भौगर्भिक अध्ययन बिना काम नथाल

समाधान संवाददाता २०७७ पुष १० गते ९:५६

सम्पादकीय

पोखरा महानगरपालिकाले भौगोलिक हिसाबले जोखिम क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यको रुपमा विकास गर्ने योजना अगाडी सारेको छ ।

महानगरले पाताले छाँगो र सेती खोंच सार्वजनिक निजी साझेदारी कार्यक्रम (पिपिपी) अन्तर्गत सहासिक पर्यटन प्रवद्र्धनको काम गर्न लागेको हो ।

Advertisement

जर्मनको भूवैज्ञानिक तथा प्राकृतिक स्रोतसाधन संस्थान (बिजीआर) सँगको सहकार्यमा सरकारले २२ वर्ष अगाडी पोखराको भूसतहको उच्च स्तरीय अध्ययन गरेको थियो ।

प्रतिवेदनले उच्च जाोखिमयुक्त क्षेत्र भने औल्याएको ठाउँमा निजी क्षेत्रबाट धमाधम ठुलाठुला संरचना बनेका छन् ।महानगरले सेती किनार र पाताले छाँगोको ७५ मिटर आसपास असाध्यै जोखिम क्षेत्रमा पर्यटन प्रवद्र्धनका काम अगाडी बढाउन थालेको छ ।

Advertisement

महानगरले पाताले छाँगोमा सिसाको पुलसहित सेल्फी स्पोट, क्यानोनिङ जोन, रेस्टुरेन्ट बनाउने प्रस्ताव गरेको छ ।

सेती नदी अन्तर्गत केआइसिंह पुलदेखि ढुंगेसाँघुसम्म भ्यूटावर, सेती हेर्ने सिँढी, कायकिङ, कटेज, टनेल, मन्दिरलगायत संरचना बनाउने योजना छ ।

पाताले छाँगोमा ५० करोड र सेती खोंचमा १ अर्ब ८८ करोड लगानी गर्ने प्रस्ताव गरेको छ । महानगरले सम्पदा ठेक्कामा दिँदा पर्याप्त गृहकार्य गरेको छैन ।

पोखराका महत्वपूर्ण सम्पदाहरूको भौगर्भिक अध्ययन सहित गुरुयोजना तयार गरेर मात्रै ठेक्का सम्झौता गर्न विज्ञहरुको सुझाव छ ।पोखराको भाग्य र भविष्यसँग जोडिएको महत्वपूर्ण सम्पदाको संरक्षण गर्न विषयगत विज्ञ, अध्यता तथा जानकारसंगका राय परामर्श गरेर दीर्घकालिन परियोजनामा हात हाल्न पर्ने राय प्रकट गरेका छन् ।

तथापी महानगरले जोखिम व्यवस्थापनसहित सबै अध्ययन नगरी परियोजना अगाडि नबढाउने भन्दै आएको छ ।

पोखरा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यस्थल हो । पोखरा आसपासको वृहत्तर विकासको लागि पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर गुरुयोजना निर्माण गर्नु पर्छ ।

पोखरा वृहत्तर विकास गुरुयोजना दीर्घकालिन लक्ष्य÷उद्देश्यको साथ शहरलाई सुव्यवस्थित शहर बनाउन भूउपयोग नीतिमा जोड दिनु पर्छ ।

भौगोलिक हिसाबले जोखिम क्षेत्रमा ठुला तथा दीर्घकालिन नभएर साना संरचना निर्माण गर्नु आवश्यक छ । प्राकृतिक श्रोत साधनको संरक्षण गर्दै सम्पदालाई थप नबिगारेर पूर्वाधारका काम अगाडी बढाउनु सान्दर्भिक हुनेछ ।

जोखिमयुक्त क्षेत्रमा सकभर ठला संरचना नबनाउँदा राम्रो हुन्छ । भौतिक संरचना निर्माण कार्य गर्दा उच्च सतर्कता अपनाउनु पर्छ । कुनै पनि संरचना निर्माण गर्नुअघि त्यहाँको भौगर्भिक जोखिम नक्सालाई ध्यानमा राख्नैपर्छ ।

तपाईको प्रतिक्रिया