२७ वर्षमा पनि पूरा भएन २७ किमी सडक

केशवशरण लामिछाने, पोखरा
फेवाताल पर्यटकका लागि आहा छ । तर त्यही फेवातालले तालभन्दा माथिल्लो बस्तीका बासिन्दालाई आहा बनाइरह्यो ।
तालकै कारण पोखरासँग चापाकोट, भदौरे लगायत गाउँहरु सडकमार्गले जोडिन पाएनन् । पञ्चायत कालभरि सडक निर्माणको कुनै गुञ्जायसै भएन ।
जब बहुदल आयो आम निर्वाचन भयो । स्थानीय निर्वाचन भयो । संयोग कस्तो प¥यो भने स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिबाट भदौरेतामागीका महादेव गुरुङ जिल्ला विकास समिति सभापति चुनिए ।
जसै महादेव सभापति भए, बैदाम (लेकसाइड) बाट फेवातालको किनारै किनार सडक खन्न अर्जुनदृष्टि लगाए । ताल किनारबाट सडक लैजाने कुराको चौतर्फी विरोध थियो ।
उनले चापाकोट र भदौरेका मान्छे रातारात ओराले । कुटो, कोदालो, गैंची र झ्याम्फल लगाएर बाटो खन्न लगाए । धेरैजसो त जनश्रमदानमै काम भयो, पछि ज्यालामा गहुँ, चामल र धान पनि दिए मेसो मिल्यो ।
बैदामबाट पामेसम्म सडकको ट्र्याक खोल्नु पनि उनको कार्यकालको क्रान्ति जस्तो भइदियो । आज पनि महादेव उक्त सडक निर्माण सुरु गर्नुको गर्व गर्छन् ।
सडक निर्माणको ‘क्रान्ति’ का लागि जनश्रमदानमा होमिँदा पक्राउ नै परेर प्रहरी थानामा थुनिएको चापाकोटका लोकनाथ पराजुलीलाई ताजै सम्झना छ । भन्छन्, ‘हामी २ सयजना थुनामा परेका थियौं, सभापति नै रहनुभएका महादेव गुरुङलाई नै त वारेन्ट काटिएका थियो ।’
२०४९ सालमा बैदामबाट त्यसरी सुरु सडक निर्माण पञ्चासेको फेदी भदौरेको भन्ज्याङसम्म पु¥याउने लक्ष्य थियो ।
त्यही लक्ष्य अनुसार पामेभन्दा अझै परको घाँटीछिनाबाट मकवानपुर गाउँसम्मको खण्ड सडक निर्माणको शिलान्यास २०५६ साल जेठ १० गते भएको थियो ।
जुन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर घले थिए । जो अहिले पोखरा २३ को वडा सदस्य छन् । अहिले पनि उनको ध्यान त्यही सडकमै छ । नहोस् पनि किन ? ऊ जमानामा सुरु गरेको बाटोमा आजसम्म पनि बाहैमास गाडी चल्न सक्दैनन् ।
मकवानपुर गाउँ हुँदै भदौरेको भन्ज्याङसम्म बाह्रैमास गाडी नचल्नु त परको कुरा, त्यो बाटो उकालो र पहाडी खण्ड भयो । ठूलाठूला ढुंगा हुनाले सडक बनाउन कठिन भएको उनको अनुभव छ ।
भन्छन्, ‘एउटै ढुंगासँग ८/१० वर्ष लड्नुपर्छ, हिउँदभरि बाटो बनायो, बर्खाको २ दिनको पानीले बगाउँछ ।’ हिउँदका ६ महिना जिप चल्दा पनि खुसी हुुनुपर्छ ।’
बैदामबाट घाँटीछिना, ठूलाखेतसम्मको सम्मो भागको सडकमा पनि बाह्रैमास गाडी चलेको रेकर्ड छैन । २०४९ सालदेखि निर्माण सुरु भएको सडक यतिका वर्षसम्म पनि बाह्रैमास गाडी चल्ने हुन सकेन ।
सबैभन्दा ठूलो समस्या त खहरे खोलामा भयो, जहाँ मोटर गुड्ने पुलै बनेन । झोलुंगे जस्तै पुल बन्यो र मोटरसाइकलहरु वारपार हुन सके । नाम खहरे तर कहरचाहिँ निकै ठूलो ।
बर्खामा निकै गड्गडाएर आउँदा मान्छे बगाउनु त सामान्य, जिपैसम्म पनि बगाएको स्थानीय सुनाउँछन् ।
