सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई ३ हजार भत्ता

समाधान संवाददाता २०७७ मंसिर २० गते १४:०६

दमौली, रासस

तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई ३ हजार रुपैयाँ वितरण थालेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई ३ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको छ।

Advertisement

गाउँपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।

“सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौं, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छौं,” रानाले भनिन्।

Advertisement

म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले घरमा हुने सुत्केरीलाई शून्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको घिमिरेले बताए ।

“अझै पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेका छन्, यसले जोखिम बढाउँछ,” उनले भने, “स्वास्थ्य संस्थामा सुत्केरी गराए सुरक्षित हुने भएकाले यसबारेमा पनि सचेत गराएका छौँ ।”

यस्तै, म्याग्दे गाउँपालिका–२ मा कोभिड अस्पताल सञ्चालनमा आएको छ । हालै मात्र निर्माण सम्पन्न भएको जामुने स्वास्थ्यचौकीको भवनलाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको करिब रु दुई करोडको लगानीमा उक्त भवन निर्माण गरिएको थियो । भवनमा कोभिड अस्पताल सञ्चालनका लागि सरकारले रु १० लाख उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया