लिटरेचर फेस्टिभल पोखराको सराङकोटमा

समाधान संवाददाता २०७७ पुष ४ गते १९:४६

समाधान संवाददाता, पोखरा

आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ (२९ र ३० डिसेम्बर, २०२०)मा पोखरामा आयोजना हुने भएको छ ।

फेवाताल किनारमा हुँदै आएको फेस्टिभल यसपालि भने सराङकोट डाँडामा हुने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । यसपालिको अर्काे भिन्नता फेस्टिभलको स्वरुप पनि हो । सयौं दर्शक सहभागी हुँदै आएको फेस्टिभल यसपालि भने भर्चुअल हुने भएको छ ।

Advertisement

पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझ हुने जानकारी फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जनाए ।

उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुनेछ । भोलिपल्ट अर्थशास्त्री विश्व पौडेलको विद्वत प्रवचन हुनेछ ।

Advertisement

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहने जानकारी फेस्टिभल निर्देशक अजीत बरालले जनाए । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने भएका छन् ।

नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहने बरालले सुनाए ।

कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक बरालले बताए ।

उनले भने, ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं ।’
फेस्टिभलका कार्यकारी निर्देशक भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समय भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको बताए ।

‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन ।’

सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । ‘पोखरा माछापुच्छ«ेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

फेस्टिभल आयोजक संस्थाकी सदस्य अनिकर्मले नेपाल लिटरेचर फेस्टिभलका कारण पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएको सुनाइन् ।

‘यसले एकै छानामुनि आफूलाई मनपर्ने साहित्यकार एवम् कलाकार र विशिष्ट व्यक्तित्वसँग भेट गर्ने अवसर जुराउँछ,’ उनले भनिन्, ‘हाल कोभिड–१९ का कारण यो अवसर जुट्न नसके पनि हामी यो वर्ष देश तथा विदेशमा रहेका साहित्यप्रेमी तथा शुभचिन्तकसँग युट्युब लाइभबाट जोडिनेछौं ।’

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नाराका साथ सन् २०११ बाट सुरु फेस्टिभल २०१६ देखि पोखरामा आयोजना हुँदै आएको छ । फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बताउँछन् ।

‘यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याउँछ,’ बराल भन्छन् । फेस्टिभललाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सघाएका छन् ।

तपाईको प्रतिक्रिया