२७ वर्षमा पनि पूरा भएन २७ किमी सडक

समाधान संवाददाता २०७७ मंसिर २४ गते १२:२४

केशवशरण लामिछाने, पोखरा

फेवाताल पर्यटकका लागि आहा छ । तर त्यही फेवातालले तालभन्दा माथिल्लो बस्तीका बासिन्दालाई आहा बनाइरह्यो ।

तालकै कारण पोखरासँग चापाकोट, भदौरे लगायत गाउँहरु सडकमार्गले जोडिन पाएनन् । पञ्चायत कालभरि सडक निर्माणको कुनै गुञ्जायसै भएन ।

Advertisement

जब बहुदल आयो आम निर्वाचन भयो । स्थानीय निर्वाचन भयो । संयोग कस्तो प¥यो भने स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिबाट भदौरेतामागीका महादेव गुरुङ जिल्ला विकास समिति सभापति चुनिए ।

जसै महादेव सभापति भए, बैदाम (लेकसाइड) बाट फेवातालको किनारै किनार सडक खन्न अर्जुनदृष्टि लगाए । ताल किनारबाट सडक लैजाने कुराको चौतर्फी विरोध थियो ।

Advertisement

उनले चापाकोट र भदौरेका मान्छे रातारात ओराले । कुटो, कोदालो, गैंची र झ्याम्फल लगाएर बाटो खन्न लगाए । धेरैजसो त जनश्रमदानमै काम भयो, पछि ज्यालामा गहुँ, चामल र धान पनि दिए मेसो मिल्यो ।

बैदामबाट पामेसम्म सडकको ट्र्याक खोल्नु पनि उनको कार्यकालको क्रान्ति जस्तो भइदियो । आज पनि महादेव उक्त सडक निर्माण सुरु गर्नुको गर्व गर्छन् ।

सडक निर्माणको ‘क्रान्ति’ का लागि जनश्रमदानमा होमिँदा पक्राउ नै परेर प्रहरी थानामा थुनिएको चापाकोटका लोकनाथ पराजुलीलाई ताजै सम्झना छ । भन्छन्, ‘हामी २ सयजना थुनामा परेका थियौं, सभापति नै रहनुभएका महादेव गुरुङलाई नै त वारेन्ट काटिएका थियो ।’

२०४९ सालमा बैदामबाट त्यसरी सुरु सडक निर्माण पञ्चासेको फेदी भदौरेको भन्ज्याङसम्म पु¥याउने लक्ष्य थियो ।

त्यही लक्ष्य अनुसार पामेभन्दा अझै परको घाँटीछिनाबाट मकवानपुर गाउँसम्मको खण्ड सडक निर्माणको शिलान्यास २०५६ साल जेठ १० गते भएको थियो ।

जुन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर घले थिए । जो अहिले पोखरा २३ को वडा सदस्य छन् । अहिले पनि उनको ध्यान त्यही सडकमै छ । नहोस् पनि किन ? ऊ जमानामा सुरु गरेको बाटोमा आजसम्म पनि बाहैमास गाडी चल्न सक्दैनन् ।

मकवानपुर गाउँ हुँदै भदौरेको भन्ज्याङसम्म बाह्रैमास गाडी नचल्नु त परको कुरा, त्यो बाटो उकालो र पहाडी खण्ड भयो । ठूलाठूला ढुंगा हुनाले सडक बनाउन कठिन भएको उनको अनुभव छ ।

भन्छन्, ‘एउटै ढुंगासँग ८/१० वर्ष लड्नुपर्छ, हिउँदभरि बाटो बनायो, बर्खाको २ दिनको पानीले बगाउँछ ।’ हिउँदका ६ महिना जिप चल्दा पनि खुसी हुुनुपर्छ ।’

बैदामबाट घाँटीछिना, ठूलाखेतसम्मको सम्मो भागको सडकमा पनि बाह्रैमास गाडी चलेको रेकर्ड छैन । २०४९ सालदेखि निर्माण सुरु भएको सडक यतिका वर्षसम्म पनि बाह्रैमास गाडी चल्ने हुन सकेन ।

सबैभन्दा ठूलो समस्या त खहरे खोलामा भयो, जहाँ मोटर गुड्ने पुलै बनेन । झोलुंगे जस्तै पुल बन्यो र मोटरसाइकलहरु वारपार हुन सके । नाम खहरे तर कहरचाहिँ निकै ठूलो ।

बर्खामा निकै गड्गडाएर आउँदा मान्छे बगाउनु त सामान्य, जिपैसम्म पनि बगाएको स्थानीय सुनाउँछन् ।

अर्का दुई खोला लौरुक र पामेले पनि कहिले मोटरसाइकल बगाए र कहिले जिपै पल्टाए र पछिल्लो समय त्यस्ता तस्बिर सामाजिक सञ्जालमा भाइरल भए ।

गएको प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा भोट माग्दै चापाकोट, भदौरेतिर पुग्दा तत्कालीन एमाले उम्मेदवार राजीव पहारीसँग स्थानीयले जोडतोडका साथ राखेको एउटै माग थियो, ‘खहरे खोलामा पुल नबनाई भएन ।’

त्यहाँ र पामे लगायत खोलामा पुल नबन्दा र पिच नहुँदा बैदाम—घाँटीछिना सडक पूर्ण हुँदैनथ्यो ।

अझै बैदामबाट पञ्चासे फेदीसम्मको २७ किलोमिटर (२६ दशमलव ८ किमि) पूर्ण हुने कुरै भएन, जब कि यति थोरै दुरीको सडक निर्माण सुरु भएको २७ वर्ष पूरा भइसकेको छ ।

राजीवले चुनाव पनि जिते । प्रयास थाले खहरे खोलामा पुल निर्माण गर्न । प्रदेश सरकार बनेको थियो र आफूले पहल कदमी लिएर खहरे खोलामा पुल बनाउन ११ करोड रुपैयाँ विनियोजन गर्न सफल भएको पहारी सुनाउँछन् ।

अहिले खहरे खोलामाथि पुल बनिरहेको छ । पहारीले अबको वर्ष दिनभित्रै पुल पूरा भएर गाडी आउजाउ हुने बताए ।

पामे र लौरुक खोलामा पनि पुल निर्माणाधीन छ । त्यति बन्दाचाहिँ बर्खामास पनि घाँटीछिनासम्म गाडी आउजाउ सम्भव हुनेछ । तर पूर्ण सडक हुनु भनेको त पिच पनि हुनु हो भन्ने आम बुझाइ छँदैछ । त्यसका लागि पनि कार्यारम्भचाहिँ भएको छ ।

बैदाम—पामे—घाँटीछिना—पञ्चासे मार्ग उपभोक्ता समितिका अध्यक्ष लोकनाथ पराजुली सडक पिच गर्न १७ करोड रुपैयाँको टेन्डर भर्खरैमात्र महानगरपालिकाले निकालेको बताउँछन् ।

त्यसबाहेक पनि पामेसम्म पिच गर्न अर्काे बजेट पनि छुट्टिएको उनले जानकारी दिए । निकै लामो समय ट्र्याकको मात्रै अवस्थामा रहेको बैदामदेखि पामेसम्म पुग्ने सडक फराकिलो बनाउन र स्तरोन्नति गर्न २०७१ देखि काम भएको उनी बताउँछन् ।

२०७२ सालमा उक्त सडक उपभोक्ता समितिका अध्यक्ष भएका उनी त्यसयता कहिले महानगरपालिकाबाट त कहिले प्रदेश सरकार र कहिले सडक कार्यालयबाट गरी पटकपटक करोडौं बजेट परेको बताउँछन् ।

उनकै भनाइमा तिनै बजेटका आधारमा यो सडक पिच हुँदैछ । पराजुलीका अनुसार यो सडक स्यान्डर्ड डबल लेन आकारमा निर्माण भइरहेको छ ।

प्रदेश सांसद पहारी पनि घाँटीछिनादेखि भन्ज्याङसम्मको सडक पिच गर्न विश्व बैंकसँग समझदारी भएको सुनाउँछन् ।

तै घाँटीछिनाभन्दा माथि ३४५ मिटर सडकमा ढलान गर्ने कामको ठेक्का पाएको निर्माण कम्पनीले आलटाल गर्दा त्यो काम पूरा हुने छाँट छैन । ठेकेदारसँगको सम्झौता मंसिरमा सकिन लागेको हुँदा शनिबार पहारी सडक अनुगमनमा निस्किएका थिए ।

उक्त सडक खण्डमा सोलिङमात्रै गरेर ठेकेदारले छोडेको उनले भेटे । चापाकोट बराङ गाउँका उपभोक्ताहरुसँग समेत छलफलसमेत गरेपछि पहारीले ठेकेदारलाई फोनमा भने, ‘सडक अलपत्र छोडेर तपाईं कता हो ? सक्ने भए छिटो सक्नोस्, सक्नुभएन भने तपाईंको फर्मलाई कालोसूचीमा राख्दिन्छु ।’

तपाईको प्रतिक्रिया