इजिआरपीको विद्यालय अनुगमन

समाधान संवाददाता २०७७ चैत ६ गते १६:११


सुन्दरकुमार थकाली
जोमसोम, ६ चैत


हिमाली जिल्ला मुस्ताङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (एनइजिआरपी) तथा स्थानीय तहको संयुक्त टोलीले मंगलबार र बिहीबार विद्यालय अनुगमन गरेको छ । नेपाल सरकार तथा अमेरिकी सहयोग नियोग (युएसएआइडी)को प्राविधिक सहयोगमा २०७२ सालबाट सुरु यो कार्यक्रम दोस्रो संस्करण सुरु भएपछि मुस्ताङमा पहिलोपटक प्रत्यक्ष विद्यालय अनुमगनको कार्यक्रमलाई अघि बढाएको हो ।


यसअघि नेपाल सरकार तथा इजिआरपी समन्वयमा जिल्लाका ५ वटै स्थानीय तहका विद्यालयमा जोडिएको यो कार्यक्रम दोस्रो संस्करणमा सम्बन्धित पालिकासँग समन्वय गरी विद्यालयको शैक्षिक विकासमा योगदान गर्ने उद्देश्यले नया मोडलमा लागु भएको जनाइएको छ । यो कार्यक्रम पछिल्लो समय ३८ जिल्लामा लागु भइसकेको छ । इजिआरपी लागु भएका सबै जिल्लामा युएसएआइडीले प्राविधिक सहयोग पु¥याउन जिल्ला संयोजकसमेत खटाइसकेको छ । मुस्ताङमा एनइजिआरपी कार्यक्रमलाई प्राविधिक सहयोग पुर्‍याउन स्थानीय प्रजु गुरुङलाई जिम्मा दिइएको छ ।

Advertisement


प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रहेर शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले संञ्चालनमा आएको कार्यक्रमले कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपमा सुधार गर्ने मुख्य लक्ष्य छ । कार्यक्रममार्फत पाठ्यक्रमको सान्दर्भिकता समयानुकुल परिमार्जनको आवश्यकता रहँदा विद्यार्थीलाई मनोवैज्ञानिक तवरले सिकाउने यसको प्रमुख लक्ष्य हो ।


मुस्ताङमा विद्यालयको समग्र शैक्षिक तथा कक्षाकोठाको सिकाइ वातावरण, शैक्षणिक क्रियाकलाप, परीक्षण प्रक्रिया र विद्यालयका सरोकारवाला लगायतसँग छलफल गरी विद्यालयको वातावरण अभिलेखीकरण, शिक्षक पेसागत जवाफदेहिता, कक्षा कोठाको अनुमगन तथा सिकाइ आदिको मापन गर्न विद्यालय अनुमगन गरिएको इजिआरपी जिल्ला संयोजक प्रजु गुरुङले जानकारी दिइन् ।

Advertisement


उनका अनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा १, २ र ३ मा अवस्थित योगेन्द्र मावि टुकुचे, जनआदर्श अमरसिंह मावि कोबाङ, राष्ट्रिय बुद्धि विकास आवि नाउरिकोट र ज्ञानोदय मावि लेतेमा विद्यालय अनुमगन गरिएको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा जननर्मल आवि छुसाङ, जनशान्ति मावि कागबेनी, लुप्रा आवि लुप्रा र मुक्तिनाथ आवि झारकोटमा अनुगमन गरिएको उनले बताइन् ।


मुस्ताङ र बाग्लुङका इजिआरपी संयोजक प्रजु गुरुङ र बुद्धिबल थापा मगर, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंंकराज बराल, स्थानीय तहका शिक्षा संयोजक र स्थानीय जनप्रतिनिधि लगायतको संयुक्त टोलीले विद्यालय अनुमगन गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बरालले जानकारी दिए । उनले अनुमगनले विद्यालय र शिक्षकलाई पेसा, काम कर्तव्य र दायित्वप्रति आत्मबोध गराउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।


घरपझोङका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले विद्यालय अनुमगनपछि विद्यालयको समग्र शैक्षिक गतिविधिको मूल्यांकन गरिएको र कमीकमजोरी रहेका विद्यालयलाई सुझाव तथा निर्देशन दिइएको बताए ।


राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी) अन्तर्गत सञ्चालित हुने यस प्रकारका कार्यक्रम कोभिड—१९ का कारण रोकिएको थियो ।

तपाईको प्रतिक्रिया