‘अश्वमेध यज्ञको घोडा अस्थिरता बोकेर आयो’

समाधान संवाददाता २०७७ माघ २३ गते ९:०३

समाधान संवाददाता, पोखरा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार पर्वत जाने कार्यक्रम थियो । म्याग्दीको दानादेखि पर्वतको खुर्काेटसम्म निर्माण पूरा भएको विद्युत प्रसारण लाइन उद्घाटनका लागि जाने कार्यक्रम बुधबार अचानक उनले रद्द गरे ।

किन ? यसको रहस्य भने गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खोले । ‘पर्वत जान लाग्नुभएको रहेछ, त्यहाँ प्रधानमन्त्री नै आउनुहुन्छ भने पनि तपाईं प्रदेश सभामा आउनोस् भनेर बोलाएँ,’ अधिकारीले भने ।

Advertisement

गण्डकी प्रदेश सभाको तेस्रो वार्षिकोत्सव बिहीबार मनाउने कार्यक्रममा सभामुखले मुख्यमन्त्रीलाई डाकेका थिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि केन्द्रमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री केपी ओलीबीच वैमनश्य बढ्दा गण्डकीमा त्यसको छायाँ बिहीबार देखिएन ।

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र सपथका लागि बुधबार सभामुख अग्नि सापकोटा र उपराष्ट्रपति उपस्थित थिएनन् ।

Advertisement

गण्डकीमा प्रदेश सभाको तेस्रो वार्षिकोत्सवका लागि सभामुखले डाक्दा मुख्यमन्त्री पुगे । फेरि मुख्यमन्त्रीले आफ्नो मन्त्रिपरिषद सदस्य आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानलाई आफैंले फोन गरेर बोलाए ।

गण्डकी सभामुख अधिकारी साविक माओवादी केन्द्रबाट निर्वाचित हुन्, मुख्यमन्त्रीचाहिँ साविक एमाले र आन्तरिक मामिला मन्त्री चुमान पनि माओवादी केन्द्र । पार्टी विभाजनपछि अधिकारी र चुमानको समर्थन नेकपाको दाहाल नेपालतिर र मुख्यमन्त्रीको ओलीतिर छ ।

झिनो उपस्थितिबीच गण्डकी प्रदेश सभाको तेस्रो वार्षिकोत्सव बिहीबार भयो, अरु कार्यक्रममा जस्तो दल र नेताबीच आरोप प्रत्यारोप पनि भएन । बरु प्रतिपक्ष दलका सांसदहरुले पनि संघीयता बलियो बनाउनुपर्नेमा मुख्यमन्त्रीसँग मतो मिलाए । वार्षिकोत्सव कार्यक्रममा ३ मन्त्री, सभामुख, उपसभामुखसहित १३ सांसद उपस्थित थिए ।

मुख्यमन्त्री गुरुङले संघीयतामा सांसदकै ज्ञान कम देखिएको सुनाए । उनले भने, ‘सांसदहरुले नै अझै संघीयता बुझ्न सकेनन्, यत्रो समय भयो उहाँहरुको बुझाइ नै मैले सुनेको छैन ।’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल र सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले केन्द्र सरकारले प्रदेशलाई बलियो बनाउन नचाहेको विचार राखे । आगामी दिनमा केन्द्र सरकारकै कारण प्रदेश सभा नै भंग हुन सक्ने नेपालीको भनाइ थियो ।

केन्द्रले प्रदेशलाई प्रहरी, प्रशासनका अधिकार नदिँदा प्रदेश सरकार टुलुटुलु हेरेर बस्न बाध्य भएको उनको टिप्पणी थियो । कांग्रेस सांसद कुमार खड्काले अश्वमेध यज्ञको घोडा अस्थिरता बोकेर विजयपुरसम्म आइपुगेको र त्यही घोडाले आफूलाई अन्तिम प्रदेश सभा सदस्य बनाउने डर लागेको बताए ।

‘पहिलो प्रदेश सभा सदस्य बन्दा गमक्क थियौं, तर अश्वमेध यज्ञको घोडा अस्थिरता बोकेर आयो, अन्तिम बनिने पनि चिन्ता छ,’ उनले भने ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा नियमावली अनुसार प्रदेश सभा चल्ने र देश संविधान अनुसार चल्नुपर्ने बताए । संविधानबाट बाहिर गए अराजकता बढ्ने र सो बेला जनताले विद्रोह गर्न पाउने अधिकार रोक्न नसकिने उनले सुनाए ।

कार्यक्रममा उपस्थित सांसद गन्दै मुख्यमन्त्रीले भने, ‘आज पनि धेरै सांसद हुनुहुन्न, संघीयता सरकारको मात्र होइन, साझा सवाल हो ।’ बिहीबार नेकपा प्रचण्ड–माधव समूहले आमहड्ताल आह्वान गर्दा प्रचण्ड–माधव समूहका सांसद अनुपस्थित थिए ।

नेकपा ओली समूहका केही नेताहरु शुक्रबार प्रधानमन्त्री ओलीले राखेको आमसभाका लागि काठमाडौं जानाले प्रदेश सभाको कार्यक्रममा आएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २ सांसद कार्यक्रममा सहभागी भए । प्रतिपक्षी दल जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदको उपस्थिति थिएन ।

जनतामा संसदप्रतिको विश्वास जगाउन सांसदहरुलाई नै लाग्न मुख्यमन्त्री गुरुङले आग्रह गरे । केन्द्र सरकारले संघीयतालाई मजबुत नबनाए पनि प्रदेशका सांसदहरुले संघीयताको सबलीकरणमा लाग्नुपर्ने उनले बताए ।

सरकारमा स्थिरता भन्दा पनि देशको सिस्टममा स्थिरता आवश्यक रहेको मुख्यमन्त्री गुरुङले बताए । ‘७० वर्ष लडिसक्यौं, अब लड्ने होइन काम गर्ने बेला हो, ब्युरोक्रेसीलाई सुधार्नु पनि पर्छ,’ उनले भने ।

प्रदेश सभाको केबल तेस्रो वार्षिकोत्सव मात्र नभई पाँचौं वार्षिकोत्सव पनि मनाइने मुख्यमन्त्री गुरुङले बताए । अहिले केही सांसदमा निराशा छाए पनि प्रदेश रहिरहने र ५ वर्ष पुगेपछि प्रदेश सभाका लागि नयाँ निर्वाचन हुने उनले बताए ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सभालाई जुहारी खेल्ने ठाउँ नभई जनताका मुद्दा उठाउने थलो बनाएमात्र गण्डकी प्रदेश सर्वोत्कृष्ट बन्न सक्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेश सभामा सच्च्याउनुपर्ने केही विषय रहेको बताए । बजेट अधिवेशनमा सांसदहरुले ‘तात्तातो’ बहस गरे पनि विधेयक बनाउने बेला छलफलमा धेरै भाग नलिएको सुनाए ।

गण्डकीमा आफूहरुले सरकार ढाल्ने खेल नखेल्ने र सहकार्यमै अघि बढ्ने उनको भनाइ थियो । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसदीय शासन प्रणालीमा चलेको नेपालमा संसदीय प्रणालीलाई नै संस्थागत गरेर बढ्नुपर्ने बताए ।

उपसभामुख सिर्जना शर्माले संसद विघटन संवैधानिक/असंवैधानिक भन्नुभन्दा पनि प्रदेश सभाले आफ्नो काम गरिरहनुपर्ने बताइन् । प्रदेश सभाको वार्षिकोत्सवमा प्रदेश सभा सचिव हरिराज पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

नेकपा सांसद महेन्द्र थकालीले शुभकामना मन्तव्य राखे । प्रदेश सभा सचिवालयकी कानुन अधिकृत सिर्जना आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया