पोखरामा पहिलो निजी इन्जिनियरिङ कलेज खोलेका लेखबहादुर गुरुङको निधन

समाधान संवाददाता २०७७ मंसिर ६ गते २१:३८

समाधान संवाददाता, पोखरा

पोखरा इन्जिनियरिङ कलेज (पेक) का संस्थापक प्रिन्सिपल तथा अध्यक्ष इन्जिनयर लेखबहादुर गुरुङको काठमाडौंमा शनिबार निधन भएको छ । उनी लामो समयदेखि उच्च रक्तचापका बिरामी थिए ।

उच्च रक्तचापका कारण गत कात्तिक २५ गते कलेज प्रांगणमा अचानक ढलेर बेहोस भएका गुरुङको ग्रान्डी अस्पतालमा उपचारको क्रममा शनिबार २ बजे निधन भएको कलेजका प्रशासक चिजकाजी गुरुङले जानकारी दिए ।

Advertisement

पोखरामा निजी क्षेत्रको पहिलो इन्जिनिरिङ कलेज खोलेका गुरुङ सञ्चार र स्वास्थ्य क्षेत्रका समेत उद्यमी थिए ।

उदय इन्जिनियरिङ कन्सल्टेन्सीका निर्देशक तथा उदय इन्स्टिच्युट अफ एप्रोपियटिभ टेक्नोलोजीका प्रिस्सिपलसमेत रहेका गुरुङ हिमचुली सामुदायिक रेडियोका संस्थापक, नयाँ सडक पत्रिकाका प्रकाशकसमेत थिए । उनले यातायात क्षेत्रमा समेत लगानी गरेका थिए ।

Advertisement

इन्जिनियरिङ, वातावरण क्षेत्रका ज्ञाता गुरुङले कास्की मोडल हस्पिटलका अध्यक्ष समेत थिए । सडक निर्माणको माटो परीक्षणदेखि विकासको अवधारणा र कार्यान्वयनका विषयका असल प्रशिक्षक थिए ।

चन्द्रबहादुर गुरुङ र  विष्णुमति गुरुङको  कोखबाट २०१० भदौ  ५ गते भैरहवामा जन्मेका थिए । स्याङ्जाको  सिसेर् को ट गाविस (हालको  वालिङ नगर पालिका वडा नम्बर  १३) उनको पुख्र्यौली थलो हो ।

उनका बुबा बेलायती सेनाबाट अवकास प्राप्त थिए । लेखबहादुरका ३ दिदीबहिनी छन् ।

भैरहवाको सरकारी विद्यालयबाट १९७१ सालमा एसएलसी पास गरेका गुरुङले भैरहवाको कलेजबाट मानविकीतर्फ प्रवीणता प्रमाणपत्रको अध्ययन गरेका थिए ।

इन्जििनियरिङको सिभिलतर्फ प्रवीणता प्रमाणपत्र हुँदै नयाँदिल्लीको इन्डियन इस्टिच्युट अफ इकोलोजी एन्ड इन्भारोमेन्ट कलेजबाट इकोलोजी र इन्भारोमेन्ट स्नातक गरेका थिए । उनले जनप्रशासनतर्फ डिप्लोमा, अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका थिए ।

स्वास्थ्य र सरसफाई क्षेत्रमा कार्यरत हेल्भेटासको डेपुटी टिम लिडर भएर काम गरेका गुरुङ अर्थशास्त्र, वातावरणको संरक्षण गर्दै गरिने सन्तुलित विकास,प्रशासनिक र योजना अनुगमनका प्राविधिकको रुपमा तालिम प्रशिक्षक थिए ।

सरकारी तथा निजी क्षेत्रबाट भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माणको अभियान गरिने तालिमहरुमा उनीलामो समयसम्म प्राविधिक प्रशिक्षकको रुपमा गरेका थिए । उनी क्लिन ब्यूल्डिङ टेक्नोलोजीज् फर नेपाल एचिभमेन्टका राष्ट्रिय सल्लाहाकार थिए ।

इन्जिनियरिङ क्षेत्रको सफल प्राध्यापक अनुसन्धानकर्ता समेत रहेका गुरुङ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल पोखरा सहयोगी समूह तथा सुशसानको लागि नागरिक समाज (सुनास)का संस्थापक सदस्य समेत थिए ।

सुनासले सञ्चालन गर्नेगरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्न खोजी पत्रकारिता पुरस्कारका लागि १ लाख ११ हजारको अक्षय कोष स्थापना गरेका छन् ।

लामो समय भैरहवा बसेका गुरुङ अहिले पोखरा महानगरको वडा नम्बर ६ बैदामका स्थायी बासिन्दा हुन् । स्वर्गीय गुरुङका श्रीमती, २ छोरा बुहारी र १ नाति छन् ।

गुरुङको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि पोखरा इन्जिनियरिङ कलेजका प्रांगणमा आइतबार १० बजेदेखि राखिने प्रशासक चिजकाजी गुरुङले जानकारी दिए । उनको पोखरा १२ शक्तिघाटस्थित प्येल्हुसंघमा आइतबार नै अन्तिम संस्कार गरिने छ ।

तपाईको प्रतिक्रिया