मुस्ताङको छोसेरमा गुइँठा ताप्दा घरमा आगलागी

समाधान संवाददाता २०७७ मंसिर २ गते २१:१५

एसके थकाली, जोमसोम

मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ छोसेरको सिंजास्थित एक घरमा आगलागी भएको छ ।

स्थानीय लाक्पा ढिन्डुक गुरुङ एक तलाको ५ कोठे ढुङ्गा/माटोले बनेको घरमा आगालागी भएको हो ।

Advertisement

भाइटीकाको दिन सोमबार बिहानैदेखि मुस्ताङको उत्तरीक्षेत्रमा भारी हिमपात भएको थियो । त्यसले अत्यधिक चिसो बढेकाले घरका वृद्ध सदस्यले एक्लै गुइँठा बालेर आगो तापिरहेका थिए ।

आगो तापिरहेका बेला सोमबार साँझ ७ बजे भीषण आगोलागी भएको स्थानीय दिव्यदीप माविका शिक्षक गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

Advertisement

आगोलागीबाट गुरुङको घरमा रहेको फर्निचर, वायरिङ गरिएको सोलार उपकरण, लत्ताकपडा र घरमा हिउँदयामका लागि जाडो छल्न जोहो गरिएको गुइँठा जलेर नष्ट भएको शिक्षक श्रेष्ठले बताए ।

उनका अनुसार आगालागीबाट पशुचौपाया तथा मानविय जोखिम भएको छैन । तर ५ कोठे घर ध्वस्त भएको छ ।

आगोलागीको खबर प्राप्त भएपछि दिव्यदीप माविका शिक्षक तथा स्थानीयको करिब २२ जनाको समुहले ४ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । तर शिक्षक तथा स्थानीयबासीले आगो नियन्त्रणमा लिएको भए पनि मोबाइल नेटवर्कको समस्याले प्रहरी पुग्न सकेन ।

घटनाका बारेमा जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर मंगलबार क्षति विवरण संकलन गरेको छ । मुस्ताङमा सोमबार बिहान हिमपात भएपछि चिसो अत्यधिक बढेको छ ।

घर बाहिर निस्कने अवस्था छैन । उपल्लो मुस्ताङमा बिजुली, इन्धन र दाउराको अभाव हुने भएकाले गाउँमा बस्न बाध्य स्थानीय पशुचौपाया आदीको गुइँठा बालेर जाडो थेगिरहेका छन् ।

गत वर्ष मुस्ताङमा कार्तिकको पहिलो हप्ता हिमपात भएको थियो भने यसवर्ष भने कार्तिकको अन्तिममा हिमपात भएको हो ।

तपाईको प्रतिक्रिया