मन्त्री पुन र सचिव कुँवरलाई कोरोना, मन्त्रालय सुनसान

समाधान संवाददाता २०७७ माघ २९ गते २१:३४

समाधान संवाददता, पोखरा

कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन अहिले आइसोलेसनमा छिन् । मन्त्रालयका सचिव विनोद कुँवर पनि १ हप्तादेखि आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुन र सचिव कुँवर प्रदेश सरकारकै संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवामा छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पुन ८ दिनदेखि आइसोलेसनमा रहेको उनका स्वकीय सचिव प्रकाश पौडेलले जानकारी दिए ।

Advertisement

मन्त्री पुनलाई श्वासप्रश्वासमा बढी समस्या देखिए पनि अहिले स्वास्थ्य सुधारोन्मुख रहेको सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए । सचिव कुँवरलाई भने समस्या छैन ।

मन्त्री पुनलाई २१ माघ र सचिव कुँवरलाई २४ माघमा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

मन्त्री र सचिवलाई नै कोरोना पोजेटिभ देखिएपछि पछिल्लो १ हप्तायता मन्त्रालय सुनसान प्रायः छ । विभिन्न महाशाखामा सीमित कर्मचारीमात्रै उपस्थित छन् ।

मन्त्री पुन र सचिवबाहेक अरु ४ जनालाई पोजेटिभ देखिएको मन्त्रालय स्रोतले बतायो । तर यो विषयमा मन्त्रालयका उच्च अधिकारी, प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा पनि बोल्न तयार छैनन् ।

मन्त्रालयकी सूचना अधिकारी पनि अहिले बिरामी छन् । प्रवक्ता तेजप्रसाद काफ्लेले मन्त्रालयका कति कर्मचारी संक्रमित हुन् भन्ने आफूलाई जानकारी नभएको बताए ।

‘कति साथीलाई देखियो भन्ने मलाई पनि थाहा छैन । हामी पनि कुनै न कुनै काममा उहाँहरुको कार्यकक्षमा पसेका छौं,’ प्रवक्ता काफ्लेले भने, ‘४/५ जना साथीहरु मात्रै काममा जानुभएको छ ।’

निमोनिया नलुकाऔंः डा. गौचन

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले निमोनिया देखिए जतिसक्दो छिटो अस्पताल पुग्न आग्रह गरेका छन् । सुरुआतका दिनमा संक्रमितलाई रुघाखोकी देखिए पनि अहिले निमोनियाका बिरामी बढेको उनले बताए ।

‘१ महिनामा ५० जना बिरामी आउनुभयो । त्यसमा अधिकांशलाई निमोनिया देखियो,’ उनले भने, ‘निमोनिया भइहाले अस्पताल जान सबैलाई आग्रह गर्छु । त्यसलाई लुकाएर बस्नुभएन ।’

तपाईको प्रतिक्रिया