पोखराको आकाशमा आज दिनभर बादल

समाधान संवाददाता २०७७ पुष २० गते २०:२६

समाधान संवाददाता, पोखरा

दिनभर घाम नलागेपछि सोमबार पोखरामा चिसो महसुस भएको छ । तापक्रम सामान्य रहे पनि घाम नलाग्दा सोमबार चिसो अनुभव भएको हो ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार सोमबारको सबैभन्दा कम तापक्रम ११ डिग्री सेल्सियस थियो । अत्यधिक तापक्रम १७ डिग्री सेल्सियस रहेको कार्यालयले जनाएको छ ।

Advertisement

‘तापक्रम साह्रै कम होइन । घाम नलागेकाले त्यस्तो महसुस भएको हुन सक्छ,’ कार्यालयका मौसम विज्ञान सहायक सरोज अधिकारीले भने । बुधबारसम्म मौसम केही प्रभावित हुने देखिएको उनले बताए ।

बुधबारको मौसमले हवाई उडानमा भने कुनै प्रभाव नपारेको पोखरा विमानस्थल प्रमुख भोला गुरागाइँले जानकारी दिए ।सोमबार काठमाडौंका १२, भैरहवा र भरतपुरका १/१ उडान भएका छन् । जहाजको उडानमा कुनै प्रभाव नपरे पनि अल्ट्रलाइट उडान भने नभएको प्रमुख गुरागाइँले जानकारी दिए ।

Advertisement

मंगलबार पनि मौसम सोमबारको जस्तै रहने मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ । विभागले गण्डकी प्रदेशका केही स्थानमा मंगलबार हल्का वर्षा र बुधबार हिमपातको सम्भावना रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया