पोखरामा प्रधानमन्त्री र गृहमन्त्रीले केके भने ?

समाधान संवाददाता २०७७ फागुन १७ गते १९:२५

समाधान संवाददाता, पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपालभित्रै र बाहिरका विभिन्न तत्वले नेकपाविरुद्ध हमला गरेको प्रधानमन्त्री ओलीले बताए ।

Advertisement

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेता कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालका शत्रुले जनताको खुसी हेर्न नसक्दा एकता टुटाउन गम्भीर खेल खेलेको बताए ।

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताका लागि आफ्नो सरकार आएकाले देशका शत्रु र आफ्नो कुण्ठित व्यवहारका अगाडि देशको स्वाधिनता नमान्ने केही व्यक्तिले गर्दा अहिलेको अवस्था आएको उनले बताए । ‘जनताको आकांक्षालाई लिएर हामीले नीति, कार्यक्रम बनाएका छौं, तर देशका शत्रुले प्रहार गरे,’ उनले भने ।

Advertisement

ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् ।

‘सही ढंगले सरकारको नेतृत्व गरेको हुनाले, ममाथि प्रहार भइरहेको छ । अत्यन्त तिव्र प्रहार भएको छ,’ ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला । तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’ उनले दाहाल नेपालले आफूमाथि झुटा आरोप लगाएको पनि बताए ।

पहिला १ वर्षमा १० किलोमिटर बाटो बन्ने गरे पनि अहिले १ दिनमै ५ दशमलव ७ किलोमिटर बाटो बन्ने गरेको प्रधानमन्त्री ओलीले बताए । आइतबार आफूले एकै जिल्लामा ५ पुल शिलान्यास गरेको र ३१ वटा सडक पुल शिलान्यास गरेको भन्दै विकासमा काम अघि बढीरहेको सुनाए ।

आफ्नो सरकार रहेको ३ वर्षमा जनताले देख्ने गरी विकास भएको उनको भनाइ थियो । आफूमाथि निरन्तर अपमान र झुटा लाञ्छना लगाइएको र यो व्यक्तिगत कारण नभई पार्टीगत र सरकार राम्रो भएकाले गरिएको उनको दाबी थियो ।

राजनीतिक सत्कार र लोकतान्त्रिक मूल्यमान्यता नभएकाले आफूमाथि आक्रमण गरेको उनले सुनाए । ‘यत्रो आक्रमण हुँदा पनि हाम्रा कार्यकर्ता डकमगाउनु भएको छैन, उहाँहरुले केन्द्रीय कमिटिमा बहुमत छ भन्नुहुन्छ तर त्यो बहुमत मैले नै दिएको हुँ,’ प्रधानमन्त्री ओलीले भने ।

आफूले बहुमत भन्दा एकतावद्ध भएर जाउँ भन्दा देश र पार्टी विरोधी नेताले आफ्नो धन्दा चलाउन र देश बर्बाद पार्न लागेको बताए । ‘देश विकास गर्ने होइन, जनतालाई खुसी बनाउन हैन, पूर्वाधार विकास गर्ने होइन, कम्फर्टेबल सरकार बनाउन लाग्नुभो,’ उनले भने ।

दाहाल–नेपाल समूहले भनेको केन्द्रीय कमिटी आफैंले बनाएको र त्यो कमिटीको कसैको पद नचलाइदिएको उनको भनाइ थियो । ‘माइतिघर मण्डलामा बसेर आफैं अध्यक्ष भन्ने, आफैं अबिर लाउने, आफैं लड्डु खाने बस्ने,’ उनले भने, ‘विधि पद्धति प्रक्रिया भन्दै गरे पनि अध्यक्ष, दलको नेता छान्ने, पार्टी फोडेर हिँड्ने रहेछ विधि पद्धति प्रक्रिया ।’

