बाराहीमा ६ करोडको पूर्वाधार बन्दै

समाधान संवाददाता २०७७ मंसिर ३० गते ११:२५

समाधान संवाददाता, पोखरा

बाराही माध्यमिक विद्यालय पोखरा ५ मालेपाटनमा पछिल्लो १५ महिनाको अवधिमा ६ करोड बराबरको भौतिक पूर्वाधार निर्माणका काम भएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माण गर्न लागेको ७ कोठे अत्याधुनिक पक्की भवनको सोमबार शिलान्यास गरे ।

Advertisement

साउदी फण्डको आर्थिक सहयोग राष्ट्रिय पुननिर्माण प्राधिकरणले ४ करोडको लागतमा भवन बनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाल बरालले जानकारी दिए ।

उक्त भवनमा पहिलो, दोस्रो र तेस्रो तलामा २÷२ कोठा र चौथो तलाका १ कोठा रहनेछन् । बानियाँ कन्स्ट्रक्सन हेटौंडा नामक निर्माण कम्पनीले भवन निर्माण थालेको हो ।

Advertisement

राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा ४ कोठे भवनको निर्माण कार्य पूरा भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ६८ लाखको लागतमा बनेको नवनिर्मित भवनको सोमबार उद्घाटन गरे ।

प्राधिकरणको सहयोगमा यही अवधीमा १२ लाखको लागतमा छात्र र छात्राका लागि आधुनिक शौचालय निर्माण भएको छ ।

अध्यक्ष बरालका अनुसार पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोगमा ६ लाखको लागतमा आधुनिक विज्ञान प्रयोगशालाको निर्माण कार्य पूरा भएको छ ।

सामाजिक विकास मन्त्रालयको ५ लाख र विद्यालयको आन्तरिक स्रोत ५ लाख समेत गरी १० लाखको लागतमा विद्यालयको हाताभित्र चिल्ड्रेन फनपार्क बनाइएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले फनपार्कको सोमबार उद्घाटन गरे ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विद्यालयमा शुद्ध खानेपानीका लागि युरोगार्डसहितका धारा जडान गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले खानेपानी योजनाको उद्घाटन गरे ।

‘तिनतहको सरकारको सहयोगमा छोटो अवधीमा भौतिक संरचनाका काम भएका छन्,’अध्यक्ष बरालले भने, ‘विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर ध्यान दिनेछांै ।’

विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले किडासा नामक संस्थाको सहयोगमा ५ लाख रुपैयाँको क्रिकेट पिच निर्माण गरेको जानकारी दिए । उनले विद्यालयमा१ लाखको शैक्षिक अक्षयकोष खडा गरेको बताए ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले शैक्षिक गुणस्तरका लागि भौतिक पूर्वाधार महत्वपूर्ण पाटो भएको बताए ।

शिक्षाको गुणस्तर कायम गर्नकक्षा कोठाको शिक्षण सिकाइदेखि विद्यालयको वातावरण पहिलो सर्त भएको उल्लेख गर्दै उनलेविद्यार्थीका चौतर्फी विकासमा सरोकारवालाले ध्यान दिनुपर्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले विश्वस्तरका विकसित मुलुकका जनशक्तिसँग प्रतिस्पर्धागरी श्रेष्ठता हासिल गर्ने जनशक्ति आजको आवश्यकता भएको उल्लेख गरे ।

गण्डकी प्रदेश सभाका सदस्य पहारीले मानव सभ्यताको विकासको मूलआधार शिक्षा भएको बताए ।

पोखरा महानगरपालिकाका मेयर जिसीले कोरोना भाइरसको कारण बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित भएको बताए । उनले पाठ्यभार घटाएर शैक्षिकसत्र पूरा गर्नु मुख्य चुनौती रहेको तर्क गरे ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख क्षेत्रीले साउदी फन्ड अन्तर्गत कास्कीमा पोखरा १६को विन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा २५को अम्बिका माध्यमिक विद्यालय, पोखरा ३१को आनन्दज्योति माध्यमिक विद्यालयको भवन बन्न लागेको जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५का अध्यक्ष धनबहादुर नेपाली, विद्यालयका शिक्षक रामप्रसाद पोखरेलले प्राविधिक शिक्षामा जोड दिए रोजगारीको अवसर सिर्जना हुने बताए ।

तपाईको प्रतिक्रिया