खुट्टा चल्दैनन्, हातकै भरमा कुदाउँछन् ३८९१

समाधान संवाददाता २०७७ माघ २१ गते १७:३१

अनुप पौडेल, पोखरा

खुट्टा चल्दैन । हिँड्डुल गर्न ‘वाकर’ चाहिन्छ । खुट्टाले काम नगरे पनि बागलुङका गंगाबहादुर खड्का कार चलाएर हिँड्छन् ।

झट्ट सुन्दा खुट्टा नचल्ने मान्छेले कसरी कार चलाउँछ भन्ने लाग्न सक्छ । तर, हो पोखरा १५ प्रतिभामार्ग बस्ने ५९ वर्षीय खड्का ग३च ३८९१ नम्बरको कार मज्जाले कुदाउँछन् ।खुट्टाले दबाइने क्लच, ब्रेक र एक्सिलिरेटर उनी हातले चलाउँछन् ।

Advertisement

क्लच, ब्रेक रएक्सिलिरेटर हातले नै चलाउन मिल्ने ‘एडेप्टिभ किट’ जडान गरेर गत २८ मंसिरदेखि उनले कार चलाउँदै आएका छन् । खड्काका अनुसार यो धेरै ठूलो र गाडीलाई असर गर्ने प्रविधि होइन ।

‘खुट्टाले थिच्ने ठाउँमा हात प्रयोग गर्ने हो । उकालो ठाउँमा जानुपर्नेबेला गियर बदल्दा कहिलेकाहीँ समस्या हुन्छ । त्यसमा ध्यान दिए अरु समस्या छैन,’ उनले सुनाए । खड्काले चलाउने कारमा २ वटा ह्यान्डल छन् । एउटाले ब्रेक र एसिलिरेटर अनि अर्कोले क्लचको काम गर्छ ।

Advertisement

गाडीमा जडान गरेको यो प्रविधि उनले भारतबाट मगाएका हुन् । यसरी कार चलाउन सकिन्छ भन्ने जानकारी भने आफ्नैजस्तो समस्या भएका एक भारतीयबाट लिएका हुन् ।

भारत अहेमदावादका समीर कक्कडले पोहोर पुसमा युट्युबमा हालेको भिडिओबाट खड्काले ‘एडेप्टिभ किट’ जोडेर कार चलाउन सकिन्छ भन्ने थाहा पाए । त्यसपछि भिडिओ बनाउने समीर कक्कडलाई युट्युबको ‘डिस्क्रिप्सन’ मा दिएको नम्बरमा फोन गरे ।

‘एउटा अटोमेटिक र अर्को म्यानुअल किट हुँदोरहेछ । अटोमेटिक किट जोड्न कोरोनाले मिस्त्री आउन नसक्ने भए । त्यसपछि मैले म्यानुअल किट पठाइदिन भनेँ,’ खड्काले प्रविधिबारे जानकारी सुनाए । २७ हजार रुपैयाँ कक्कडलाई पठाएर पोखरामै म्यानुअल किट जडान गर्ने निधो गरे । कक्कडलाई पैसा पठाइदिएको १० दिनमै किट कुरियरबाट पोखरा आइपुग्यो ।

पोखराकै सोरुमबाट २८ लाख रुपैयाँमा सुजुकी कार झिके । प्रविधि पनि त्यहीँका इन्जिनियरलाई जोड्दिन भने । तर इन्जिनियरले आनाकानी गरे । उनीहरुको जवाफ थियो, ‘यसरी राख्दा गाडीको वारेन्टी÷ग्यारेन्टीमा समस्या हुन्छ ।’ खड्काले आफूलाई वारेन्टी÷ग्यारेन्टीको सुविधा चाहिन्न भनेपछि बल्ल उनीहरु तयार भए ।

‘तिहारको तीन दिनपछि गाडी लिन सोरुम गएँ । कतिबेला चलाउँलाजस्तो भएको थियो । पहिलो दिन त अहिले बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलतिर गएँ,’ खड्काले उत्सुक हुँदै सुनाए ।

उनले यसरी गाडी चलाइरहेको थाहा पाएपछि अरु जिल्लाबाट फोन आउन थालेको छ । कार चलाउनुअघि उनी अपांगतामैत्री स्कुटरमा गुड्थे । कार चलाउन त उनलाई भारतमा छँदै आउँथ्यो । त्यो कहालीलाग्दो दिनपछि भने चलाउन पाएका थिएनन् ।


उनी पूर्व भारतीय सैनिक हुन् । २०५२ सालमा छुट्टीमा घर आएका थिए । त्यहीबेला रुखबाट लडेर घाइते भए । मेरुदण्डमा चोट प¥यो । कम्मरभन्दा मुनिका अंगसँग स्नायुको सम्बन्धटुट्यो ।

खुट्टाले भर दिन छाडे । गंगाबहादुरले हुँदाखाँदाको भारतीय आर्मीको जागिर त्यही कारण छोड्नुप¥यो । १६ वर्ष बिताएका उनले शारीरिक समस्यापछि अवकास पाए ।

२०५२ साल पुष १९ गतेको त्यही घटनालेसाढे २ वर्ष अस्पतालको बेडमा बसे । २०५४ सालमा उपचार गरेर फर्किएपछि उनले हार मानेनन्, बरु संघर्ष गर्न बागलुङको सिँगाना गाउँबाट पोखरा झरे । पोखरामा जग्गा खोजेर घर बनाए ।

केही गर्नुपर्छ भनेर पोखरामै किराना पसल खोले ।भारतीय आर्मीमा हुँदा राम्रै कमाएका उनलाई आर्थिक समस्याले भने सताएन । अहिले उनीपोखरामा श्रीमती र नातिनातिनीसहित बस्छन् । जेठो छोराबुहारी जापान र कान्छो अमेरिका छन् । २०५८ सालदेखि उनी अपांगता भएकाहरुको विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्दै आएका छन् ।

नेपालमा उनीजस्ता सीमित व्यक्ति छन् जो अपांग भएर पनि गाडी कुदाउँछन् । सरकारले अपांगता भएकाहरुलाई स्कुटर चलाउन पाउने कानुनी व्यवस्था गरेको छ । तर अपांगता भएकाहरुलाई कार चलाउने लाइसेन्सको व्यवस्था छैन ।

३ दिन पहिला खड्कासहित अपांगता भएकाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर लाइसेन्स बनाउन पाउने कानुनी व्यवस्था गरिदिन माग राखे । मुख्यमन्त्रीले आफूले कानुनी व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता गरेको खड्काले सुनाए ।

उनीसँग पनि अहिले लाइसेन्स छैन । त्यसैले कार लिएर बाहिर हिँड्न पाएका छैनन् । ‘लाइसेन्स भए मजस्ता अरुले रोजगारीको राम्रो अवसर पाउँथे । मैले आफूलाई सहज हुन्छ भन्नेबाहेक अरुलाई हौसला मिल्छ भनेर पनि गाडी किनेको हो,’ खड्काले सुनाए ।

जीवनमा भाग्यमा लेखेको कुरा हुने भन्दै उनी अपांगता हुँदैमा नआत्तिन सुझाव दिन्छन् । ‘उमेरमा कमाएको भएर अहिले पैसाको समस्या पो छैन । खुट्टा नचल्दा आफ्नै पीडा छ । यो सबै भाग्यको कुरा रहेछ,’ खड्का भन्छन्, ‘इमान्दार भएर बाँच्नुपर्छ, हातखुट्टा चलेन भनेर आत्तिन हुन्न । अरुले जस्तै काम हामीले पनि गर्न सकिन्छ नि !’

तपाईको प्रतिक्रिया