घरचरी, वनचरी दुवै दुर्लभ

समाधान संवाददाता २०७७ चैत १६ गते ११:२२

गलेश्वर, रासस

कुनै समय थियो, गौंथलीको चिरबिर र परेवाको माकुर…कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो ।

समय बदलियो । समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए ।

Advertisement

धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोत हराउँदै गए । रैथाने प्रविधि लोप भए ।

मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्था छ ।

Advertisement

वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी र वनचरी म्याग्दीका गाउँबस्ती र वनजंगलबाट लोप हुने अवस्थामा पुगेका छन् ।

शान्ति र प्रेमको प्रतीकसमेत मानिने घर पालुवा पक्षी परेवा र परिश्रम र सहकालको प्रतीक मानिने गौंथली अब म्याग्दीका गाउँबस्तीमा देखिन छाडेका छन् ।

वनपाखामा बासस्थान (गुँड) बनाएर बस्ने ढिकुर, डांग्रे, भँगेरा, मालचरीलगायतका पक्षीहरू हराउँदै गएपछि वनजंगल पनि सुनसानजस्तै लाग्न थालेको छ ।

घरमा परेवा र गौँथली पाल्ने संस्कृति नासिँदै गएको वन तथा वातावरण क्षेत्रका अध्येता चन्द्रमणि सापकोटाले बताए ।

जोडी बनाएर बस्ने परेवा र गौँथलीले मानवबस्तीको विस्तार, पक्की घर निर्माण, चरन क्षेत्र अभावलगायत विभिन्न कारणले विस्तारै बासस्थान परिवर्तन गर्न थालेको उनी बताउँछन् ।

‘बासस्थान र चरनक्षेत्र प्रमुख कारण हो । भौतिक संरचना परेवा र गौँथलीमैत्री छैन्’, सापकोटाले भने ।

धार्मिक र परम्परागत भनाइमा परेवा र गौँथली मार्दा पाप लाग्ने बताइन्छ तर पछिल्लो समय पूजा गर्ने, भाकल चढाउने नाममा गाउँघरमा कतै कतैमात्र पाइने परेवा नासिँदै गएका छन् भने औषधि हुन्छ भनेर गौँथलीको समेत शिकार गर्न थालिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गत वर्ष चैतबाट गरिएको बन्दाबन्दीका कारण गाउँमा फर्केका युवाले वनका पक्षीको शिकार गरेर दिन बिताउने गरेका कारण म्याग्दीका जंगलबाट वनचराको सङ्ख्या पनि निकै कम भएको पाइएको छ ।

२ वर्ष अघिसम्म वनमा पाइने ढिकुर, कालिज, तित्रो, मालचरीलगायतका पक्षीहरू गत वर्षदेखि अत्यन्त थोरैमात्र देखिने गरेको रोहोटेका चन्द्रबहादुर घिमिरेले बाए ।

प्रकृतिका वनचरी नास हुनुमा मानवीय कारण नै प्रमुख रहेको वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालको भनाइ छ । मानवीय स्वार्थ र लापरवाहीका कारण वनचरीको बासस्थान नास हुने र अवैधरूपमा शिकार गर्ने प्रवृत्तिले जङ्गलबाट वनचरी हराउँदै गएको उनी बताउँछन् ।

मानवीय लापरवाहीका कारण लोप हुन लागेका घरचरी र वनचरीको संरक्षणका लागि बेलैमा सचेत हुनुपर्ने वन तथा वातावरण क्षेत्रका अगुवाको भनाइ छ ।

गुँड नजिक अर्को गुँड बनाउने, आवतजावत गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा कीरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहर नफाल्ने गरेमा घरचरीको संरक्षण गर्न सकिने वातावरण संरक्षका अभियानकर्मी सापकोटाको भनाइ छ ।

त्यसैगरी अवैधरूपमा गरिने चोरी शिकारीलाई नियन्त्रण गरी आहारा र बासस्थानको अभाव हुन नदिने हो भने वनचरीलाई जंगलमा नै संरक्षण गर्न सकिने निमित्त प्रमुख खनालले बताए ।

तपाईको प्रतिक्रिया