वडा कार्यालय भवनबाट लडेर प्रहरी जवानको मृत्यु

समाधान संवाददाता २०७७ फागुन ५ गते १९:२८

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका १८ नम्बर वडा कार्यालयको भवनबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

मंगलबार बिहान १८ नम्बर वडा कार्यालयको भवनबाट लडेर ३२ वर्षीय ठगबहादुर आलेको मृत्यु भएको हो । गोरखाका आले १ वर्ष अघिदेखि पोखरा सराङकोटमा कार्यरत थिए ।

Advertisement

वडा कार्यालय भवनको तेस्रो तलाबाट खस्दा आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

‘हाम्रो भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसेका थिए, मंगलबार बिहान ३ देखि ६ बजेकोबिचमा खसेको हुनसक्छ,’ हमालले भने, ‘सूचना पाएपछि मनिपाल अस्पतालमा लगेका थियौं, अरु अनुसन्धान गरिरहेका छौं ।’

Advertisement

हमालका अनुसार मृतक आलेले मद्यपान गरेका थिएनन् । रातको समयमा निद्राले खसेको हुनसक्ने प्रहरीको आशंका छ ।

भवन अभावका कारण पोखरा १८ वडा कार्यालयको भवनमा प्रहरीहरु राखिएका छन् ।

तपाईको प्रतिक्रिया