बाँध मर्मत गर्न फेवातालको पानी घटाइयो

समाधान संवाददाता २०७७ माघ २४ गते २१:४०

समाधान संवाददाता, पोखरा

बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाइएको छ । फेवातालको पानीको बहाब नियन्त्रण गर्न ४३ वर्ष पहिला बनाइएको बाँध मर्मत गर्न तालको पानीको सतह २ मिटर घटाइएको हो ।

पानीको बहाब नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए ।

Advertisement

‘बाँध बनेदेखि नै यसरी मर्मत गरिएको थिएन । यसले बाँधको आयु बढ्छ,’ उनले भने, ‘चौबिस घन्टामा एक मिटर घट्छ । अब भोलि बिहान एकपटक हेर्छौं ।’ तालको दक्षिणी भागमा रहेको बाँध मर्मत गर्न दुई करोडमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको छ । यो रकमले बाँध र सिँचाइ नहर मर्मत गरिने इन्जिनियर आचार्यले बताए ।

तालको पानी घटाइएपछि शनिबार दिउँसोदेखि किनारको भाग हिलाम्मे भएको छ । मर्मत गर्न एक महिना समय लाग्ने इन्जिनियर आचार्यले बताए । फेवा किनारमा राखिँदै आएका डुंगा पनि किनारभन्दा पर सारिएको छ ।

Advertisement

तालको पानी घटाइएपछि तालबाराही मन्दिरसम्म आवतजावत गर्न हिलोमा बिछ्याइएका ढुंगा टेकेर जानुपर्ने भएको छ ।

‘पानी घटाइएपछि डुंगालाई थोरै पर सारेका छौं । हिलोमा डुंगा गुड्दैन,’ फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले भने, ‘डुंगा भएसम्म पुग्न किनारबाट ढुंगा राखेका छौं । त्यसमा टेकेर जानुपर्छ ।’

फेवातालमा २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो । त्यसको तीन वर्षपछि बनाइएको बाँध पहिलोपटक ठूलो रकम खर्च गरेर मर्मत गरिने भएको हो ।

तपाईको प्रतिक्रिया