पोखराका होटलमा ५ प्रतिशत अकुपेन्सी

समाधान संवाददाता २०७७ मंसिर ५ गते १२:१०

छुट दिँदा पनि आउँदैनन् पाहुना

अनिष भट्टराई, पोखरा

पुराना कुरा सम्झने हो भने दसैं तिहारका पोखराका होटलमा कोठा पाउन मुस्किल मुस्किल हुन्थ्यो । त्यो सत्य यसपालि भने उहिलेका कुरा खुइलिएजस्तो भएको छ ।

Advertisement

छुटसहितको प्याकेज ल्याउँदा पनि होटलले पाहुना पाएका छैनन् । व्यवसायीका भनाइमा अहिले पोखराका होटलमा ५ प्रतिशतमात्र अकुपेन्सी छ ।

पहिलेका वर्षमा पोखराका होटलमा दसैं तिहारका बेला ८५ प्रतिशत अकुपेन्सी हुन्थ्यो ।

Advertisement

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पोखराका होटल व्यवसायीले अहिले होटल खोलेर धान्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘छुट दिँदा पनि ग्राहक आउँदैनन्, अहिले होटल धान्न नसक्ने अवस्था छ,’ तुलाचनले भने ।

प्याराग्लाइडिङ व्यवसायलाई ढाडस भए पनि होटल व्यवसायीलाई फाइदा केही नरहेको तुलाचनले थपे । प्याराग्लाइडिङ गर्ने अधिकांश कास्कीकै भएकाले होटलमा नबस्ने र होटल व्यवसायी हेरेर बस्न बाध्य भएको उनी सुनाउँछन् ।

उनले भने,‘सरकारले सबै पर्यटकीय स्थल नखोल्दासम्म होटल व्यवसायीलाई गाह्रो छ । हामी पर्ख र हेरको अवस्थामा छौं ।’
पोखरा आसपासका क्षेत्रमा स्थानीयले लगाएको ‘लकडाउन’ ले पोखराका होटल व्यवसायीलाई थप समस्या निम्तिएको तुलाचन बताउँछन् ।

‘सरकारले मर्दीट्रेक जान अनुमति दिइसक्यो, तर स्थानीयले जान नदिँदा पर्यटक आएनन्,’ उनले भने, ‘तनहुँको मानुङमा हजारौं पर्यटक जाँदा मर्दीमा रोक लगाउनु हुन्थेन, स्थानीय सरकारले समन्वय गरिदिनु प¥यो ।’

पश्चिमाञ्चल होटल संघले अब एकीकृत प्याकेज ल्याउन लागेको तुलाचनले बताए । अत्याधिक छुटका साथ ल्याइने प्याकेजले होटलमा केही अकुपेन्सी बढ्नेमा उनी विश्वस्त छन् । ‘संघमा रहेका ४ सय होटलका लागि प्याकेज ल्याएपछि अकुपेन्सी बढ्छ, अहिले हामी त्यसैको तयारीमा छौं,’ तुलाचनले भने ।

रेस्टुरेन्टमा पनि उस्तै

पोखरामा अहिले ६५ प्रतिशत रेस्टुरेन्ट खुलेका छन् । नाफा कमाउनभन्दा पनि व्यवसाय धान्नलाई रेस्टुरेन्ट खोलिएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल बताउँछन् ।

दसैंतिहारमा सोचे जस्तो व्यापार भएपनि अब व्यापार बढ्ने आशा नदेखिएको बराल बताउँछन् । ‘चाडका बेला अरु जिल्लाबाट आउनेहरुका कारण व्यापार भयो, अब व्यापार हुँदैन,’ बरालले भने,‘बारहरुमा लाइभ कन्सर्ट गर्न नपाउँदा व्यवसाय डामाडोल छ ।’

बरालका अनुसार पोखराका रेस्टुरेन्टहरुले २५ प्रतिशत छुट दिएर व्यवसाय चलाएका छन् । कोरोनाका कारण ७० प्रतिशत ग्राहक घटेको बराल बताउँछन् । ‘लेकसाइडका रेस्टुरेन्ट खुलेका छन्, ग्राहक छैनन् त्यसैले घाटा धेरै लाग्यो,’ उनले भने ।

नर्सरी व्यवसाय फक्रन पाएन

पोखरा ४ सिद्धार्थचोकस्थित गोल्डेन नर्सरीका सञ्चालक दयाकुमार द्वाले पहिलेका तिहारमा ६० हजार थुंगा सयपत्री फूल बेच्थे । तर यो वर्ष नेपालले भारतबाट फूल आयात नगर्ने निर्णय गरेपनि उनले २० हजार फूलमात्र फुलाए ।

उनले लेकसाइडका होटल रेस्टुरेन्ट नखुल्नाले थोरै फूल उमारेको बताउँछन् । ‘घरघरमा लगेर बेचेर हाम्रो व्यापार हुँदैन, होटल खुल्थे भने हाम्रो फूलले बजार पाउँथे,’ उनले भने,‘७० प्रतिशत जति नोक्सान भइसक्यो, लेकसाइड नखुलेसम्म हामीलाई समस्या छ ।

द्वाले असार साउनमा फुलेका फूलका सबै नष्ट गर्नुपरेको थियो । लकडाउनका कारण व्यापार नभएपछि उनले उत्पादन गरेका फूल खेर गएका थिए ।

पोखरामा होटल रेस्टुरेन्ट पूरा नखुल्दा द्वा जस्तै अरु नर्सरी सञ्चालक मर्कामा परेका छन् । होटल रेस्टुरेन्टले नर्सरीबाट ठूलो मात्रामा फूल लैजाने गरेपनि अहिले नलैजाँदा नर्सरी सञ्चालक मर्कामा परेका हुन् । साना नर्सरी सञ्चालकले घरघरमा पु¥याउने गरेपनि ठूला नर्सरी सञ्चालकलाई भने समस्या आएको छ ।

प्याराग्लाइडिङमा प्याकेज

मूच्र्छित पर्यटन क्षेत्रलाई ब्युँताउन व्यवसायी यतिखेर आकर्षक प्याकेज ल्याउन लागिपरेका छन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जस्ता साहसिक गतिविधिमा दिइएको छुटले अहिले पोखरामा आन्तरिक पर्यटक आकर्षित भएका छन् ।

नेपाल सरकारले हवाई उडान अनुमति दिएपछि प्याराग्लाइडिङ चालु गरिएको थियो । निदाएको पर्यटनलाई अहिले प्याराग्लाइडिङले केही राहत दिएको छ ।

सराङकोटको डाँडाबाट अहिले प्याराग्लाइडिङ गर्नेको संख्या विगतका वर्षको बराबरी नै छ । बिहानै खुल्ने माछापुच्छ«े हिमाल, फेवाताल, तालमा हिमालको छायाँ हेर्न र पोखराको आकाशमा उडेको अनुभव लिन अहिले आन्तरिक पर्यटक लालायित छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा दिनहुँ ५÷६ सय जनाले प्याराग्लाइडिङ गरिरहेको बताउँछन् । अहिले ५२ वटा कम्पनीले पोखरामा प्याराग्लाइडिङ गराउँछन् ।

आधा छुट दिने प्याकेज ल्याएपछि प्याराग्लाइडिङ गर्नेको संख्या आश्चर्यजनक ढंगमा बढेको भण्डारीले बताए । ‘पहिले ८ हजारसम्म लिएर उडाउँथ्यौं, अहिले आधा छुट दिँदा प्याराग्लाइडिङ गर्नेको संख्या विगतको जति नै छ,’ भण्डारीले भने ।

अघिल्ला वर्षमा आक्कलझुक्कल आन्तरिक पर्यटक प्याराग्लाइडिङ गर्थे । तर अहिले पाइलटलाई आन्तरिक पर्यटक उडाएर भ्याइनभ्याइ छ । बुकिङ गर्नेको संख्या पनि अत्याधिक छ । अल्ट्रालाइटमा पनि आधा छुट दिएर प्याकेज ल्याइएको छ । ८ हजार लाग्ने अल्ट्रालाइट उडान अहिले ५ हजारमा गराइएको छ ।

बन्जीजम्पमा समेत १५ प्रतिशत छुट दिइएको छ । पोखरा २५ हेम्जामा सञ्चालित बन्जीमा दिनहुँ २० जनाले बन्जीजम्प गर्ने गरेका बन्जी सञ्चालक दिनेश महर्जनले जानकारी दिए । ‘कास्की, काठमाडौंबाट धेरै जना बन्जीका लागि आउनुहुन्छ, विदेशी नभएपनि छुट दिएपछि स्वदेशीमा बन्जीको मोह बढिरहेको छ,’ उनले भने ।

फाइल फोटो

तपाईको प्रतिक्रिया