संस्कृति जोगाउन युवालाई प्रशिक्षण

समाधान संवाददाता २०७७ पुष १० गते १२:३३

एसके थकाली, जोमसोम

मुस्ताङको उत्तरीक्षेत्रको लोमान्थाङ गाउँपालिकाको एक वडा संस्कृति संरक्षणमा जुटेको छ । पालिकाको वडा नम्बर ५ को वडा कार्यालयले गाउँका युवा पुस्तालाई १ महिने सांस्कृतिक प्रशिक्षण अभ्यास दिन थालेको हो ।

उपल्लो मुस्ताङको सदियांै वर्ष पुरानो ऐतिहासिक, धार्मिक तथा मौलिक कला, संस्कृति र रीतिरिवाज पुस्तान्तरणका लागि आवश्यक बजेट विनियोजन गरेर प्रशिक्षण दिइएको वडा अध्यक्ष न्हिजिनधार्जे बिष्टले जानकारी दिए । उनले स्थानीयहरु कोरोना भाइरसको जोखिमका कारण बेसी नझरी गाउँमा बसेको अवस्थामा वडा संस्कृति संरक्षणमा लागेको बताए ।

Advertisement

कार्यक्रमका लागि वडाले गत वर्ष १० लाख बजेट उपलब्ध गराएको थियो । यसवर्ष संस्कृति सिकाउन १ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । गाउँमै बसेका युवा युवतीलाई सांस्कृतिक नृत्य, गीत र मौलिक भेषभूषा लगायतको प्रशिक्षण दिइएको वडाध्यक्ष बिष्टले जानकारी दिए । उनका अनुसार वडाले वर्षेनी दिने बजेटले तालिम प्रशिक्षण तथा व्यवस्थापनमा खर्च गरिने छ ।

यहाँका २ स्थानीय तह मौलिक कला संस्कृतिले धनी मानिन्छन् । चीनको तिब्बती संस्कृतिको प्रभाव परेको त्यस क्षेत्रमा तिब्बती संस्कृति झल्काउने सांस्कृतिक नृत्य र गीत तथा परम्परागत भेषभूषा संरक्षित छ ।

Advertisement

त्यस क्षेत्रमा ल्हो जातिहरुले गाउने र नाच्ने गीत र नृत्य प्रशिक्षण भइरहेको छ । लोमान्थाङ—५ को फोटो ग्यालरी हलमा तालिम प्रशिक्षण भइरहेको स्थानीय छेवाङ गुरुङले बताए । सोमबारदेखि सुरु भएको प्रशिक्षण दैनिक दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म १ महिना चल्ने गुरुङले जानकारी दिए ।

लोमान्थाङमा संस्कृति पुस्तान्तरणका लागि नयाँ युवापिँढीहरुलाई तालिम अभ्यास गराइएको छ । तालिममा संस्कृति संरक्षणमा उत्प्रेरित भई कला, संस्कृति सिक्न चाहने सबैलाई प्रशिक्षणमा सहभागी गराइएको छ ।

प्रशिक्षणका लागि गालामु गुरुङ, युटिन गुरुङ र छिरिङल्हामो लोवालाई खटाइएको छ । उनीहरुले दैनिक सांस्कृतिक गीत गार्लु, ठोलु र डोक्लु सिकाइरहेका छन् ।

नृत्यतर्फ स्याप्रु र गावा नाच सिकाउँदै छन् । अध्यक्ष बिष्टले पछिल्लो पुस्ताले स्थानीय कला, संस्कृति बिर्सदै गएकाले यसको संरक्षण गर्न आवश्यक भएको बताए ।

युवा पुस्ता स्थानीय संस्कृति प्रति आकर्षित नहुँदा परम्परा लोप हुँदै जाने खतरा बढेको छ । युवालाई संस्कृति संरक्षणमा आकर्षित गर्न तालिम फलदायी हुने प्रशिक्षक युटिनले बताइन् । उनले तालिममा युवाहरुलाई स्थानीय सांस्कृतिक वाद्यवादनसमेत सिकाइएको जनाइन् ।

उपल्लो मुस्ताङको ल्हो क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई ल्हो समुदाय भनिन्छ । सदियौं वर्ष पुरानो गर्लु गीत त्यहाँको मौलिक स्थानीय गीतको रुपमा परिचित छ । त्यसपछि आएको अर्को गीतलाई ठोलु भन्ने गरिन्छ ।

त्यसक्षेत्रको ढोक्पा समुदायलाई नोमेट भनिन्छ । डोल्लु उनीहरुको चलन चल्तीको गीत हो । लोमान्थाङका स्थानीय बासिन्दा तथा गण्डकी प्रदेश सभाका सदस्य ईन्द्रधारा बिष्टले गर्लु गीतमा गावा नाच र ठोल्लु गीतमा स्याप्रु नाच देखाउने प्रचलन रहेको बताए । सांस्कृतिक नृत्य र गीतले त्यहाँको ल्हो समुदायको सांस्कृतिक सभ्यताको परिचय उजागर गर्ने बिष्टको भनाइ छ ।

स्थानीयको मौलिक चाडपर्वहरु ल्होसार, यार्तुङ, तिजी पर्व, विवाह ब्रतबन्ध, पार्टी, अतिथि सत्कार र खुसीयालीको अवसरमा देखाइने नृत्य र गीतले उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरलाई जीवन्त तुल्याउन र परम्परालाई जोगाउन सहयोग पु¥याएको छ । त्यहाँको मौलिक कला, संस्कृतिले जातीय पहिचानलाई सुरक्षित राख्न सहयोग गरेको छ ।

अर्कोतर्फ त्यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा टेवा पु¥याएको छ ।

प्रदेश सभा सदस्य बिष्टले त्यहाँको ल्हो समुदायहरुलाई करिब ५० वर्षअघि केहीले जातीय रुपमा वर्गीकरण गरी बिष्ट र गुरुङ समुदाय भन्ने प्रचलन आएको बताए । उत्तरी तिब्बतको मुस्ताङतर्फको दक्षिणी भूभागलाई ल्होक्षेत्र भन्ने गरिएको हो । राणाकालीन समयका राजा सुरेन्द्रवीरविक्रम शाहको पाला भन्दा अगाडि ल्होछोदिनको भूगोलमा मुस्ताङी राजाको बेग्लै राज्य थियो ।

शाहकै पालामा लोछोदिन क्षेत्र नेपालमा गाभिएको प्रदेश सभा सदस्य बिष्टले प्रष्ट पारे । लोछोदिन बेग्लै राज्य हुदाँ ल्हो समुदायले तिब्बत राज्यसँग खुला व्यापार गर्थे । उनले उनीहरुको त्यस समयमा आपसी सम्बन्ध समेत राम्रो रहेको बताए ।

तपाईको प्रतिक्रिया