पोखराको लेकसाइडमा निशुल्क व्यायामशाला

समाधान संवाददाता २०७७ कार्तिक २२ गते २०:०५

प्रदेश सांसद पहारीले गरे उद्घाटन

पोखरा

उठेदेखि नसुत्ने बेलासम्म व्यस्त हुन्छ मान्छे । अचेल मान्छेको व्यस्तता शारीरिक भन्दा पनि मानसिक बढी हुन्छ । गेम नै खेल्न परे पनि मोबाइल, ल्यापटप र विद्युतीय सामग्रीको भर । दिमागलाई भारी तर शारीरिक परिश्रम शून्यप्राय ।

Advertisement

शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्न नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाइएफसी) र डिभी एजुकेसन नेटवर्कको संंयुक्त पहलमा मुलुकका विभिन्न सहरमा फिटनेस पार्कको निर्माण अभियान थालिएको छ ।

यहि अभियान अन्तर्गत पोखराको लेकसाइडस्थित डिहीकोपाटनमा व्यायामशाला तथा केलिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले व्यायामशाला उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि पहारीले नागरिकलाई स्वच्छ बनाउन यस्ता कार्यले धेरै सहयोग गर्ने बताए । कोभिडको संक्रमण बढिरहेको र व्यायामले मानिसलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउने हुँदा यसको उपयोगिता अझ बढी रहेको बताए ।

Advertisement

डिभी एजुकेशन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले प्रोजेक्ट टेम्पल अभियानले युवाहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउने लक्ष्य राखेको बताए । युवालाई लागूऔषध र मादक पदार्थको कुलतबाट टाढै राख्ने र स्वस्थ्य जीवनशैली अवलम्बन गर्न प्रेरित गर्ने प्रतिबद्धता जनाए । टेम्पल प्रोजेक्ट अन्तर्गत निशुल्क प्रशिक्षण समेत दिइने उनले बताए ।

नेपालका विभिन्न सहरमा २० भन्दा बढी यस्ता पार्क बनाउने अभियान अन्तर्गत यो दोस्रो पार्क रहेको एनवाइएफसीका अध्यक्ष सुकदेव कार्कीले बताए । शुक्रबार काठमाडौंमा पहिलो व्यायामशाला उद्घाटन गरेको उनले जानकारी गराए ।

केही वर्षअगाडि मोटरसाइकल दुर्घटनामा आफ्नो हात र खुट्टा भाँच्चिएको र आत्माविश्वास समेत गुमेका बेला नियमित व्यायामको सहाराले पुनर्जीवन पाएको कार्कीले सुनाए । मानव जीवनमा व्यायामको अति नै महत्व रहेको र आफू पनि त्यसैबाट नयाँ जीवनमा फर्केकाले यो अभियानमा जुटेको उनले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ६, लेकसाइडमा व्यायामशाला सञ्चालनमा आएपछि स्थानीय पनि उत्साही भएका छन् । निशुल्क व्यायामशालाले आफूहरुलाई व्यायामका लागि शुल्क तिर्नुपर्ने वाध्यता हटेको भन्दै स्थानीयले प्रसंशा गरेका छन्

स्थानीय तालवाराही माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा व्यायामशाला निर्माण गरिएको हो । व्यायामशालाका लागि सहयोग गर्ने तालवाराही माविका प्रतिनिधिसहित विभिन्न व्यक्तिलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगतबहादुर पहारी, तालवाराही मावि व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपाने, बब्स जिम्मका सञ्चालक एवं पर्यटन व्यवसायी वैभव पौडेल, रानीपौवा जिमका सञ्चालक दीपक बास्तोला लगायत सहभागी थिए ।

नेपाल रेडक्रस सोसाइटी इकाइ सभापति हरिकृष्ण पहारी, खहरे आमा समूह अध्यक्ष मैया थापा, नमुना आमा समूह अध्यक्ष अम्बिका अधिकारी, जगदम्बा आमा समूह अध्यक्ष चन्द्रकला अधिकारी, वंगलादी आमा समूह अध्यक्ष विनीता अधिकारी कार्यक्रममा सहभागी थिए ।

एनवाइएफसीका प्रतिनिधि पूनम बोमजन, कांग्रेस युवा नेता किरण बराल, युवा संघ केन्द्रीय सदस्य महेन्द्र गुरुङ लगायतको सहभागितामा भएको कार्यक्रममा बारस्क्वाड पोखराका संस्थापक सलित गुरुङ, विवेक खड्काले साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया