‘अपांगता भएका व्यक्तिको स्वास्थ्यप्रति प्रदेश गम्भीर भएन’

समाधान संवाददाता २०७७ मंसिर १४ गते १०:३५

समाधान संवाददाता, पोखरा

अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालमा प्रदेश सरकार गम्भीर बन्न नसकेको पोखरामा शनिबार भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

राष्ट्रिय अपांग महासंघ नेपालको गण्डकी प्रदेशको आयोजनामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनस्र्थापना र कोभिड प्रतिकार्यमा प्रदेशस्तरका सरोकारवालाबीच भएको अन्तरक्रियामा सहभागीले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

कार्यक्रमका वक्ताहरुले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यका कार्यक्रमहरुमा सरकार सरोकारवाला निकायसँग छलफल नगरी एकलौटी ढंगबाट आगाडि बढ्न खोजेको र त्यसले सरकारका लक्षित कार्यक्रम सफल हुनेमा दुविधा रहेको बताए ।

गण्डकी मेडिकल कलेजका प्रतिनिीि लक्ष्मण शर्माले सरकारी अस्पतालहरुले अपांगता भएका बिरामीहरुलाई उपचार गर्न नसकेर निजी अस्पतालहरुमा रिफर गर्नु लज्जास्पद भएको बताए ।

Advertisement

अपांगता अधिकारकर्मी शिशिर खनालले कोभिड भई उपचार गर्न जाँदा ११ लाख सम्म खर्चनु परेको उदाहरणीय घटनालाई स्मरण गर्दै गरिवीबाट प्रभाभित आपांगता भएका व्यक्तिहरु कोभिड संक्रमित हुँदा उपचारका लागि कहाँ जाने भनेर प्रश्न राखे ।

उनले प्रदेश सरकारले छिटो भन्दा छिटो प्रदेशको स्वास्थ्य नीति निर्माण गर्नुपर्ने नीतिमा अपांगता भएका व्यक्तिहरुको अधिकार ऐनले व्यवस्था गरेबमोजिम निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे ।

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशमा पुनस्र्थापना परियोजना अधिकृत सूर्यप्रसाद भट्टराईले प्रदेश सरकारको यस आवका अपांगता लक्षित स्वास्थ्यका कार्यक्रमको बारेमा सरकार्य गर्न खोज्दा सम्वन्धित निकायका व्यक्तिहरु उम्कन खोजेको र सहकार्य गर्न आतुर नभएकोले आफूहरु दुखित भएको जनाए ।

प्रदेश स्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले छलफलले आफूलाई गम्भीर बनाएको बताउँदै आगामी दिनमा लक्षित कार्यक्रमहरु कार्यन्वयनका लागि बन्ने कार्यविधिहरुमा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले छलफलका क्रममा उठेका सवालमा चाँडोभन्दा चाँडो नतिजा आउने गरी काम अगाडि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट नीति, कानुन मापडण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख शम्भुप्रसाद ज्ञवालीले प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनस्र्थापना एवं प्रतिकार्यमा प्रदेश सरकारले गरेका विषयहरुमा कार्यपत्र प्रस्तुत गरे ।

राष्ट्रिय अपांग महासंघ नेपालका पुनस्र्थापना परियोजना संयोजक सन्दिप विकले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनस्र्थापनाका सवालमा भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनका प्रावधानहरुको बारेमा प्रस्तुति गरे ।

राष्ट्रिय महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनस्र्थापना र कोभिड प्रतिकार्यमा राष्ट्रिय अपांग महासंघ नेपालले गरेका रचनात्मक कार्यबारे प्रस्तुति गरे ।

तपाईको प्रतिक्रिया