जहाँबाट किरण उदाए

समाधान संवाददाता २०७७ चैत ८ गते १८:३६

समुद्री सतहबाट २१४० मिटर उचाइमा रहेको महापुरुष पोखराकै अग्लोमध्येको डाँडा हो

अनिष भट्टराई, पोखरा

नीलो आकासमा माछापुच्छ«ेको हिउँ टलक्क टल्किन्छ । देब्रेतिर अन्नपूर्ण हिमशृंखला र दाहिनेतिर भेडाबारी, लाहाचोक, घाचोक ।

Advertisement

सीधा अगाडि हेर्ने हो भने देखिन्छन्, ससाना घरका लामबद्ध टिनका छानाहरु । बिहानीको उज्यालो घाममा कुनै टिन चम्किन्छन् त कुनै सुनौला देखिन्छन् ।

पोखराको मुख्यचोकबाट हेर्दा निकै अग्लो देखिने काहुँडाँडा पनि यहाँबाट पुड्को देखिन्छ । नागबेली बाटा र ससाना थुम्काहरु माछापुच्छ«ेको काखमा बसेर हेर्दा जोकोहीको मन हर्षित हुन्छ । पोखरा महानगर १६ अर्मलाकोटको महापुरुषडाँडाबाट देखिने दृश्य हो यो ।

Advertisement
महापुरुष डाँडाबाट देखिएको अर्मलाकोट

डाँडामा एउटा गोठको भग्नावशेष छ । सो घरमा एक साधुले तपस्या गरेको र उनकै नाममा डाँडाको नाम ‘महापुरुष’ राखिएको स्थानीय बताउँछन् । ‘यहीँ बस्ने, खाने अनि पोखरा, हिमाल हेरेर तपस्या गर्नुभएको र पछि हराउनु भएको भन्ने जनविश्वास छ । उहाँ महापुरुषकै नाममा यो डाँडा छ,’ स्थानीय कर्ण गुरुङ भन्छन् ।

अर्मलाकोटबाट करिब सवा २ घन्टाको उकालो हिँडेपछि महापुरुष डाँडा पुगिन्छ । अर्मलाकोटबाट केही माथिसम्म मात्र गाउँलेले सिँढी छापेका छन् । बाँकी बाटो निर्माणकै चरणमा छ ।

समुद्री सतहबाट २१४० मिटर उचाइमा रहेको महापुरुष पोखराकै अग्लोमध्येको डाँडा हो । तर पोखराकै ‘छानो’ भएपनि यो ठाउँले उति साह्रो ध्यान भने पाउन सकेको छैन । गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापा भन्छन्, ‘अग्लो हो भने अग्लो भनेर प्रकाशन नै गरौं, अब यो ठाउँमा पर्यटक ल्याउन जे गर्नुपर्छ त्यही गर्ने हो ।’

महापुरुष डाँडा तलको अर्मलाकोटमा गाउँलेले घरबास सञ्चालन गरेका छन् । गुरुङ जातिको बाहुल्य रहेको अर्मलाकोटमा बेलुका गुरुङ भाषाका गीतहरु सँगै रोधी गाइन्छ ।

००० 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई अर्मलाकोटमा फेरि रोधी बस्ने धोको छ । शिवरात्रिमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि उनी गाउँलेसँगै गुरुङ भाकामा नाचे । उनको धोको भने अझै मरिसकेको छैन ।

अब उनलाई हरेक वर्ष अर्मलामा पुग्ने धोको छ । ‘म अब हरेक वर्ष यहाँ आउनेछु, यो मेरो आफ्नै घर हो, घरमा बल्ल फर्किएँ, निकै भावुक छु,’ उनले भने ।

अर्मलाको विकासमा सहयोग गर्ने वाचा गाउँलेलाई गरे । अहिले बाटोको समस्या रहेपनि बाटोको स्तरोन्नति छिट्टै गरिने उनको प्रतिवद्धता थियो । केही समयअघिसम्म अर्मलामा टेलिकमको एउटा टावर पनि थिएन । अहिले भने त्यहाँ नेपाल टेलिकमको टावर राखिएको छ र बाँडिएको छ निशुल्क सिम कार्ड ।

गुरुङहरुको समाधिस्थल गाउँनिरै छ । समाधिस्थलको संरक्षण र अर्मलाको होमस्टेको प्रवद्र्धन गरिनुपर्ने मन्त्री गुरुङको इच्छा थियो । मन्त्री किरण गुरुङले आफ्नो गाउँ घुमेपछि स्थानीयमा पनि आशा छाएको छ ।

अब अर्मलाले रुप फेर्ने स्थानीयको आशा छ । कर्ण गुरुङ भन्छन्, ‘मन्त्रीज्यूले आफ्नै गाउँ भनेर अपनत्व लिनुभएको छ, अब गाउँ फेरिन्छ, विकास त भइरहेकै छ ।’

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिवसमेत रहेका अर्मलाका स्थानीय तेज गुरुङ गाउँमा हाई अल्टिच्युडको खेल प्रवद्र्धन गर्न सकिने बताए । मन्त्री गुरुङले यसमा आफूहरुलाई सहयोग गर्ने उनको अपेक्षा थियो ।

पोखरालाई सहजै अर्मलाकोट–महापुरुष डाँडासँग जोड्न केबलकार पनि राख्न सकिने उनको भनाइ थियो । ‘केबलकार पनि पछि ल्याउन सकिएला, अहिले बाटो राम्रो बनाउने बित्तिकै यहाँ पर्यटकहरु बढिहाल्छन्,’ उनले भने ।

०००  

गाउँको पल्लो छेउमा एउटा पुरानो घर छ । ढुंगाले छापिएको आँगन । घरको छानो पनि ढुंगाले नै छाइएको छ । खाँबाहरु पुराना बनेका छन् ।

भित्रै आगो सल्काइने हुँदा भित्ताहरु कालो बनेका छन् । भ¥याङ चढेर माथि गएपछि मकै देखिन्छन् । ससाना ३ झ्याल राखिएको छ । झ्यालबाट घामका केहीमात्रै किरण छिर्छन्, त्यसकारण घरको आँटी प्राय अँध्यारो रहन्छ ।

धन्सार र घर आमनेसामने पारेर बनाइएको छ । धन्सारको भने ढोका ठुलो छ । ‘डियाँ’का लागि घाँस, पराल त्यहीँ राखिन्छ ।

यो घर त्यही हो, जहाँ अहिले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्र्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ बसेका थिए । पोखरा महानगर १६ अर्मलामा रहेको यो घर अहिले पनि दुरुस्तै छ । पञ्चायतकालमा भूमिगत हुँदा किरणले पहिलो पटक ‘सेल्टर’ लिएको घर शेरा गुरुङको हो ।

अहिले पनि घर उभिएकै छ, तर घरका मान्छे छैनन् । छन् त केवल यादहरु । किरण गुरुङ ४ दशकपछि शिवरात्रिको छेको पारेर त्यो घरमा पुगे । घरले उनलाई नोस्टाल्जिक बनाइदियो । उनी त्यो घरमा बस्दाताकका यादबारे धाराप्रवाह लगाउँदै थिए ।

२०३६ वैशाखको अन्तिम साता किरण गुरुङ त्यहाँ पुगे । पृथ्वीनारायण क्याम्पसमा आइएससी पढ्दै गर्दा उनी सक्रिय राजनीतिमा लागे ।

सोमनाथ प्यासीहरुको सहयोगमा उनी गाउँगाउँ जाने र बहुदलीय व्यवस्थाबारे प्रचार गर्नुपर्ने भयो । प्यासीले अर्मलाका खोपबहादुर गुरुङ लगायत केही स्थानीय युवालाई भनेर किरणलाई त्यहाँ पु¥याए ।

जोम गुरुङ (५६) त्यो बेला राष्ट्रिय माविमा कक्षा ८ मा पढ्दै थिए । राजनीतिको उति साह्रो सुर्ता थिएन । खोपबहादुरले भनेपछि उनी पनि किरण गुरुङलाई गाउँमा सहयोग गर्न तयार भए ।

‘त्यति बेला गाउँमा हामीले नि सहयोग गरेका थियौं, उहाँ त गाउँले झैं नै बस्नुहुन्थ्यो, नेता भए पनि बडपपन थिएन,’ उनले भने, ‘धेरै बोल्नुन्थेन, दिनभर काम गर्ने, बेल्का पढाउने गर्नुन्थ्यो ।’

किरण अर्मलामा धेरै समय भने बसेनन् । पात्ले, राले लगायत गाउँमा पनि बसे । उनले सेल्टर लिएका घरहरुमध्ये एक घरमात्र भत्काइएको छ । अरु सबै उस्तै छन् ।

‘यो ठाउँले मलाई नस्वीकारेको भए, म यो ठाउँमा हुने थिइनँ, अर्मला मेरो लागि राजनीति विषयको विश्वविद्यालय नै हो,’ उनले भने । जेठको बेला भएकाले उनी पहिलोपटक त्यहाँ पुग्दा बारीको आली खन्ने, जोत्ने काम भइरहेको हुन्थ्यो ।

तनहुँमा उनले खन्ने, बाउसेको काम सिकेका थिए । जोत्न भने जानेका थिएनन् । अर्मलामै उनले पहिलोपटक जोत्न सिके । गाउँलेसँगै गाउँलेकै खाजा खाए, गाउँलेकै लुगामा हिँडे । यो गर्नु उनका लागि जरुरी पनि थियो, किनकी त्यो बेला पार्टीहरु प्रतिबन्धित थिए ।

गाउँ पञ्चायतले सुइँको मात्रै पाएको भए उनी कारबाहीमा पर्थे । ‘दिनभर खनेर, बेलुका आएर प्रौढशिक्षा पढाउनुपथ्र्यो, म त शिक्षक बनेर गएको थिएँ, धन्सारमा २ वटा खाट थिए, पानी चुहिएपनि त्यहीँ सुत्थें,’ उनी सम्झन्छन् ।

क्रान्तिमा लागेका गुरुङलाई यो मन परेन भन्ने केही छुट थिएन । ‘गाउँमा गरिबी थियो, खाना राम्रो हुन्थेन, तर मन परेन भनिनँ,’ उनले भने ।
बेलुका रोधी बस्थे । रोधीमा पनि उनले गीत गाए, नाचे ।

गाउँका बुढापाकादेखि युवायुवतीलाई पञ्चायतविरोधी पाठ सिकाए । पञ्चहरुले त्यसको खबरसम्म पाएनन् । पछि असोजसम्म उनी त्यहीँ बसे । असोजपछि उनको कार्यक्षेत्र विस्तार भयो । उनी अर्मलामात्रै होइन, मौजा, आँटीघर हुँदै विजयपुरसम्म क्रान्तिका पाठ सिकाउँदै हिँड्नुप¥यो । त्यसपछि अर्मलामा उनको बसाइँ पातलियो ।

यसबीचमा उनका केही साथीहरु जो पढाइ छाडेका थिए, उनीहरु राजनीति गर्दिनँ भनेर फर्किए । फेरि पढ्न थाले ।

तर किरण गुरुङमा क्रान्तिको भोक थियो, तब त उनी साथीहरुबाट एक्लिए पनि क्रान्ति छाडेनन् । र, आज नेपाली राजनीतिको एक सशक्त पात्र भएका छन् ।

तपाईको प्रतिक्रिया