प्रयोगात्मक तरकारी खेती
प्युठान, रासस
प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ ।
गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
पालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिए ।
अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उनले बताए ।
पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उनले बताए ।
पहिले दिएका तालिम कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारतः खेती गर्न प्रदर्शनी केन्द्र सञ्चालनले सहयोग पुर्याएको उनको भनाइ छ ।
प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको उनले बताए ।
पालिका क्षेत्रभित्र सधैँ बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुर्याउने विश्वास पालिकाले लिएको छ ।
पालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् ।
त्यस्तै हाललाई प्याज र कोभीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नाहरुसमेत राख्ने गरिएको उनले बताए ।
त्यसमध्ये टमाटर, काउली, भान्टा, धनियाँ बिक्रीसमेत भइरहेको छ । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सहुलियतमा तरकारी बिक्री गर्दै आएकोसमेत उनले बताए ।
अबको केही समयमा काँक्रा, करेला लगाउने तयारी भएको उनको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटै बिक्री वितरण हुँदै आएको छ ।
पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि रु चार लाख ७० हजार बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख विकले बताए ।
अघिल्लो आवमा तरकारी बिक्री वितरणबाट रु ९४ हजार ५०० र चालु आवको हालसम्म करिब रु ३५ हजार बराबरको तरकारी बिक्री गरेको उनले बताए ।
तरकारी बिक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको छ । पालिकाभित्र २०७ वटा कृषि समूह तथा कृषि तथा पशुपक्षी फार्म छन् ।
पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिएको छ । मौसमीसँगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने पालिकाले जनाएको छ ।
फाइल तस्बिर
तपाईको प्रतिक्रिया