स्निकर, प्रिंगल्स, ओरियो लगायतको रिलेबलिङ गर्नेलाई १ वर्ष कैद

समाधान संवाददाता २०७७ कार्तिक २४ गते १४:२४

काठमाडौं

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका खाद्यवस्तुमा रिलेबलिङ (पुनः नयाँ मिति) गरी बजार पठाउने व्यापारीलाई १ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार आयान डिस्ट्रिब्युटरका रोनक बोथरा र शंकर बयलकोटीलाई जनही एक वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला गरेका हुन्।

Advertisement

बोधराको घर भारतमा हो भने बयलकोटी धादिङका हुन्। सोही कसुरमा विभागले पुष्पादेवी अग्रवाल, मुन्ना ठाकुर, पुष्पकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रमप्रसाद गुप्तालाई जनही ३ लाख १२ हजार गरी कुल १८ लाख ७२ हजार जरिवाना हुने फैसला गरेको छ।

रिलेवलिङमा प्रयोग भएका २ करोड ९४ लाख रुपैयाँको वस्तु नष्ट गरिएको छ। महाहानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असाेज १५ गते काठमाडौं कलंकीमा रहेको डिस्ट्रिब्युटरमा शिलबन्दी गरेको थियो।

Advertisement

यो डिस्ट्रिब्युटरले स्निकर चकलेट, प्रिंगल्स नामक आलु चिप्स, ओरियो बिस्कुट, ट्याङ तथा युनिलिभर कम्पनीको हर्लिक्स, बोर्नभिटा, क्याडबरी चकलेटलगायत सामानमा उत्पादन मिति तथा ब्याच नलेखिएको, मेटाउने केमिकल र प्रिन्ट गर्ने मेसिन राखी उपभोग्य वस्तुका लेबल मेटाई नयाँ लेबल लगाउने गरेको पाइएको थियो।

तपाईको प्रतिक्रिया