अक्करे भिर छिचोलेर सडक

समाधान संवाददाता २०७७ मंसिर १२ गते ११:५८

अजिंगर भिरमा सडक खन्न गाउँपालिकाको १ करोड ५० लाख र गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ

राकेश शर्मा, म्याग्दी

अक्करे भिर छिचोल्दै म्याग्दीको रघुगंगा गाउँपालिकाको दुर्गम बस्ती कुइने, चिमखोला, दर्मिजामा सडक पुग्ने भएको छ ।

Advertisement

गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजना निर्माण कार्य सुरु भएको छ ।

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइने मंगलेलाई सडक सञ्जालमा जोडिने भएको हो ।

Advertisement

गाउँपालिकाको ४ न वडा दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भिरमा २ तर्फबाट काम नै सडकको ट्रायाक खोल्ने काम भइरहेको छ ।

अब बाँकी २ सय मिटर भिरमा सडकको ट्र्याक खुल्यो भने सिधा सवारी सञ्चालन हुने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

उनका अनुसार चिमखोला र कुइनेमंगलेमा निर्माणाधीन जलविद्युत आयोजना र प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको हो ।

‘यो अक्करे भिर कसैले फुटाउन सकिँदैन भनेका थिए, अबको केही दिनमा नै यही भिर हुँदै दुर्गम बस्तीमा पुग्न सकिन्छ,’ उनले भने, ‘यो भिरका कारणले बिगत ६ वर्षदेखि यो सडक अलपत्र परेको थियो, गाउँपालिकाको संक्रियतामा काम सुरु भएपछि अब सवारी चल्ने भएको छ ।’

अजिंगर भिरमा करिब २ सय मिटर ट्र्याक खुलेपछि रघुगंगा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमंगले सिधा सडक सञ्जालमा जोडिनेछन ।

भण्डारीले भने, ‘भिरमा करिब डेढ सय मिटर ट्र्याक खोलिसकिएको छ ।’

गत आर्थिक वर्षमा प्रदेश सरकार र संघीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई रकम विनियोजन गरेका थिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार अजिंगर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले १ करोड ५० लाख र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘पहिलो चरणमा जलविद्युत आयोजनाहरु मार्फत ट्र्याक खोल्ने काम भइरहेको छ,’ सुवेदीले भने, ‘मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगंगा गाउँपालिकाको गौरवको आयोजना हो ।’

३ वटा वडाले आफ्नो वडाको गौरवको आयोजनाको रकम यही भिर खोल्न खर्च गर्ने भएका छन् । उनले थपे, ‘वडा न ८ कुइनेमंगलेको गौरवको आयोनाको काम सकिएको छ ।’

मौवाफाँटदेखि दग्नाम हुँदै अजिंगर भिर ५ किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करिब ४ किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इन्जिनियर कमल चोखालले बताए ।

गाउँपालिका, प्रदेश सरकार र जलविद्युत आयोजनाले फरकफरक ठाउँमा काम गरिएको उनको भनाइ छ ।

सबै तिरको सहयोगका कारण सडको ट्र्याक खुल्ले काम छिटो भएको उनले बताए ।

‘यस्तो अक्करे भिरमा पनि २ वटा सवारी साधनलाई वारपार गर्न मिल्ले गरी सडक निर्माण गरेको छौँ,’ चोखालले भने ।

चिमखोला र कुइनेमंगलमा निर्माणको क्रममा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थको प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ ।

दर्मीजा र दग्नाम दुबैतर्फबाट ५ वटा डोजरका साथै मजदुर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको छ ।

‘रघुगंगाको दुर्गम ३ वडालाई जोड्ने यो सडकको ट्र्याक खोल्न आवश्यक बिस्फोटक पदार्थका लागि कुनै पनि समस्या छैन,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘हालसालै सडकका लागि १५ टन बिस्फोटक पदार्थसमेत उपलब्ध गराइएको छ ।’

२०६७ मा स्थानीयबासी, तत्कालीन जिविस र गाविसको ६० लाख रुपैयाँमा निर्माण भएको भगवती, बेग– चिमखोला हँुदै घ्यासीखर्क जोड्ने ५६ किलोमटिर दुरीका सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दुरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो ।

गाउँमा सडक पुगे पनि यातायातका साधन चलिसकेका छैनन् । जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमंगलेका अंकित पुनले बताए ।

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर ५÷६ घन्टामै बेनी आउन सकिन्छ ।

दर्मिजा, चिमखोला र कुइनेमंगलेका करिब १ हजार घरधुरी भिरपहरा, जंगल र खोल्साखाल्सीमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ ।

पुनले बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा हुँदै हिँड्नुपर्ने बाध्यता अत्य हुने विश्वास व्यक्त गरे ।

गाउँमा उत्पादन हुने कृषिजन्य वस्तुहरु खच्चर, भरिया र ट्र्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ ।

कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले भने, ‘निर्माणाधीन सडक पुरानो भन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ ।

‘गाउँमा उत्पादन हुने आलुले बजार पाए पनि निकै महँगो पर्ने व्यवासायीको गुनासो थियो, अब सडक जोडिएछि निकै सस्तो पर्नेछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया