छात्रालाई होटलमा परीक्षा दिलाउने शिक्षक जेल चलान

समाधान संवाददाता २०७७ माघ ३० गते २१:३०

समाधान संवाददाता, पोखरा

विद्यार्थीलाई होटलमा लगेर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका राष्ट्रिय उच्च मावि टुँडिखेलका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत कास्कीको आदेशमा शिक्षक शिरिषकुमार बस्ताकोटी बिहीबार जेल चलान भएका हुन् । परीक्षा अमर्यादित बनाएको आरोप लागेका अरु ३ जना धरौटीमा छुटेका छन् ।

Advertisement

कक्षा ११ की छात्रालाई ऐच्छिक अंग्रेजी विषयको परीक्षा लिन शिक्षक बस्ताकोटीले मंसिर १२ गते रुपाताल किनारको एक होटलमा लगेका थिए ।

परीक्षा होटलको कोठामा लिई बियर र मासु खाएर छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीलाई थियो । उक्त मुद्दामा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बस्ताकोटाीलाई थप अनुसन्धानका लागि कारागारमा राख्ने आदेश गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।

Advertisement

मौका परीक्षा विद्यालयले विद्यालयमै लिनुपर्नेमा शिक्षकले मोटरसाइकलमा राखी छात्रालाई होटल पु¥याएका थिए । उक्त घटना २ महिनापछि सार्वजनिक भएको थियो । प्रहरीले शिक्षक बस्ताकोटीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

शिक्षक बस्ताकोटीले अदालती बयानमा आफूमाथिको आरोप झुठो भएको बयान दिएका थिए । बस्ताकोटीले विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीले ती छात्रालाई जसरी पनि पास गराइदिनुपर्ने भन्दै रेस्टुरेन्टमा लगेर परीक्षा दिने वातावरण बनाउन अह्राएको पनि उनको बयान थियो ।

उक्त परीक्षा अमर्यादित बनाएको आरोप विद्यालयका प्रअ सूर्य तिवारी, शिक्षक घनश्याम रेग्मी र विद्यार्थीलाई समेत थियो । अदालतले परीक्षा अमर्यादित बनाएको अभियोगको मुद्दामा शिक्षक बस्ताकोटी र सहायक केन्द्राध्यक्ष रेग्मीसँग जनही ७५/७५ हजार, प्रअ तिवारीसँग ५० हजार, विद्यार्थीसँग ५० हजार धरौटी मागेको थियो । बस्ताकोटीबाहेक अरु सबैजना धरौटी तिरेर छुटेका छन् ।

अदालतले अहिलेको अवस्थामा परीक्षा अमर्यादित बनाएको मुद्दामा उनीहरु निर्दोष भन्ने नदिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी धरौटी मागेको हो ।

जबरजस्ती मुद्दामा पनि शिक्षक बस्ताकोटीलाई अहिलेका प्रमाणका आधारमा निर्दोष भन्न सकिने अवस्था नभएको हुँदा पछि ठहरे बमोजिम हुने गरी कारागारमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया