बेनी बाहिर पहिलोपटक सडक कालोपत्रे

समाधान संवाददाता २०७७ फागुन ७ गते ११:३३

राकेश शर्मा, म्याग्दी

म्याग्दीमा पहिलोपटक सदरमुकाम बाहिर सडक कालोपत्रे सुरु भएको छ । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारको ससर्त अनुदान १ करोड रुपैयाँ र गाउँपालिकाको १३ लाख रुपैयाँ बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।

Advertisement

म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका स्तरमा कालोपत्रे गर्न सुरु भएको यो पहिलो योजना हो ।

गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

Advertisement

उनका अनुसार बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलव७५ मिटर फराकिलोमा कालोपत्रे गर्ने सम्झौता भएको छ ।

कार्यक्षेत्रमा परिचालित सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रविन सापकोटाले सडकको अधिकांश स्थानमा स्टिमेटभन्दा बढी साढे ४ मिटर फराकिलोसम्म सडक कालोपत्रे गरिएको बताए ।

‘कालोपत्रे काम सुरु भएको छ, आबश्यक उपकरण, निर्माण सामग्री जुटाएर जनशक्ति परिचालन भएको छ, केही दिनमै सबै कालोपत्रे काम सकिन्छ,’ सापकोटाले भने, गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो ।

कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउननिर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेको गाउँपालिकाका इन्जिनियर सुजन पाध्यायले बताए ।

सडक कालोपत्रेसँगै बजार क्षेत्र सफा र चिटिक्क देखिएको छ । कालोपत्रे योजनालाई गुणस्तरीय बनाउनगाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालाहरुले समेत नियमित रुपमा निगरानी गरिरहेका छन् ।

हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य संघ बाबियाचौर इकाईका अध्यक्ष राजु पाण्डेले बताए ।

‘गाउँपालिका स्तरमा जिल्लामै पहिलोपटक सडक कालोपत्रे भएको छ, बिस्तारै ग्रामीण सडकहरु पनि स्तरोन्नति हुँदैछन्, यसका लागि गाउँपालिकाको नेतृत्वले गरेको भूमिकाप्रति आभारी छौं,’ पाण्डेले भने ।

जिल्लामा बेनी बजारबाहेकका ग्रामीण सडक कालोपत्रेको योजना सुरु भएपनि काम सुरु हुन सकेको छैनन् ।

तपाईको प्रतिक्रिया