समय घर्कियो, बनेन रिङ रोड

समाधान संवाददाता २०७७ फागुन २८ गते ११:२३

एसके थकाली, जोमसोम

पूर्वाधार विकास कार्यालय मुस्ताङले जिल्लाका २ रिङरोडको कामलाई तीव्रता दिएको छ । फागुन दोस्रो साताबाट घरपझोङ रिङरोड सडक र उपल्लो मुस्ताङमा लोमान्थाङ रिङरोड सडकको काम धमाधम भइरहेको छ ।

प्रदेशको १ निर्वाचन क्षेत्र १ सडक योजना अन्तर्गत सुरु गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ, ढिङ्गर हुँदै नेचुङ जोड्ने रिङरोड सडक र तल्लो मुस्ताङको जोमसोम, ठिनी, ढुम्बा हँुदै छैरो जोड्ने रिङरोड सडक हिउँद यामको मौसम र कोरोना कहरले विगत १ वर्षदेखि रोकिएकोमा अहिले सुरु भएको हो ।

Advertisement

प्रदेश गौरवका २ रिङरोडको कामले विस्तारै गति पाएको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिए । कोरोना कहर, हिउँदयाम र बेनी जोमसोम सडक अवरुद्धका कारण प्रभावित बनेका रिङरोडमा नयाँ ट्र्याक खोल्ने, रक कटिङ गर्ने, सडक स्तरोन्नति, ग्याबिक लगाउने, ह्युमपाइप बिच्याउने र सडक चौडा गर्ने काम भइरहेको छ ।

घरपझोङको जोमसोम, ठिनी, सम्ले, ढुम्बा हँुदै छैरो जोड्ने रिङरोड निर्माण तथा सडक स्तरोन्नतिको जिम्मा वन्दन भगवती जलजला जेभीले लिएको छ भने लोमान्थाङ रिङरोड स्तरोन्नतिको जिम्मा इमोटल कन्ट्रक्सनले लिएको छ । घरपझोङ रिङरोडको लागत २१ करोड ४३ लाख १३ हजार छ भने लोमान्थाङ रिङरोडको लागत २१ करोड १७ लाख ९ हजार छ ।

Advertisement

घरपझोङ रिङरोडको सम्झौता २०७६ असार २६ मा भएको हो । यो रिङरोड २०७८ साल असार २५ गते सम्पन्न भईसक्नुपर्नेमा थियो । कोरोना कहर र चालु वर्षको जाडो मौसमपछि अहिले २० प्रतिशत भौतिक प्रगति भएको पौडेलले बताए ।

जोमसोम, ढुम्बा, छैरो सडक १० दशमलव ५ किमी छ । १० दशमलव ५ किमी लामो सडकको जोमसोमदेखि ढुम्बातालसम्मको ५ किमी सडकमा कालोपत्रे गरिने इन्जिनियर पौडेलले बताए ।

रिङरोड ७ मिटर चौडा हुनेछ । जोमसोम ढुम्बा सडकमा ५ दशमलव ५ मिटर फराकिलो कालोपत्रे हुनेछ । घरपझोङको ढुम्बादेखि छैरोसम्मको रिङरोडमा करिब साँढे ३ किमी नयाँ ट्र्याक खोल्नुपर्नेमा अहिले २ किमी सडकको नयाँ ट्र्याक खोलिएको छ ।

उपल्लो मुस्ताङको १० दशमलव ५ किमी लामो लोमान्थाङ रिङरोडको सम्झौता २०७६ साल साउन ६ गतेसम्म थियो । यो सडक २०७७ जेठ २२ गते सकिनुपर्ने अहिलेसम्म १० प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

सम्झौता अवधि सकिन ३ महिनामात्र बाँकी रहेको निर्माण कम्पनीले अब ९० प्रतिशत काम गर्न बाँकी छ । प्रदेश गौरवका दुवै रिङरोड तोकिएको अवधिमा नबन्ने करिब निश्चित छ ।

स्थानीय कृषि उत्पादनमा नामी मानिएको मुस्ताङमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले रिङरोड सडकका माध्यमले स्याउ, उवा, फापर लगायतका अन्नबालीको सहज ढुवानी गर्ने उद्देश्य राखेको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले बताए । उनले रिङरोड बनेपछि किसानले सजिलै बजारिकरण गर्न सक्ने बताए ।

तपाईको प्रतिक्रिया