गण्डकीलाई एपिएफविरुद्ध जित्नैपर्ने दबाब

समाधान संवाददाता २०७७ माघ २९ गते १९:२१

महिलातर्फ आर्मी बाहिरियो, न्यु डायमन्ड र एपीएफबीच गर या मरको खेल

समाधान संवाददाता, पोखरा

प्रथम टाइगर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपमा महिलातर्फको प्रतिस्पर्धामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।

Advertisement

पुलिस फाइनलमा प्रवेश गर्दा अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बिहीबार भएको खेलमा न्यु डायमन्ड एकेडेमीसँग हार व्यहोरेको पुलिसले लिग चरणमा ६ अंक बटुल्न सक्यो । उता आर्मी भने आफ्नो ३ वटै खेलमा पराजित भयो ।

Advertisement

पराजित भएका ३ मध्ये २ खेल पाँचांै सेटमा गुमाएकाले आर्मीले लिग चरणमा २ अंक जोड्न सक्यो । यसअघि आर्मीको महिला टिम न्यु डायमन्ड र नेपाल पुलिससँग पराजित भएको थियो ।

फाइनल पुगिसेकेको पुलिसलाई हार चखाएको न्यु डायमन्डले फाइनल यात्रा भने अझै तय गर्न सकेको छैन । आफ्नो २ खेलमा ५ अंक जोडेको डायमन्डका लागि शुक्रबारको एपिएफसँगको खेल गर या मरको रहने छ ।

यद्यपि उसले यो खेल पाँचौं सेटसम्म तान्न सकेर पराजित भए पनि फाइनलको यात्रा तय गर्नेछ । सशस्त्रको एपिएफलाई भने फाइनलको यात्रा तय गर्ने हो भने ४ सेटभित्रै खेल परिणाम आफ्नो पक्षमा पार्नुपर्नेछ ।

शुक्रबारको खेलमा सशस्त्रको टोली दबाबमा हुनेछ । फाइनल पुग्न उसले डायमन्डलाई ३–१ वा ३–० को सोझो सेटमा हराउनुपर्नेछ । ३–२ को सेटमा खेल जितेपनि सशस्त्रको फाइनल यात्रामा पूर्णविराम लाग्नेछ । पहिलो २ खेल जितेको डायमन्डलाई केही सहज रहनेछ ।

पुरुषतर्फको प्रतिस्पर्धा भने थप रोचक बनेको छ । लिगचरणमा अहिलेसम्म कुनै पनि टोलीले फाइनल प्रवेश पक्का हुने गरी अंक बटुल्न सकेका छैनन् ।

पुरुषतर्फको अंक तालिकामा पहिलो स्थानमा रहेको नेपाल पुलिसले २ खेलमा ४ अंक जोडेको छ । गण्डकी र त्रिभुवन आर्मी क्लबले समान २ खेलमा ३÷३ अंक बटुल्दा सशस्त्र प्रहरीको एपिएफले भने २ खेलमा २ अंक मात्र बटुल्न सकेको छ ।

शुक्रबार सशस्त्र प्रहरीको एपिएफ र गण्डकी भिड्दा नेपाल पुलिस र त्रिभुवन आर्मी खेल्नेछन् । शुक्रबारका खेल सेमिफाइनल सरह हुनेछन् । पुलिसले आर्मीलाई हराएर गण्डकीले एपिएफलाई हराउन सके पुलिस र गण्डकी फाइनल पुग्नेछन् ।

तर आर्मीले पुलिसलाई कम्तीमा ३–२ को सेटमा हरायो भने आर्मी र पुलिस दुवै फाइनल पुग्ने सम्भावना रहनेछ । गण्डकीले आफ्नो खेलमा एपिएफलाई सोझो सेटमा हराउन सके फाइनल यात्राको सम्भावना मजबुत रहनेछ ।

गण्डकीले एपिएफलाई सोझो सेट वा ३–१ को सेटमा हराए ६ अंकका साथ फाइनल प्रवेश गर्नेछ । ३–२ को सेटमा जितेको खण्डमा गण्डकीको फाइनल यात्रा गणितीय हिसाबमा मात्र बाँकी रहनेछ ।

बिहीबार आर्मीको महिला टोलीलाई प्रतियोगिताबाट बिदा गर्न सशस्त्र प्रहरी बलको एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–१८ ले जितेको आर्मी दोस्रो र तेस्रो सेटमा २५–२७ र १७–२५ ले पराजित हुन पुग्यो । चौंथो सेट आर्मीले २५–२० ले जितेपछि निर्णायक पाँचौं सेटमा एपीएफले आर्मीमाथि १५–७ को प्रभावशाली जित हात पार्दा आर्मी बाहिरिएको हो ।

बिहीबारै भएको महिलातर्फको दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्न सक्यो । बिहीबारको खेल निकै रोमाञ्चक बनेको थियो । न्यु डायमन्डले पहिलो सेटमा २७–२५ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा पुलिसले ३१–२९ को जित निकाल्न सक्यो । तेस्रो सेटमा २७–२५ र चौंथो सेट २५–१६ ले जित्दै न्यु डायमन्डले पुलिसलाई पहिलो हार चखायो ।

पुरुषतर्फ बिहीबार भएको एकमात्र खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बललाई ३–० को सोझो सेटमा हरायो । पोखरा रंगशालामा भएको खेलमा आर्मी एपिएफमाथि हाबी भएको थियो । आर्मीले २५–२३, २५–२१ र २५–१८ को सेटमा एपीएफलाई हराएको हो ।

प्रतियोगिता पोखरा रंगशालामा फागुन १ गतेसम्म चल्नेछ । प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीय हुनेले ७५ हजार तथा तृतीयले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २० हजार पाउने छन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिता गर्न २५ लाख खर्च हुने अनुमान छ । प्रतियोगिताबाट ३० लाख बचत हुने गु्रपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । बचत रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च हुने उनले बताए ।

प्रतियोगितामा पहिलो चरणका खेलका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ । सेमीफाइनलका लागि १ सय ५० रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ कायम गरिएको छ ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया