मुस्ताङ र डोल्पा जोड्ने पुल साढे ४ वर्षमा एक तिहाइ काम

समाधान संवाददाता २०७७ मंसिर ९ गते १०:३२

एसके थकाली, जोमसोम

मुस्ताङ र डोल्पा जोड्ने काली गण्डकीको पाक्लिङ—एक्लेभट्टी मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ ।

२०७३ सालदेखि निर्माण आरम्भ भएको पुलको साढे ४ वर्षको अवधिमा एक तिहाइमात्र काम भएको छ ।

Advertisement

संघीय संरचनामा जानुभन्दा अगाडि २०७३ सालको भदौमा साविक जिल्ला विकास समित मुस्ताङले इलाइट शंकरमाली जेभी काठमाडौंसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

त्यसो त २०७२ सालमा सो पुलको योजना परेपनि गोरखा भूकम्पका कारण पुलको ठेक्का सम्झौता १० महिनापछि धकेलिएको थियो ।

Advertisement

सम्झौता अवधि १५ महिना रहेको १ सय २० मिटर लामो पक्की पुलको लागत ११ करोड ७५ लाख ७६ हजार रुपैयाँ छ ।

सो पुल संघीय आयोजनाको रुपमा रहेको थियो । संघीयता कार्यान्वयनसँगै साविक जिल्ला विकास समितिबाट गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङलाई हस्तान्तरण भएको छ ।

कार्यालय प्रमुख विष्णु पौडेलले पुलको साढे ४ वर्षमा ३२ प्रतिशतमात्र भौतिक प्रगति भएको उल्लेख गरे ।

पुल निर्माणका लागि कार्यालयलाई बजेट अख्तियारी आइसकेको भएता पनि निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण पुलको काम अगाडि बढ्न नसकेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

कालिगण्डकी नदीमा निर्माणाधीन पुलको चौडाई ७ दशमलव २ मिटर रहेको छ ।

पुलको २ वटा पायर (पिल्लर) र २ वटा एबुमेन्ट (साइड पिल्लर) मध्ये २ वटा एबुमेन्ट र एक पायरको काम अन्तिम चरणमा पु¥याए पनि बिचको एक पायरको सुपर स्टक्चर लगायतको अन्य कामहरु निर्माण कम्पनीले त्यसै अलपत्र छाडेको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण कम्पनीलाई धेरै पटक काम गर्न पत्रचार र फोन गरी ताकेता गरेपनि निर्माण कम्पनी फिल्डमा काम गर्न आएको छैन् ।

पटक पटक म्याद थप भएको सो पुलको अन्तिम म्याद आउने माघमा सकिँदै छ ।

पूर्वाधार कार्यालयले तोकिएको अन्तिम समयसम्ममा पनि काम गर्ने अवस्था नरहेमा यसअघिका सम्झौता शर्त बमोजिम कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

नदीमा निर्माणाधिन एक्लेभट्टी—पाक्लिङ पुलको काम निर्माण कम्पनीको अनेकन ढिलासुस्ती र बहानबाजीगरी साढे ४ वर्षसम्म त्यसै अल्झाएर राखेको स्थानीयको भनाइ छ ।

पुलको काम अलपत्र हुनुमा नेपाल सरकार पक्षको साविक जिविस, स्थानीय प्रशासन र पूर्वाधार विकास कार्यालयको निरीहपनले पुलको कामले गति लिन नसकेको स्थानीयको आरोप छ ।

छिमेकी जिल्ला डोल्पासँगै मुस्ताङको कालिगण्डकी पश्चिमतर्फ रहेका दुर्गम बस्ती साङ्ता, फल्याक, धार्काजुङ र पाक्लिङ लगायतका गाउँहरुलाई प्रत्यक्ष फाइदा पुग्ने पुल लामो समयदेखि अलपत्र परेकाले यतिबेला स्थानीयको पुल बन्ने भरोसा टुट्न थालेको रिङझिङ गुरुङले बताए ।

छिमेकी २ जिल्ला जोड्ने महत्वपूर्ण पुल भएको र त्यसका लागि विगतमा पटक पटक डेलिगेसन जाँदासमेत पुल निमार्णका लागि निर्माण कम्पनी र सरोकारवाला निकाय गम्भीर नभएको स्थानीय बताउँछन् ।

पुल छिटोभन्दा छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई काममा लगाउनु पर्ने वा त्यसो नभएमा कम्पनीसँगको ठेक्का सम्झौतानै रद्द गर्नुपर्ने स्थानीयको माग छ ।

यसअघि निर्माण कम्पनीले पुलको काम लामो समयदेखि अलपत्र राखेपछि म्याग्दी पूर्वाधार विकास कार्यालयले बैंकमार्फत मोबिलाईजेसन वापत लिइएको कम्पनीको १ करोड ७१ लाख रुपैया २०७६ भदौमा फिर्ता लिइसकेको छ ।

यता, निर्माण कम्पनीले भने एक्लेभट्टी—पाक्लिङ पुलको डिपिआर सर्वेनै त्रुटि भएको आरोप लगाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया