौसमका कारण विद्यार्थीको स्वास्थ्य अवस्था समेत बिग्रने सम्भावना पनि उत्तिकै छ ।
लोमान्थाङ गाउपालिका अन्तर्गतका १ माविसहित १० सामुदायिक विद्यालयको पढाइ यतिखेर चिसो मौसमलाई थेग्दै भइरहेको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अघिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
उनले त्यस क्षेत्रमा चिसो बढेको, तापक्रम माइनसमा झरेको र दिन प्रतिदिन मौसम प्रतिकुल बन्दै जनजिवन प्रभावित बन्दै गएकोले विद्यालय सञ्चालन तथा विद्यार्थीको पठन पाठनमा थप जटिलता उत्पन्न भएको बताए ।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पालिका, विद्यालय, अभिभावक र विद्याथीको सक्रियतामा चिसो सहेरै विद्यालय संञ्चालन गरेको प्रशासकीय अधिकृत सुवेदीले उल्लेख गरे ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम गत असोजबाट विद्यार्थीको पढाइ सुरुवात गरिएको थियो । लोमान्थाङका केही गुम्बा विद्यार्थीलाई घुम्तीमा झारे पनि सामुदायिक विद्यालयले भने कोरोनाको जोखिमका कारण गाउँमै कक्षा सञ्चालन गरेका हुन् ।
लोमान्थाङमा गुम्बा, निजी र सामुदायिक गरी १६ विद्यालय र लोकेघर दामोदरकुण्डमा ८ सामुदायिक विद्यालय छन् ।
त्यहाँका विद्यालयले स्थानीय तहको आर्थिक सहयोगमा घुम्ती कक्षा सञ्चालन गर्ने गरेका थिए ।
सरकारले तोकेको शिक्षा निर्देशिका अनुसार दुरशिक्षा तथा रेडियो, टिभी, अनलाइन र इन्टरनेटको पहुँच नभएकाले पनि विद्यार्थीको सिकाई सहजीकरण समस्या पर्दै आएको छ ।
उत्तरी कोरलानाका नजिकैको सीमावर्ती गाउँ छोसेरको दिव्यदिप माध्यमिक विद्यालयले पनि कोभिड—१९ को जोखिमबाट सुरक्षित रहन प्रतिकुल मौसम बाबजुद विद्यालय सञ्चालन गरिरहेको छ ।
असोजमा पोखरा झरी सक्ने विद्यालय कोभिड—१९ को कारण साविककै स्थानमा पढाइ सञ्चालन गर्नुपर्ने बाध्यता आइपरेको विद्यालयका प्रधानाध्यापक रामुप्रसाद श्रेष्ठले बताए ।
उनले अत्यधिक चिसो बढेको र धाराको पानीसमेत जमेकाले विद्यालय तथा छात्रावास सञ्चालन गर्न चुनौती रहेको उल्लेख गरे ।
उनले अहिले सिमा क्षेत्रमा माइनस १५ डिग्री तापक्रममा झरेको भए पनि सरकारले निर्देशन गरेको विद्यार्थी सिकाइ सहजीकरण कार्यविधि अनुसार पाठ्यक्रम पूरा गर्नुपर्ने बाध्यताले त्यसलाई मध्यनजर गरी विद्यार्थीको पढाइलाई निरन्तरता दिएको उल्लेख गरे ।
विद्यालयमा जिल्ला बाहिरका कास्की, म्याग्दी र बागलुङका शिक्षकले पढाउने भएता पनि अहिलेको अवस्थामा विद्यालयमा उपस्थित हुन नसकेकाले कलट्री फोनमार्फत विद्यार्थी सिकाई सहजीकरण गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
तपाईको प्रतिक्रिया