मुस्ताङबाट पौने अर्बको स्याउ निकासी

समाधान संवाददाता २०७७ मंसिर ४ गते ७:४१

एसके थकाली, जोमसोम

मुस्ताङमा यस वर्ष स्याउको उत्पादन बढेको छ । यहाँ यसवर्ष ७ हजार १ सय ५० टन स्याउ फलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुस्ताङका प्रमुख डा. सुधीर थापाले जानकारी दिए ।

गतवर्ष मुस्ताङमा ६ हजार ५ सय टन स्याउ फलेको थियो । यसवर्ष ५ सय ५० टन स्याउ बढी फलेको छ । यहाँका किसानले यस वर्ष ७१ करोड ५० लाखको स्याउ निकासी गरेका छन् ।

Advertisement

जिल्लामा उत्पादित ९० प्रतिशत स्याउ देशका विभिन्न बजारमा बिक्रीको लागि पठाइएको छ ।

परियोजनाले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका विभिन्न व्यक्ति तथा फार्महरुको स्याउ बगैंचामै पुगेर स्याउ उत्पादनका बारेमा सर्वेक्षण गरेको थियो ।

Advertisement

इकाई प्रमुख थापाका अनुसार मुस्ताङको तल्लो क्षेत्र थासाङको कोवाङ र टुकुचेमा विगतभन्दा केही कम मात्रामा स्याउ फलेको छ । घरपझोङ र बारागुङ मुक्तिक्षेत्रमा भने विगत भन्दा राम्रो र गुणस्तरीय स्याउ उत्पादन भएको परियोजना इकाई प्रमुख थापाले उल्लेख गरे ।

थासाङमा मौसमी आद्रताका कारण स्याउमा प्रकोप देखिएपनि केही किसानले स्याउ बगैंचा व्यवस्थापन ध्यान दिएकाले उत्पादन तथा गुणस्तरमा असर नपरेको इकाई प्रमुख थापाको भनाइ छ ।

स्याउखेती गरिएको क्षेत्रफल १ हजार ४ सय हेक्टर भए पनि ५ सय हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको पाइएको छ । १ हेक्टरमा जमिनमा ३ सय बढी स्याउको रुख हुने भएकाले कुल १ लाख ५० हजार स्याउको बोटमा ७१ सय मेट्रिकटन स्याउ फलेको हो ।

अनुकुल हावापानी, स्याउखेती विस्तार तथा प्रर्वद्धन, प्रविधिको विकास, स्याउमा लाग्ने प्रकोप नियन्त्रण र बगैंचा व्यवस्थापनमा प्रगति भएकाले स्याउ उत्पादन वृद्वि भएको डा. थापाले उल्लेख गरे ।

कोरोना भाइरसको जोखिम तथा लकडाउनकै अवस्थामा समेत यहाँका किसानको स्याउ बगंैचामै प्रतिकेजी १ सय रुपैयाँ बढीमा ठेक्का मार्फत बिक्री भएको छ ।

स्याउ उत्पादनले प्रसिद्ध मुस्ताङको टुकुचे, कोवाङ, मार्फा, जोमसोम, कागबेनी छुसाङ र मुक्तिनाथ लगायतका स्थानमा व्यावसायिक रुपमा स्याउ खेती गरिएको छ ।

मुस्ताङको स्याउ जिल्ला बाहिरका व्यापारी र स्थानीय व्यापारीहरुले खरिद गरी काठमाडौं र पोखरा लगायतका स्थानमा बिक्रीका लागि पठाएका छन् ।

सहजै बजारमा बिक्री हुन नसक्ने कम गुणस्तरका स्याउको भने स्थानीय किसानले प्रशोधन मार्फत ब्रान्डी, वाइन, साइडर, जुस र सुकटी बनाएर बिक्री गर्छन् ।

मुस्ताङमा गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउको खेती गरिएको छ । शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले यसवर्ष ३० टन स्याउ उत्पादन गरेको छ ।

केन्द्रले उत्पादन गरेको स्याउ ठेक्का प्रणाली मार्फत बिक्री गरिएको केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय मुस्ताङमा प्रदेश तथा स्याउ जोनको विशेष अनुदानमा इटालियन जातका २४ हजार हाइ डेन्सिटी स्याउका बेर्ना लगाइएको छ ।

कृषि र पर्यटन मुख्य आम्दानीको रुपमा रहेको मुस्ताङमा सामान्य किसानले १ लाखदेखि करोडसम्मको स्याउ बिक्री गर्छन् ।

सडक सञ्जाल विस्तार भएपछि यहाँका किसानले उत्पादन गरेको स्याउ बजारीकणमा सहज हुँदै गएको छ ।

मुस्ताङमा पछिल्लो समय सामुदायिक स्याउ खेती विस्तारतर्फ स्थानीय किसान आकर्षित भएका छन् । यहाँका किसानले खेर गएका खाली र बाँझो जग्गामा स्याउ खेती गरेका छन् ।

तपाईको प्रतिक्रिया