‘नेताको कुरा नगर्नुस्’

समाधान संवाददाता २०७७ मंसिर ३० गते ११:३०

पार्टीसार्र्टीबाट केइ पाछैन, आज उनोरले गर्दा अलि व्यापार भयो, त्यति मात्र हो

समाधान संवाददाता, पोखरा

सोमबार दिउँसो पृथ्वीचोकमा हजारौं मान्छेको उपस्थिति थियो ।

Advertisement

नयाँबजारबाट नेपाली कांग्रेसको झण्डा बोकेर सरकारविरुद्ध चर्को नारा लगाउँदै आएका उनीहरुको हुल देख्दा साजन कुमारलाई अचम्म लागेन ।

केही साताअघि पनि यस्तै जुलुस निस्किएको थियो । फरक थियो त झण्डा, अरु उही नै । साताअघिको जुलुसमा नेपाली झण्डा बोकिएको थियो, सोमबारको प्रदर्शनमा कांग्रेसको ।

Advertisement

सडकपेटीमा जुत्ता सिलाउन बसेका रौतहटका २१ वर्षीय उनी नेताहरुको चर्को भाषण सुन्दै थिए ।

‘सरकार काम लागेन, असफल भयो, भ्रष्ट भयो’ आदि इत्यादि । उनलाई मनमनै हाँसो उठ्दो हो ।

प्लस टु विज्ञान संकायमा सकाएर बसेपछि उनलाई पढ्न मन लागेन । उनका २ दाजुले ब्याचलर सकाएपछि जागिर पाएनन् । उनले जागिर पाउने ठेगान थिएन, त्यसैले पोखरा हानिए ।

फागुनमा पोखरा आएका उनी जुत्ता सिलाएर बस्न लागे तर लकडाउनका कारण उनी गृहजिल्ला फर्कनुप¥यो । सोमबारको प्रदर्शनबारे उनलाई सोध्दा उनले सिधै भने, ‘नेताहरुको कुरा नगर्नुस्, के दिए र खै ? जागिर नपाएर त म जुत्ता सिलाएर बसेको हुँ ।’

उनी नेताहरु र आफ्नो जीवनशैली दाँज्छन् । उनीहरु हिँड्ने चिल्ला गाडीका अगाडि उनका थोत्रा चप्पलको के मूल्य ? ‘नेता त विकासको कुरा गर्ने, चुनाव जित्ने, चिल्ला गाडीमा हिँड्ने हो, हामी पो यी चप्पल घिसार्नु पर्छ,’ चप्पल देखाउँदै उनले भने ।

उनी दिनको १ हजार रुपैयाँ कमाउँछन् । धेरै भएको दिन १३ सय रुपैयाँसम्म हुन्छ । उनी समाचार सुन्छन्, करोडौंका घोटाला भन्ने हल्ला सुन्छन् । उनी आफ्नै मधेसी लवजमा भन्छन्, ‘दिनको १ हजार कमाउनेले त्यत्रो पैसाको कसरी कुरा गर्ने बाफरेबाफ, अझै पोखरामा कति खर्च पो छ त ।’

भक्तपुर घर भएका सन्तेबहादुर तामाङ (४५) चौध वर्षअघि पोखरा आए । पोखरा आएपछि तामाङले सुरुमा भारी बोक्न थाले । भारी बोक्ने काममा लागेका उनले काम छाडे ।

२ वर्ष अगाडि उनी पोखराको एक गेस्टहाउसमा काम गर्न थाले । महिनामा ५ हजार कमाएपनि उनको दम्पत्तीका लागि पर्याप्त थियो । काम राम्रै चल्दै थियो ।

कोरोनाका कारण लकडाउन सुरु भएपछि उनलाई तलब दिन नसक्ने भन्दै गेस्टहाउसले उनलाई कामबाट निकालिदियो । उनकी श्रीमती रुपा तामाङसमेत कामविहीन भएपछि २ जनै सडकमा झरे ।

भाडा तिर्न नसकेपछि कोठा छाड्नुप¥यो । लकडाउनभर उनीहरुको बास पाटीमा भयो । लकडाउन सकिएपछि तामाङले बदाम बेच्न थाले । उनकी श्रीमती रुपा पोखराकै होटलमा काममा फर्किइन् ।

दुखका बेला तामाङका परिवारलाई कसैले हेरेन । सोमबार भने उनको व्यवसाय कांग्रेसका कारण केही हदसम्म राम्रै भयो । कांग्रेसको प्रदर्शनले सोमबार उनको बदाम बिक्री अरु दिनभन्दा धेरै राम्रो भयो ।

‘दुखमा कसैले हेरेनन्, भोकभोकै सडकमा सुत्यौं, कति आँसु खसाल्यौं त्यो था छैन,’ उनले भने, ‘पार्टीसार्र्टीबाट केइ पाछैन, आज उनोरले गर्दा अलि व्यापार भयो, त्यति मात्र हो ।’

तपाईको प्रतिक्रिया