आफूइतर नेताले भनेको बहुमत साबित गर्न प्रधानमन्त्री ओलीले चुनौती दिए । ‘विधिवत् दलको नेता फेर्नुस् न, कार्की व्याङ्केटमा बसेर बहुमत सावित हुन्छ रु बहुमत सावित गर्नुस्,’ उनले भने । अब सरकार परिवर्तन भए पनि आफूहरु डेढ वर्ष प्रतिपक्षमा बसेर पुनः दुईतिहाइ बहुमत लिएर फर्कने उनको दाबी थियो ।

अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले पार्टीमै भए पनि प्रचण्डलाई उकासेर हटाएको उनको भनाइ थियो । ‘प्रधामन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने त रैनछ विधि पद्धतिले गलत्याएर हटाउनु पर्छ भन्ने रैछ,’ ओलीले भने, ‘सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव राखेर हटाउनुस्, बलियो छु भन्ने लाग्छ भने प्रधानमन्त्रीसँग कुस्ती जसले जित्छ त्यसैलाई प्रधानमन्त्री बनाउँ न’

प्रधानमन्त्री ओलीले नेकपाको बहुमत केन्द्रीय सदस्य दाहाल(नेपाललाई आफूले नै दिएको बताएका छन् । उनले आफूले दिएको बहुमत चाहेमा हटाउन सक्ने बताए ।

‘उनीहरुले भनिरहेका छन् । हामीसँग केन्द्रीय कमिटीको बहुमत छ । मैले नै दिएको बहुमत हो । पार्टी एकताका लागि, देश बनाउनको लागि दिएको । कुनै चुनावबाट आएको हो र त्यो ?’ उनले भने ।

उनले आफूले चाहे दाहाल(नेपाललाई कारबाही गरेर हटाउन सक्ने पनि बताए ।

‘यो देश बनाउने, विकास गर्ने सरकार, जनताको सेवा गर्ने सरकार होइन । कसैका लागि कम्फरटेबल सरकार बनाउने । उहाँहरूको त्यो रहेछ,’ उनले भने, ‘जुन हातले नाम लेखेको हो त्यो हातले काट्न सक्छ । नियुक्ति दिनेले फिर्ता गर्न सक्छ । मैले बहुमत राख्‍न सक्थेँ । म त अध्यक्ष नै थिएँ ।’

उनले पुष्पकमल दाहाललाई व्यंग्य गर्दै कम्फरटेबल सरकार बनाउने धन्दा सुरु गरेको पनि बताए । ‘एकीकरण सक्ने वित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरु गर्नु भयो । पार्टी कब्जा गर्ने, देशमा कम्फर्टेबल सरकार बनाइदिने,’ उनले भने ।

ओलीले दाहाल–नेपाल अहिले प्रधानमन्त्री खोज्दै हिँडिरहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहाल–नेपालप्रति कटाक्ष गरेका हुन् ।

‘कहिले गाउँछन् दिए खान्थेँ मायाको दाहिने हातले । दिए खान्थेँ भनेको छ । त्यसको विधि प्रक्रिया छ । संविधान छ , नियम छ कानुन छ । यदी उहाँहरु अपराध नै गर्न सफल हुनु भयो भने । हामी मानौँला । हामी प्रतिपक्षी भएर बसौँला,’ उनले भने, ‘दुई वर्षपछि दुई तिहाई लिएर आउँला । सुखी नेपाली समृद्ध नेपाल बनाउन हामी दुई तिहाइका साथ आउँछौँ । अघिल्लो पटक पनि मलाई प्रधानमन्त्री बाट हटाएको होइन । यिनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । ’

प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेसँगै देशले विकासमा फड्को मारेको दाबी गरेका छन् । ओलीले आफ्नो नेतृत्वको सरकारले विकासमा छलाङ मारेको दाबी गरेका हुन् ।

‘हामी शिक्षा, स्वास्थ्य, सेवाको क्षेत्र, पर्यटनको क्षेत्र विकास गर्छौँ भन्दै जाने होलानी विकास भनेर छोड्दै जाने होइन । प्रयासमा जुटेका छौँ,’ उनले भने, ‘पूर्वाधारका सन्दर्भमा पुलपुलेसा, दुर्गममा झोलुंगे पुल, तुइन विस्थापन, कहाँ कहाँ के भए तपाइँहरुले देखिरहनु भएकै छ ।हाम्रो कामको गति, वेग असाधाराण छ । एक दिनमा ५।७ किलोमिटरको दरले बाटो बनेको छ । डबल लेन, फोर लेन, ६ लेनको बटो बनिरहेको छ । वर्षमा १० किलोमिटर बन्थ्यो । यी तीन वर्षमा केके विकास भएको छ तपाइँहरुले देख्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ९विप्लव० लाई देशलाई समृद्ध बनाउने अभियानमा आउन आग्रह गरेका छन् । ‘बम पड्काएर किन बस्नुहुन्छ । देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुस न,’ उनले भने, ‘भयरहित देश बनाउने अभियानमा लाग्नुस् न । सरकार तपाइँलाई सकरात्मक कदमको लागि साथ दिन तयार छ ।’ उनले विप्लवसँग छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरे ।

‘मलाई लाग्छ उहाँहरुसँग छिर्ट नै कुराकानी हुनेछ । तर, केही तत्वहरु आफ्नो स्वार्थबाहेक केही नदेख्ने तत्वहरु, यी तत्वहरु चाहिँ केही समय उनीहरुले मानिसहरुलाई भ्रममा पार्ने तत्व हुन् सप्रिने तत्व होइनन्,’ उनले भने, ‘यिनको उदेश्य ठूलो छैन, विचार ठूलो छैन, यिनका काम पनि ठूला छैनन् ।’

ओलीले माधव नेपाल पार्टी अध्यक्ष हुँदा आफूहरूलाई अन्तर्वाता दिन पनि रोक लगाउने गरेको बताएका छन् । १५ वर्ष माधव नेपाललाई आफूहरूले नै साथ दिएको भए पनि उनले त्यति बेला बाहिर कार्यक्रममा गएर बोल्न पनि रोक लगाउने गरेको बताए । उनले भने, ‘माधव नेपालका पालामा हामी के बोल्यौं क्यासेट रकेर्ड गरेर सुनाउनु पथ्र्यो, अन्तर्वाता दिए कारबाहीमा परिन्थ्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा रंगशाला निरीक्षणमा पुगे । रंगशालामा राजनीतिक नेताहरु, खेलप्रेमी, प्रशिक्षक र खेलाडी ओलीलाई स्वागत गर्न पुगेका थिए ।

पोखरा रंगशालाको अवस्थाबारे बुझ्ने र निर्माणाधीन योजनाहरु हेर्न रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले जवानीमा आफू पनि खेलाडी रहेको सम्झिए ।

जवानीमा सबै युवा एक पटक खेलाडी बन्ने बताउँदै आफूले बास्केटबल खेल्न थालेको तर नसकेपछि छोडिदिएको ओलीले बताए । ‘बास्केटबल खेल्न खोजेको मबाट हुने रहेनछ भनेपछि मैले छोडिदिएँ,’ ओलीले भने, ‘म युवाहरु जवानीमा एक खालको खेलाडी हुन्छन् । कोही टोले खेलाडी, कोही जिल्लाको खेलाडी । म पनि अलिअलि टोले खेलाडी हो ।’

पछिल्ला दिनमा नेपाली खेलकुदले सफलता हात पारेको भन्दै ओलीले अझै १० औं गुणा, सयौं गुणा सफलता हात पार्न चुस्तदुरुस्त र चतुर रहनुपर्ने सुनाए ।

विभिन्न खेलका कोर्ट, मैदान, कभर्डहल, निरीक्षण गर्दै फुटबल स्टेडियम पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ब्रिफिङ गरे ।

गेटबाट छिर्नेबित्तिकै बास्केटबल कोर्ट छ । नजिकै ब्याटमिन्टन कभर्ड हल निर्माण सम्पन्न भइसकेको छ । १३ औं साग प्रतियोगिता अगाडि नै मल्टिपल कभर्ड हल बनिसकेको छ ।

फुटबल स्टेडियम, स्क्यास, भलिबल, आर्चरीलगायतका कोर्टबारे जानकारी दिँदै सिलवालले क्रिकेट मैदान खेल्न योग्य भए पनि प्यारापिट लगायतका संरचना नभएको ब्रिफिङ गरे । १६ हजार ५ सय सिट क्षमताको फुलबल प्यारापिट निर्माण भइसकेको र ३ हजार ५ सय सिट निर्माण भइरहेको सिलवालले बताए ।

३५ करोड रुपैयाँ लागत अनुमान गरिएको हिटिङ स्वीमिङ पुल, मिनी कभर्ड हल रकमको अभावले टेन्डर हुन नसकेको सिलवालले प्रधानमन्त्रीलाई सुनाए । खेलकुदलाई पर्यटनसँग जोडेर हब बनाउने बताइरहेको छ ।

रातिमा पनि खेल खेलाउन फ्लडलाइट जडान गर्न १२र१३ करोड रुपैयाँ अझै आवश्यक रहेको उनले सुनाए । बजेट नहुँदा क्रिकेट रंगशाला निर्माणले गति लिन सकिरहेको छैन ।

अब नवौं राष्ट्रिय खेलकुद आयोजना पोखरामै हुँदैछ । सबै जिल्लामा एक एक वटा खेल खेलाउने योजना भए पनि त्यसको तयारी अगाडि बढ्न सकेको छैन ।

छिटो बजेट निकासा भयो भने काम पनि छिटो अगाडि बढाउन सकिने भन्दै परिषदका सदस्य सचिव सिलवालले प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले रंगशालामा सरकारले केके गर्नुपर्छ गर्न आग्रह गर्दै रकमको कुनै कमी नहुने आश्वासन दिए । पहिले आउँदा पोखरा रंगशाला चौरमात्रै रहेको बताउँदै आफू ब्याडमिन्टन खेलेको ओलीले सुनाए । पोखरा रंगशालालाई पूर्ण रुपमा सम्पन्न गराउन केन्द्र सरकारको तर्फबाट के गर्न सकिन्छ त्यो आफूले गर्ने ओलीले प्रतिवद्धता जनाए ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता भएको पोखरा रंगशाला पोखरा, गण्डकी प्रदेश, र नेपालको मात्रै नभएर पोखरा रंगशाला दक्षिण एशियाकै भएको ओलीको भनाइ थियो ।

खेलाडीलाई प्रोत्साहन र सुविधा दिन सरकारले प्रारम्भ गरेको ओलीले बताए । दक्षिण एसियाली खेलकुदका ५१ जना स्वर्ण र २ सय ७ पदक विजेता खेलाडीलाई सम्मान गरेको बताउँदै उनले खेलकुदमा ठूलो सफलता हात पारेको दाबी गरे ।

‘१२ औं दक्षिण एसियाली खेलकुदबाट १३ औंमा आउँदा १७ गुणा बढी स्वर्ण पदक ल्यायौं,’ ओलीले भने, ‘इमान्दारिताका साथ खेल्नुस्, नेपालीलाई कसैले उछिन्न सक्दैन ।’

१० औं गुणा माथि उठ्ने गरी खेलकुद जगतले प्राप्त गरेको टेक्निक प्रयोग गरेर खेलाडी खेल सिकाउन ओलीले प्रशिक्षकहरुलाई आग्रह गरे । ‘उत्तेजित बनाउने औषधि प्रयोग गर्नु हुँदैन, ठगाइमा हामी कहिल्यै पनि जाँदैनौं,’ ओलीले भने, ‘हामी बेइमानी गरेर जित्दैनौं, उत्कृष्ट प्रदर्शन गरेर जित्छौं ।’

जुनसुकै खेल पनि पहिले दिमागले खेलेरमात्र बलले खेलिने उनको भनाइ थियो । चेसबाहेकका खेलमा बल चाहिने बताउँदै ओलीले लुँडो खेलेर टाइमपास नगर्न खेलाडीलाई आग्रह गरे ।

‘चेसमा बुद्धिमात्र लगाए पुग्छ, अभ्यास भए पुग्छ । लुँडो खेल्नुभयो भने न बल न बुद्धि । त्यसलाई टाइमपास भनिन्छ,’ ओलीले भने, ‘बुद्धि र तागत बढाउने खेलतर्फ तपाईंहरुको ध्यान जाओस् ।’

खेलाडीले रिसाउन नहुने बताउँदै ओलीले रिस घरमा पनि राख्न नहुने बताए । ‘रिस छोडिदिनुपर्छ र मसल, मुटुलाई मजबुत राख्नुपर्छ,’ ओलीको सुझाव थियो । ओलीले राम्रो अभ्यास गरेमा नेपाली खेलाडीलाई कसैले जित्न नसक्ने दाबी गरे ।

पोखरा रंगशालालाई निर्माणको कामलाई छिट्टै सम्पन्न गर्ने उनले दावी गरे । रंगशाला बनाउँदा पार्किङलाई विशेष ध्यान दिन ओलीले सुझाव दिए ।

गृहमन्त्री तथा नेकपा ओलीपक्षका नेता रामबहादुर थापाले अदालतको निर्णय देशको पक्षमा नदेखिएको बताएका छन् । अदालतको निर्णयले शक्ति पृथकीकरण रहेको देखाएपनि अदालतको निर्णयले अस्थिरताको निर्माण गरेको उनले बताए । अदालतको निर्णय देशको पक्षमा नदेखिए पनि आफूहरुले मान्ने उनले सुनाए । सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अदालतको निर्णयले देशलाई अस्थिरतातिर धकेलेको बताए । नेपालमा समृद्धि देख्न नचाहनेले सरकारमा परिवर्तन चाहेको बादलले बताएका छन् । अदालतको निर्णय होस् वा नेकपाकै नेताका भाषणले नेपाल अरुको खेलमा परेको उनको आशय थियो । समाजवाद र समाजवादका विरोधी, राष्ट्रवाद र राष्ट्रियताविरोधीको संघर्षले अहिलेको राजनीतिक परिघटना बनेको थापाले बताए ।

‘पूर्व कमरेडहरुको भनाइ, र जसरी कम्फर्टेबल सरकारको बारेमा कुरा आएको छ, त्यसैले देखाउँछ अहिलेको अवस्थाको कारण,’ उनले भने । उनले नेताकार्यकर्तालाई राष्ट्रवाद वा विरोध कता लाग्ने कित्ता प्रस्ट पार्न आग्रह गरे ।

अहिले नेपाली जनताहरु एकता, समृद्धि चाहेपनि पार्टीकै केही नेताहरु फुटको पक्षमा उभिएको थापाको तर्क थियो । पार्टीको अध्यक्षलाई नेतृत्वबाट हटाउनुपर्छ, कारबाही गर्नुपर्छ भन्दै फुटमा लागे । ‘एकथरी कमरेडले आरोपपत्र निकाले, त्यो भनेको नेतृत्व हत्याउने हो, फुटको विचारलाई अघि बढाउनु हो,’ उनले भने, ‘हामी एकताको पक्षमा छौं, एकताले मात्र समृद्धिको दिशामा लान सक्छौं ।’

अब ओलीइतर नेताहरुले आफ्नो गल्ति मानेर फर्किएमात्र पार्टी एक हुनसक्ने बताए । नेताहरु गलत बाटोमा हिँडिरहेको र यो सच्चिने बाटो रहेको बादलले बताए । भदौ २६ को निर्णयहरुलाई अर्को पक्षले कार्यान्वयन गरे पार्टीकै नेतृत्वमा सरकार समृद्धिको दिशामा जान सक्ने उनको भनाइ थियो ।

नेकपा अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै उनी कम्फर्टेबल सरकार बनाउन लागेको बताए । ‘जनताले राष्ट्रियताका लागि मत दिएका हुन्, बहुमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागे,’ उनले भने, ‘समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे एकथरी कमरेडहरुले ।’

अब सडकको मोर्चाबाट सदनको मोर्चामा परिवर्तन भएको र सदनको मोेर्चाले सरकारको बचाउ गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया