मनकारी मीलनलाई मोदीको सम्मान

समाधान संवाददाता २०७७ चैत ४ गते १२:५६

पालिकाले सम्झियो योगदान पुर्‍याउने ब्यक्ति र संस्था

समाधान संवाददाता, पोखरा

विदेशमा गरेको श्रमको मूल्य बचाएर जन्मभूमिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको मीलन फाउन्डेसनलाई मोदी गाउँपालिकाले सम्मान गरेको छ । हङकङमा कार्यरत दुर्गा गुरुङ ‘मीलन’ले मासिक आम्दानीको कम्तिमा २० प्रतिशत सामाजिक सेवामा लगाउँदै आएका छन् ।

स्वास्थ्य र शिक्षामा काम गर्ने उद्देश्यले स्थापना भएको फाउन्डेसनले समाजका अन्य क्षेत्रमा पनि विभिन्न सहयोग गर्दै आएको छ । चैत ३ गते मंगलबार स्थापना दिवसका अवसरमा फाउन्डेसनलाई पालिकाले सम्मान गरेको हो ।

आफ्नो चौथो स्थापना दिवसका अवसरमा समाजमा विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै फाउन्डेसनलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।
‘पालिकाका विभिन्न क्षेत्रमा सेवा तथा योगदान पु¥याउने विभिन्न संस्था तथा व्यक्तिहरुलाई स्थापना दिवसका अवसरमा सम्मान गरेका हौं,’ अध्यक्ष पौडेलले भने, ‘मीलन फाउन्डेसनले मोदीमा चाहे त्यो शिक्षाको क्षेत्रमा होस्, चाहे स्वास्थ्यका क्षेत्रमा हरेक समस्यामा सहयोगी हात फैलाउँदै आइरहेको छ ।’
प्रतिनिधि सभा सांसद पदम गिरीले मीलन ट्रस्टकी संरक्षक तथा दुर्गाकी आमा सावित्रीकुमारी गुरुङलाई सम्मान हस्तान्तरण गरे । सम्मान प्रदान गरेपछि सांसद गिरीले मीलनजस्ता मनकारीहरुकै कारण समाजमा दुख र विपदमा मल्हमपट्टी लाग्ने गरेको बताए ।

Advertisement

मिलन फाउन्डेसन सन् २०१५ मा स्थापना भएको हो । फाउन्डेसनमार्फत दुर्गा गुरुङले व्यक्तिगत खर्चमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् । मोदी–५ बाजुङका सबैजसो विद्यालयमा न्यायो कपडादेखि विभिन्न सहयोग गर्दै आएका गुरुङले मोदी गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाको स्तरोन्नतिमा आर्थिक सहयोग गर्दै आएका छन् ।

विभिन्न कार्यक्रमका साथ पालिकाको स्थापना दिवस बनाइएको प्रशासकीय अधिकृत किसनबहादुर क्षत्रीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य रामबहादुर प्रसाईं ‘जीवन’, नेकपा (एमाले) गाउँपालिका कमिटीका अध्यक्ष तेजबहादुर क्षेत्री, नेकपा (माओवादी केन्द्र) का मनबहादुर पौडेल लगायतले शुभकामना दिएका थिए ।

Advertisement

विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनीय योगदान पु¥याउँदै आएका संघसंस्था, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, जग्गा व्यवस्थापन समिति, होमस्टे, राष्ट्रियस्तरका खेलाडी, उद्यमीलाई पालिकाकाले सम्मान तथा पुरस्कृत गरेको हो ।

भास्कर रेग्मी (कम्प्युटर अपरेटर), प्रकाशचन्द्र सुवेदी (कविराज), गायत्री चपाइँ उत्कृष्ट कर्मचारी बनेका छन् । शिक्षा तथा स्वास्थ्य र खेलकुदको क्षेत्रमा योगदान पु¥याएबापत मीलन फाउण्डेसनका दुर्गा गुरुङलाई सम्मानित गरिएको थियो भने भूमिराज शर्मा जननेत्र माविमा कार्यरत शिक्षक र डिमुवा माविमा कार्यरत मोति थापा उत्कृष्ट शिक्षक बने ।

हलहले उद्यम भवन निर्माण उपभोक्ता समिति उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति घोषित भएको छ । मोदी गाउँपालिका–२ की खेलाडी हिरा केसीलाई पालिकाले सम्मान गरेको छ ।

मोदी–४ मा लेस्पार पाउरोटी उद्योग चलाइरहेका प्रेमबहादुर पुनलाई उत्कृष्ट उद्यमीको सम्मान दिइएको छ । मोदी–७ को ग्रिन भिलेज कृषि फर्म उत्कृष्ट बनेको छ भने मोदी–६ को पशु फर्म विशाल पशुफर्मलाई पशुतर्फ उत्कृष्ट सम्मान दिइएको छ ।

मोदी–८ को चित्रे सामुदायिक होमस्टेलाई उत्कृष्ट होमस्टेको रुपमा सम्मान गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया