‘गाउँमा गोरु पाल्ने मान्छे छैनन्, कोल चलाउनै नसकिने भयो’

समाधान संवाददाता २०७७ माघ २७ गते ७:००

समाधान संवाददाता, वालिङ

उखु पेलेर खुदो निकाल्ने परम्परागत घरेलु मेसिन कोल प्रयोग गर्ने किसान विस्थापित भइसकेका छन् ।

कृषिमा आधुनिकीकरण र यान्त्रीकरणले फड्को मारेपनि स्याङ्जाको चापाकोट नगरपालिकाका कृषक भने कोलबाट खुदो निकाल्दै छन् ।

Advertisement

यहाँ उत्पादन हुने अमिलोबाट चुक र उखुबाट खुदो पेल्न कोल प्रयोग हुन्छ । तराई क्षेत्रबाट आयात हुने खुदोका कारण यहाँका किसान चिन्तित भएका छन् ।

चापाकोट १० भुमरीघाटका उखु किसान ओमप्रसाद भट्टराई भन्छन्, ‘तराईको खुदोले हामीलाई विस्थापित गरायो ।’

Advertisement

रसायन मिसाएर सस्तोमा तराईको खुदो बेच्ने व्यापारीले गर्दा अर्गानिक खुदोले बजार नपाएको उनको दाबी छ । भट्टराई भन्छन्, ‘गाउँघरमा गोरु पाल्ने कृषक पनि हराउन थालेका छन् । अब त कोलको प्रयोग गर्न पनि नसकिने भइयो ।’

परम्परागत तरिकाले खुदो निकाल्दा लागत र समय धेरै लाग्ने भएका कारण घाटा हुने भएपछि उखु खेती गर्ने व्यवसायिक कृषकको संख्या घट्दै गएको छ । कुनै बेला कोल निकै लोकप्रिय थियो ।

चापकोट १० का उखु कृषक यामकान्त भुसाल भन्छन्, ‘त्यो बेलामा कोलमा पेलेको तोरीको तेल, चुक र उखुको खुदो कति शुद्ध हुन्थ्यो । अहिले त कोल पनि विस्थापित भए, शुद्ध सामान कहाँ पाउनु ?’

कोललाई व्यवसायिक र मर्यादित बनाउन चापाकोट नगरपालिकाले विशेष कार्यक्रम लागु गर्ने उपप्रमुख बिमला श्रेष्ठले प्रतिवद्धता गरिन् । उनी भन्छिन्, ‘अझै पनि परम्परागत ढंगले व्यवसाय गरेका उखु कृषकलाई आधुनिक यन्त्रसँग जोड्न मेसिनको व्यवस्था गर्छाैं ।’

तपाईको प्रतिक्रिया