बिरामीको आँखाको नानी

समाधान संवाददाता २०७७ फागुन १९ गते १२:०५

हिमालय आँखा अस्पतालले आँखासम्बन्धी सम्पूर्णजसो उपचार पोखरामै सम्भव बनाएको छ ।

समाधान संवाददाता, पोखरा

केही वर्षअघिसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आँखा उपचारको सुविधा थियो । अहिले छैन । पोखरेलीका लागि त्यसले कुनै फरक पारेको छैन । क्षेत्रीयको सेवा पनि सारिएको थियो, हो, त्यही हिमालय आँखा अस्पताल जहाँ आँखाको लगभग सबैजसो उपचार हुन्छ ।

Advertisement

सामान्यबाहेक जटिल प्रकारका रोगव्याधिको उपचारका लागि अझै पनि पोखरेली काठमाडौं वा अन्त धाउनुपर्ने बाध्यता अन्त्य भएको छैन ।

आँखाका हकमा भने धेरै सुविधा यही सहरमा हिमालय आँखा अस्पतालले दिएको छ । आँखाका ९५ प्रतिशत समस्याको समाधान हिमालय आँखा अस्पतालमैसम्भव हुनेअस्पतालकी कामु मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ बताउँछिन् ।

Advertisement

डा. श्रेष्ठका अनुसार अस्पतालमा नानी प्रत्यारोपण सेवासमेत उपलब्ध छ । आँखामा प्लास्टिक सर्जरी पनि यही अस्पतालमा हुन्छ । ‘अहिलेसम्म १६ लाखभन्दा बढीको आँखा उपचार गरिसकेका छौं,’ डा. श्रेष्ठले भनिन् । चस्मा लगाउन नपर्ने गरी गरिने रेटिनासम्बन्धी अप्रेसन सुविधामात्रै हिमालय आँखा अस्पतालमा छैन । २०४९ सालको फागुन १८ गते यो अस्पताल स्थापना भएको थियो । सोमबार अस्पतालले २८ औं वार्षिकोत्सव मनाएको छ ।

हिमालय आँखा अस्पताल पोखरामा भए पनि यसको कार्य क्षेत्र भने साविकका ३ अञ्चल अर्थात अहिलेका २ वटा प्रदेश हुन् । पहिला गण्डकी, धौलागिरि र कर्णालीसम्मको कार्य अहिले गण्डकी र कर्णाली भएको छ । कर्णालीका दुर्गम भेगमा शिविर सञ्चालन गरी अस्पतालले उपचार गरिरहन्छ ।

‘शिविरहरु गरेर २८ हजार बिरामीको उपचार गरेका छौं,’ डा श्रेष्ठ भन्छिन्, ‘अस्पताल बाहिर गएर आयोजना गरेका कार्यक्रममा ३ लाख विद्यार्थीको आँखा जाँचेका छौं ।’ १० हजार विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरेको पनि उनले सुनाइन् ।

हिमालय आँखा अस्पतालले केही समययता शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको पढाइ हिमालय आँखा अध्ययन प्रतिष्ठानले गर्दै आएको छ । नेपालमै पहिलोपटक २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीको पढाइ पनि अस्पतालमा भइरहेको छ ।

अस्पताल स्थापनाको कथा

कर्णालीसम्म पनि कार्य क्षेत्र भएको हिमालय आँखा अस्पताल स्थापनाको कथा पनि कर्णालीसँगै जोडिन्छ । सन् ९० को दशकतिर अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडीनेपाल घुम्न आएको थियो । नेदरल्यान्डको त्यो जोडीले जुम्ला घुम्यो । त्यहाँ उनीहरुका आँखा जुम्लीका आँखा परे, जसका आँखा रोगी थिए ।

नेपालीको आँखा उपचारमा केही गर्ने सोचेरै उनीहरुले सहयोगीबाट १ वर्षमै १० लाख डलर जुटाए । र, स्थापना भयो आइ केयर फाउन्डेसन नेदरल्यान्ड । त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल स्थापना गरेको हो । केही वर्षसम्म फाउन्डेसनले अस्पताल सञ्चालनको भरथेग गरिदियो र पनि विस्तारै सबै जिम्मेवारी संघलाई सुम्पियो ।

अहिले संघ अन्तर्गत नै अस्पताल चलिरहेको छ । नेपाल सरकारले हेर्नुपरेको छैन, आफैं धानिएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्षसमेत रहेका नेत्रज्योति संघ कास्की अध्यक्ष कृष्ण गुरुङका अनुसार गण्डकी प्रदेश सरकारले अस्पतालमा ७० खर्च खर्चेर १ भवन बनाइदिएको छ ।

वनिर्मित भवन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले सरकारबाट वास्ता नगरिएको र आफ्नै ढंगले काम गरिरहेको राम्रो संस्थाको संद्दा उक्त अस्पताललाई दिए । ‘यसरी राम्रोसँग चलिरहेका संस्थालाई हाम्रो पछाडि सरकार छ भन्ने फिलिङ दिएर भरथेग गर्नुपर्छ,’ उनले भने ।

यस्ता संस्था स्वायत्त हुनुपर्ने मुख्यमन्त्रीको धारणा थियो । ‘यही अस्पतालबाट प्रभावित भएर मैले गण्डकी विश्वविद्यालय खोलेको हो,’ उनले भने, ‘यो अस्पताल चलाउने जुन मोडल छ, अन्त पनि चलाउन पाए हुन्थ्यो भन्ने लाग्छ ।’ संघका सचिव सुरेन्द्र थापामगरआँखा उपचारमा विश्वास आर्जन गरेकै कारण विदेशी पनि प्रशिक्षणका लागि आइरहने बताउँछन् ।

वार्षिकोत्सव समारोहमा अस्पतालका २ कर्मचारीलाई २०÷२० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित उत्कृष्ट पुरस्कार प्रदान गरियो । मुख्यमन्त्री गुरुङले अपरेसन कक्ष सहायक मीना राई र कार्यालय सहयोगी तुलसीकुमारी ढकाललाई सम्मान गरे । उनले अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्त, संघका गण्डकी अध्यक्ष डा दिलबहादुर क्षेत्री, सहरी विकास तथा भवन डिभिजन कार्यालय पोखराका महेन्द्र बानियाँ, अस्पतालका कर्मचारी प्रेम नकर्मी लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया