अहा ! पुम्दीकोट

समाधान संवाददाता २०७७ मंसिर १६ गते १२:१२

पर्यटक आउन थालिसके, विशाल महादेव मूर्ति स्थापनासँगैका थुप्रै काम हुँदैछन्, जसका लागि अझै २१ करोड रुपैयाँ चाहिएको छ

अनीश भट्टराई, पोखरा

आँखैमा ठोक्किन आइपुग्छन् छयांग खुलेका हिमाल । सामुन्नेमा सराङ्कोट पर्वत । त्यसको काखमा तल फेवा ताल ।

Advertisement

दायाँपट्टि नजर लगाउँदा देखिन्छ, विश्वशान्ति स्तूप अनि पोखरा सहर । टाकुरामै छ, विशाल महादेवको मूर्ति ।

केही वर्षयता निर्माणाधीन मूर्ति र प्राकृतिक सौन्दर्यको परख गर्न दिनहुँ आगन्तुकहरु धुइरिन थालिसकेका छन् ।

Advertisement

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्न लाग्दा लाग्दै विशाल महादेव मूर्ति स्थापित पुम्दीकोटमा आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेको छ । सँगसँगै कोट पुग्ने सडक निर्माणाधीन छ ।

धुलौटे सडकमा आगन्तुकका सवारी आउजाउ गर्न थालिसके । कोट वरिपरि व्यापार व्यवसाय पनि फक्रन खोज्दैछ । व्यापार गर्न भनेरै ढिकुरपोखरीदेखि लक्ष्मीदेवी बराल माइती आइपुगेकी छन् ।

लक्ष्मीले व्यापार थालेको डेढ महिनामात्र भयो । पोखरा २२ पुम्दीकोटमा विशाल महादेवको मूर्ति बन्न लागेपछि उनी व्यापार पनि हुने र एक्ली आमाको रेखदेख पनि हुने सोचले त्यहाँ गएकी हुन् ।

उनी अब व्यापार बढ्नेमा विश्वस्त छिन् । ‘डेढ महिना भाको हो पसल खोलेको, अब मान्छे धेरै आएसि त व्यापार बढ्छ नि,’ लक्ष्मीदेवीले दाजु लीलाधरलाई हेर्दै भनिन् ।

लीलाधरलाई भने न व्यापारको चिन्ता न त घामको नै । ५८ वर्षीय लीलाधर घरसम्म जाने पक्की बाटो भए पुग्ने बताउँछन् । नुनतेल किन्न बिरौटा झर्नुपर्छ । झर्दा त सजिलो छ, तर उक्लँदा भने सास्ती नै छ ।

आफू बुझ्ने हुँदाबाट नै पुम्दीकोटको अवस्था त्यस्तै रहेकाले अझै पनि उनमा आशाका किरण देखिँदैनन् । ‘खै, था पाउँदा नै यस्तै थियो, पहिला त सिँढीको बाटो हुँदा सजिलो लाम्थ्यो,’ उनले भने, ‘नुनतेल ल्याउन नै गाह्रो भको ठाममा बाटो आइदिए हुन्थ्यो ।’

आफूले चुनावमा जिताएका प्रतिनिधिले नगरेको काम विशाल महादेवको मूर्तिले गर्ने उनको तर्क छ । ‘जिताका नेता आफ्नै तहरासम्म बाटो लगे, अब यो मूर्ति बनेसि बाटो आउला,’ उनले भने, ‘भ्युपोइन्ट बनेसि अलिअलि बाटो बन्यो, अब राम्रै होला ।’

अहिले पोखरा २२ पुम्दीकोटमा विशाल महादेवको मूर्ति स्थापना भएपछि स्थानीयहरुमा हर्ष छाएको छ ।

यसले अहिलेबाट नै त्यहाँको जग्गाको मूल्य बढाइदिएको र किन्न चाहने ओइरिएको लीलाधरले बताए ।

‘मान्छे त ओइरिएका छन् नि किन्नलाई, हामीले अब जग्गा त बेच्दैनौं । मूल्य नै मिल्दैन,’ लीलाधरले सुनाए ।

पुम्दीकोटमा विश्वकै सबैभन्दा ठूलो भनिएको शिवमूर्ति निर्माणाधीन छ । अहिले उक्त मूर्ति फिटिङको काम भइरहेको छ । भारतबाट आएका १३ जनाले अहिले मूर्ति फिटिङ गरिरहेका छन् ।

भारतको मथुराबाट १२ गाडीमा ल्याइएको मूर्तिको तौल ३० टन छ । मूर्ति नरेश बर्माले बनाएका हुन् ।

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार मूर्ति निर्माणको ४० प्रतिशत काम पूरा भएको छ ।

मूर्ति निर्माणको काममा करिब १९ करोड रुपैयाँ लाग्ने बरालले बताए । सम्पूर्ण योजनामा भने ४० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

मूर्ति डिजाइनको काम पोखरा बिल्डिङ डिजाइनर्स ग्रुपका सञ्चालक तथा आर्किटेक्ट बाबुराम बरालले गरेका हुन् ।

मूर्ति निर्माणका लागि चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाइको थियो । २०७३ फागुनमा लगाइएको महायज्ञबाट ६ करोड रुपैयाँ सहयोग संकलन भएको बरालले बताए ।

स्थानीयहरुले २० रोपनी जग्गादान गरेका थिए । महायज्ञपछि सहयोग उठ्ने क्रम जारी छ । अहिलेसम्म संघीय सरकारबाट पौने ४ करोड, पोखरा महानगरपालिकाबाट १ करोड ५० लाख र गण्डकी प्रदेशबाट ६० लाख रुपैयाँ बजेट प्राप्त भएको बरालले जानकारी दिए ।

मूर्ति नेपाली उद्यमी कमल जैनले शिवार्पण गरेका हुन् । जैनले खर्च सार्वजनिक गरेका छैनन् । तर उनले अर्पण गरेको मूर्तिको भाउ १ करोड ९८ लाख भारु पर्ने बराल सुनाउँछन् ।

विशाल महादेव मूर्ति स्थापनाका लागि अर्काे त्यस्तै ठूलो सहयोग मुरलीधर रुंगटाले गरेका छन् । जसबाट १ करोड रुपैयाँ दान आइसकेको छ ।

मूर्ति विशला शिवलिंगको आकारमा बनाइएको संरचनामा अडिएको छ । त्यहाँभन्दा मुनि १ सय ८ शिवलिंग छन् ।

मूर्तिनजिकै ऋषिहरुलाई बस्न ३ ब्लकसहितको घर बनाइएको छ ।

मूर्तिसम्म पुग्न१ सय ८ सिँढी बनाइएको छ । त्यहाँ १ सिँढी बराबर १ लाख रुपैयाँ सहयोग गर्ने दाताको नाम लेखिनेछ ।

मूर्तितल महादेवसम्बन्धी अध्ययन सामग्री, श्रव्यदृश्य प्रदर्शनी कक्ष छ । त्यहाँ १ सय ५० कुर्ची राखिने र पर्यटकलाई महादेवका लीलाबारे जानकारी दिइने बराल बताउँछन् ।

मूर्ति अगाडि ५ सय वर्ग फिट जग्गामा जैन बाटिका बनाइने छ । मूर्ति निर्माणमा ५ हजार भन्दा बढी सहयोग गर्ने दाताको नाम लेख्ने गरी शान्ति स्तम्भसमेत राखिने बरालले जनाए । २५ लाख रुपैयाँ दान गर्नेले बाटिकामा आफ्नो पितृ वा आफ्नै मूर्ति राख्न पाउने छन् ।

मूर्तिको इन्जिनियरिङको पक्ष हेरिरहेका बाबुराम बराल उक्त मूर्ति कम्तीमा ९० वर्ष टिक्ने बताउँछन् । ‘रेनफोर्स मेटल’ बाट बनेको मूर्तिलाई हावा, बतासले केही असर नपार्ने उनले जनाए ।

‘भारतको मथुरामा डिजाइन गरेर मूर्ति ल्याएका हौं । उचाइमा भएपनि हावा बतासले केही असर नपार्ने गरी बनाउँदैछौं,’ बाबुरामले भने ।

मूर्तिभित्र २० टन बराबरको फलाम राखेर अस्थिपञ्जर जस्तो बनाइएको उनले बताए । ‘६ लेयरको अस्थिपञ्जर बनाएर २० टन फलाम हालेका छौं,’ बाबुरामले थपे ।

मूर्तिलाई चट्याङबाट जोगाउन अर्थिङको काम पनि भइरहेको छ । पहिला १ सय ८ फिट को बनाउने भनिएको मूर्ति नेपाल उड्डयन प्राधिकरणले विमानको अवतरणमा समस्या आउने भनेपछि ५१ फिटमा झारिएको हो ।

मूर्तिलाई गणेशको मूर्तिले घुम्ने गरी विद्युतीय प्रविधि मिलाँदैछ । मूर्तितल ध्यान कक्ष, भजन कक्ष बनाइने बाबुराम बरालले बताए । सुमेरु पर्वतको शैलीलाई उतारेर ‘चेयर कार’ पनि राखिने छ । चेयर कारमा चढेर कुमार र पार्वतीको मूर्तिसम्म पुग्न सकिने बताइएको छ ।

मूर्ति निर्माणसँगै पर्यटकको आवागमन बढ्नेमा निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बराल ढुक्क छन् ।

अहिले पुम्दीकोटबाट सराङकोट जोड्ने गरेर केबलकार बनाउन आफूहरु लगानी खोजिरहेको बरालले बताए । ‘पर्यटकको आगमन बढ्छ, पोखरामा पर्यटकको बसाइ पनि लम्बिन्छ,’ उनले भने, ‘सराङकोटलाई केबलकारबाट जोड्न पाए झनै पर्यटक आउँथे, हामी लगानी खोज्दै छौं ।’

तर उनले चिन्ताचाहिँ अझै पनि आवश्यक रकम जोहो गर्नेमा छ । भन्छन्, ‘अहिलेसम्म १९ करोड रुपैयाँ खर्च भइसकेको छ, चाहिने त ४० करोड थियो, सबै पैसा छैन, अझै सहयोगी दाता खोजिरहेका छौं ।’

तस्विरः कृष्ण्मणि बराल

तपाईको प्रतिक्रिया