फुर्सद, निरासा र रक्सीले बढाउँदै छ आत्महत्या

समाधान संवाददाता २०७७ माघ १० गते १२:१८

अनिष भट्टराई, समाधान, पोखरा ।

झापाकी अस्मिता श्रेष्ठ (परिवर्तित नाम) वैदेशिक रोजगारीका लागि २ वर्ष अगाडि दुवई पुगिन् । दुवईमा उनको भेट पोखराका एक युवकसँग भयो । सँगै काम गर्ने क्रममा उनीहरुबीच माया बढ्यो । दुवै जनाले नेपाल फर्कने निधो गरे । घरमा भनेर विवाह गरेपछि उनीहरुको जीवन राम्रै चल्दै थियो । उनीहरु खुसी देखिन्थे, कम्तीमा अरुका अगाडि । तर अस्मिता भित्रभित्र कुँडिदै थिइन् ।

समाजमा खुसी देखिने अस्मिताका घरमा ४ सदस्य थिए । श्रीमान् भने वैदेशिक रोजगारीमै छन् । दिउँसोसम्म सासुससुरा र जेठाजु र दिदीसँग बसेकी उनी कोठामा गइन् । दिदीले बाहिरबाट निरन्तर बोलाउँदा ४ बजे पनि कोठाबाट ननिस्किएपछि झ्यालबाट हेर्दा उनी झुन्डिएको अवस्थामा भेटिइन् । अरुका अगाडि हाँसीखुसी रहेकी २३ वर्षीया अस्मिताले साउन २५ गते आत्महत्या गरिन् ।

Advertisement

उनले आत्महत्याको बाटो रोज्नु अगाडि सुसाइड नोट लेखेकी छन् । उनको नोटमा भनिए अनुसार उनी आफ्नो सम्बन्धसँग खुसी थिइनन् । आफूले लिएको लक्ष्य पूरा गर्न नसकेको हिनताबोध उनमा थियो ।

‘डियर प्यारेन्टस्, मेरो भविष्यप्रति चिन्ता नगर्नु, म अर्कोपटक सफल हुनेछु,’ उनले लेखेकी छन्, ‘कुनै सम्बन्धका लागि नरुनु, किन कि उनीहरु त्यो आँसुका लागि पनि हुँदैनन् । कुनै सम्बन्धमा बढी विश्वास नगर्नु किन कि हामी सधैं एक्लै हिँड्नुपर्छ ।’ अस्मिताको सुसाइड नोटमा सम्बन्ध र घरप्रति यस्तै ‘डिप्रेस्ड इंग्लिस फ्रेज’ प्रयोग भएका छन् ।

Advertisement

अस्मिता आत्महत्याको बाटोमा सवार गरेको २ दिन अगाडि मादीकी ४५ वर्षीया महिलाले त्यही बाटो रोजेकी थिइन् । पोखरा मादी गाउँपालिकाकी सबनम तिवारी (परिवर्तित नाम)ले गाउँकै एक जनालाई २ लाख ऋण दिइन् । ती पुरुषसँग सम्बन्ध रहेको भन्दै हल्लाखल्ला पनि हुन थाल्यो । ती हल्लाले पक्कै पनि उनको मनमा चिसो पसेको हुँदो हो । तबत उनले २३ साउनमा आत्महत्याको बाटो रोजिन् । घरमै झुन्डिनु अगाडि उनले एक पत्र लेखेकी थिइन् । पत्रमा भनिएको छ, ‘मैले लिन भएको २ लाख पनि फिर्ता दिएनन्, अझै घरकाले नै मोटरसाइकलमा हिँडी भन्छन् । देखेर बोल्नु नि । कहाँ हिँडेकी थिएँ म ? पुलिस उनीहरुलाई समाउनु है ।’

कास्कीमा चालु आर्थिक वर्षमा मात्र ५६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढी २१ जना १६–३० वर्ष उमेर समूहका हुन् । ४६ वर्षमाथिका १९ जनाले आत्महत्या गरेका छन् भने ३१–४५ उमेर समूहका १५ र १५ वर्षमुनिका १ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा आत्महत्या सम्बन्धी विवरणः
सि.न. विवरण उमेर समूह (१–१५) उमेर समूह (१६–३०) उमेर समूह (३१–४५) उमेर समूह (४६ माथि)
१ विष सेवन गरी आत्महत्या २ ५ १
२ झुन्डिई आत्महत्या १ १९ ८ १६
३ हामफालेर आत्महत्या २ २
जम्मा १ २१ १५ १९

चालु आर्थिक वर्षको आधा समय कट्दा ५६ ले आत्महत्या गरेका छन् । यही दर कायम रहने हो भने यो संख्या ११२ पुग्छ । कास्कीमा आत्महत्याको दर डरलाग्दो देखिन्छ । साढे ३ आर्थिक वर्षमा मात्रै ४ सय ८ जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ११२, २०७५÷७६ ले १३८ र २०७४÷७५ मा १०२ जनाले आत्महत्या गरेका थिए ।

किन बढ्दैछ आत्महत्या ?
कोरोना महामारीले मानिसलाई फुर्सदिलो बनायो र सँगसँगै चरम असन्तुष्टि र बढाइदियो । मानसिक रोग विशेषज्ञ निर्मल लामिछानेले यस अवस्थामा मानिसहरुमा रहेको असन्तुष्टिका कारण आत्महत्याको घटना बढेको हुन सक्ने बताउँछन् । पहिलेपहिले आत्महत्या गर्नेमध्ये ९८ प्रतिशतले मानसिक समस्याका कारण गर्ने गरेपनि अहिले कोभिडका कारण पनि आत्महत्या बढेको हुनसक्ने उनको टिप्पणी छ । ‘पहिला अराउन्ड ९८ प्रतिशतले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको तथ्यांक छ, अहिले प्यान्डेमिकले बढाएको हो,’ लामिछानेले भने ।

सम्बन्ध, आर्थिक लेनदेन तथा पारिवारिक झगडाका कारण मानिसहरुले आत्महत्या गर्ने गरेको उनले बताए । मादक पदार्थको बढ्दो प्रयोग पनि आत्महत्याको कारक बनेको उनको टिप्पणी छ । मानसिक समस्यामा रहेकाहरु धेरै कुरा नखोल्ने र एक्लै बस्दा आत्महत्याबारे धेरै सोच्ने गरेको उनको बुझाइ छ । ‘अहिले चिया नपाउने ठाउँमा बियर पाउँछ, मादक पदार्थको प्रयोगले उनीहरुलाई एकछिनलाई साथ दिन्छ र उनीहरु आत्महत्या गर्छन्,’ लामिछानेले भने ।

विषादीमा सबैको पहुँचले पनि आत्महत्या वृद्धिमा साथ दिएको उनको ठम्याइ छ । अहिले धेरै जनाले विषादीको प्रयोग गरेर आत्महत्या गरेको बेलामा विषादीको विक्री वितरणलाई रोक्नुपर्ने लामिछानेको भनाइ छ । नेपालका सरकारी अस्पतालमा ‘सुसाइड हेल्पलाइन’ नभएकाले मानसिक रोगीहरुले राम्रो परामर्श नपाएको उनले जनाए । ‘निजी अस्पतालमा त हुन्छन्, तर सरकारी अस्पतालमा नहुँदा उनीहरु आफ्नो समस्या सुनाउन सक्दैनन्, सुसाइड हेल्पलाइन खोल्न सके मानसिक परामर्श गर्न सकिन्छ,’ लामिछानेले भने ।

तपाईको प्रतिक्रिया