आहा रारा गोल्डकप चैतमा

समाधान संवाददाता २०७७ माघ १७ गते २१:२७

अनुप पौडेल, पोखरा

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप चैतमा हुने भएको छ । १९ औं संस्करणको प्रतियोगिता चैत १७ देखि २८ गतेसम्म हुने भएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नारा लिएर सहारा क्लब पोखराले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Advertisement

प्रतियोगितामा १२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको पुरस्कार राशि घोषणा गरिएको छैन । आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार पुरस्कार राशिपछि घोषणा गरिनेछ ।

कोभिड महामारीका कारण यस संस्करणमा लगभग ८ हजार समर्थकले मात्र खेल हेर्न पाउनेछन् । १६ हजार ५ सय सिटको प्यारापिटमा आधा समर्थकमात्र राखेर खेल आयोजना गर्न खेलकुद मन्त्रालयले पत्राचार गरेको महासचिव अधिकारीले बताए । ‘मन्त्रालयले आधा समर्थक राखेर खेल गर्न भनेको छ, त्यसैअनुरुप हामी प्रतियोगिता गर्छौं,’ अधिकारीले भने ।

Advertisement

पोखरा महानगरको संयोजन र हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको प्रायोजनमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १ करोड ३० लाख १ हजार रुपैयाँ आम्दानी हुने र १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

बचत रकम भने सहारा क्लबले चलाएको सहारा एकेडेमीमा खर्च गरिने क्लबका अध्यक्ष केशव थापाले बताए । हाल एकेडेमीमा २४ बालक आश्रित छन् ।

२०५५ सालमा स्थापित सहारा क्लब पोखराले यस संस्करणमा ‘सप्राइज टोली’ ल्याउने जनाएको छ । अहिले केही विदेशी क्लबसँग छलफल भइरहेपनि कुनकुन टोली आउने पक्का नभएका बेला ‘सप्राइज टोली’ ल्याउन सकिने क्लबका अध्यक्ष थापाले बताए ।

कोभिडपछि बन्द मोफसलका प्रतियोगितामध्ये सुरुमा आहा रारा गोल्डकप हुनेछ । राष्ट्रिय फुटबल टोलील बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्नुबाहेक पुरुषका अन्य प्रतियोगिता हुन सकेका छैनन् । महिलाको भने अहिले राष्ट्रिय महिला लिग चलिरहेको छ ।

१८ औं संस्करणको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो ।

फाइनल खेलमा टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सर्वाधिक छैटौंपटक मनाङले उपाधि आफ्नो पोल्टामा पारेको थियो । पेनाल्टी सुटआउटमा पुलिसलाई ४–३ ले पराजित गर्दै मनाङले उपाधि जितेको थियो ।

फागुन २२ देखि चैत १ सम्म सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।

तपाईको प्रतिक्रिया