अर्का दुई खोला लौरुक र पामेले पनि कहिले मोटरसाइकल बगाए र कहिले जिपै पल्टाए र पछिल्लो समय त्यस्ता तस्बिर सामाजिक सञ्जालमा भाइरल भए ।
गएको प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा भोट माग्दै चापाकोट, भदौरेतिर पुग्दा तत्कालीन एमाले उम्मेदवार राजीव पहारीसँग स्थानीयले जोडतोडका साथ राखेको एउटै माग थियो, ‘खहरे खोलामा पुल नबनाई भएन ।’
त्यहाँ र पामे लगायत खोलामा पुल नबन्दा र पिच नहुँदा बैदाम—घाँटीछिना सडक पूर्ण हुँदैनथ्यो ।
अझै बैदामबाट पञ्चासे फेदीसम्मको २७ किलोमिटर (२६ दशमलव ८ किमि) पूर्ण हुने कुरै भएन, जब कि यति थोरै दुरीको सडक निर्माण सुरु भएको २७ वर्ष पूरा भइसकेको छ ।
राजीवले चुनाव पनि जिते । प्रयास थाले खहरे खोलामा पुल निर्माण गर्न । प्रदेश सरकार बनेको थियो र आफूले पहल कदमी लिएर खहरे खोलामा पुल बनाउन ११ करोड रुपैयाँ विनियोजन गर्न सफल भएको पहारी सुनाउँछन् ।
अहिले खहरे खोलामाथि पुल बनिरहेको छ । पहारीले अबको वर्ष दिनभित्रै पुल पूरा भएर गाडी आउजाउ हुने बताए ।
पामे र लौरुक खोलामा पनि पुल निर्माणाधीन छ । त्यति बन्दाचाहिँ बर्खामास पनि घाँटीछिनासम्म गाडी आउजाउ सम्भव हुनेछ । तर पूर्ण सडक हुनु भनेको त पिच पनि हुनु हो भन्ने आम बुझाइ छँदैछ । त्यसका लागि पनि कार्यारम्भचाहिँ भएको छ ।
बैदाम—पामे—घाँटीछिना—पञ्चासे मार्ग उपभोक्ता समितिका अध्यक्ष लोकनाथ पराजुली सडक पिच गर्न १७ करोड रुपैयाँको टेन्डर भर्खरैमात्र महानगरपालिकाले निकालेको बताउँछन् ।
त्यसबाहेक पनि पामेसम्म पिच गर्न अर्काे बजेट पनि छुट्टिएको उनले जानकारी दिए । निकै लामो समय ट्र्याकको मात्रै अवस्थामा रहेको बैदामदेखि पामेसम्म पुग्ने सडक फराकिलो बनाउन र स्तरोन्नति गर्न २०७१ देखि काम भएको उनी बताउँछन् ।
२०७२ सालमा उक्त सडक उपभोक्ता समितिका अध्यक्ष भएका उनी त्यसयता कहिले महानगरपालिकाबाट त कहिले प्रदेश सरकार र कहिले सडक कार्यालयबाट गरी पटकपटक करोडौं बजेट परेको बताउँछन् ।
उनकै भनाइमा तिनै बजेटका आधारमा यो सडक पिच हुँदैछ । पराजुलीका अनुसार यो सडक स्यान्डर्ड डबल लेन आकारमा निर्माण भइरहेको छ ।
प्रदेश सांसद पहारी पनि घाँटीछिनादेखि भन्ज्याङसम्मको सडक पिच गर्न विश्व बैंकसँग समझदारी भएको सुनाउँछन् ।
तै घाँटीछिनाभन्दा माथि ३४५ मिटर सडकमा ढलान गर्ने कामको ठेक्का पाएको निर्माण कम्पनीले आलटाल गर्दा त्यो काम पूरा हुने छाँट छैन । ठेकेदारसँगको सम्झौता मंसिरमा सकिन लागेको हुँदा शनिबार पहारी सडक अनुगमनमा निस्किएका थिए ।
उक्त सडक खण्डमा सोलिङमात्रै गरेर ठेकेदारले छोडेको उनले भेटे । चापाकोट बराङ गाउँका उपभोक्ताहरुसँग समेत छलफलसमेत गरेपछि पहारीले ठेकेदारलाई फोनमा भने, ‘सडक अलपत्र छोडेर तपाईं कता हो ? सक्ने भए छिटो सक्नोस्, सक्नुभएन भने तपाईंको फर्मलाई कालोसूचीमा राख्दिन्छु ।’








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया