मुस्ताङ कारागार – न पर्याप्त पूर्वाधार, न जनशक्ति

समाधान संवाददाता २०७७ चैत १८ गते २०:४५

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङको जोमसोम स्थित कारागारमा सुरक्षा मापदण्ड कमजोर हुँदा त्यहाँ रहेका दर्जन कैदी–बन्दी लामो समयदेखि कारागारभित्रै गुम्सिन बाध्य छन् ।

झन्डै ४ रोपनीमा फैलिएको मुस्ताङ कारागारको भौतिक संरचना कमजोर हुँदा त्यहाँ रहेका कैदी–बन्दी २ कोठे भवनमा २४ सै घण्टा गुम्सिन बाध्य भएका हुन् ।

Advertisement

२०३७ सालमा स्थापना भएको मुस्ताङ कारागारको कम्पाउन्ड कमजोर र होचो भएकाले कारागारमा सुरक्षा चुनौती छ । कम्पाउन्डको चारैतिर तारबार लगाइएको भए पनि मापदण्ड अनुसार कारागारको भौतिक पूर्वाधार छैनन् ।

आवश्यक सुरक्षा संरचना नहुँदा कारागार प्रशासनले कैदी–बन्दीलाई कारागारभित्रै राख्नु परेको हो । यसले कैदी—बन्दीको सामान्य हिंडडुल गर्न पाउने मानवअधिकार समेत कार्यान्वयन भएको पाइँदैन । उनीहरुलाई खुट्टा तन्काउन हिंडडुल गर्ने तथा आयआर्जनका अन्य क्रियाकलाप गर्नमा समेत समस्या रहेको निमित्त जेलर संञ्जय शर्माले बताए ।

Advertisement

मुस्ताङ कारागारमा कैदी बन्दीलाई दिउँसो घाम ताप्न हट रुममै सीमित राखिएको छ । कैदी—बन्दी भाग्न सक्ने डरले उनीहरुलाई कोठाभित्रै सीमित राखिएको हो । कारागारको कैदी—बन्दी, सुरक्षाकर्मी र कर्मचारी बस्ने भौतिक संरचनासमेत जीर्ण छ ।

कैदी—बन्दी, सुरक्षाकर्मी र कर्मचारी बस्ने ७ कोठे भवन ढुंगा र माटोले बनेको छ । भवनको छतमा सख्खर माटो बिच्छ्याएको छ भने २ कोठे हट रुम जस्ताले छाइएको छ । जीर्ण भवनमा बस्ने कैदी–बन्दी, सुरक्षाकर्मी र कर्मचारीले हिउँदयामको हिमपात, हावाहुरी, जाडो थेग्नसमेत मुस्किल पर्छ । पानी पर्दा चुहिने गर्छ । भवनको अवस्था अत्यन्तै नाजुक हुँदा उनीहरु आनन्दले सुत्नसमेत पाउँदैनन् ।

कारागार भवन सानो हुँदा क्षमताभन्दा बढी कैदी–बन्दी बस्न बाध्य छन् । १० जना कैदी–बन्दी अट्ने कारागारमा कुनै बेला २६ जनासम्म राखिएको थियो । अहिले १३ पुरुष कैदी–बन्दी छन् । कारागारमा दरबन्दी अनुसार कर्मचारी र सुरक्षाकर्मी छैनन् ।

१ असइको कमान्डमा २० सुरक्षाकर्मीको दरबन्दी भएकोमा अहिले १० जना मात्र छन् भने १ जेलरसहित ७ जना कर्मचारीको दरबन्दीमा ४ जनामात्र छन् ।

२९ वर्ष पुरानो मुस्ताङ कारागारको जीर्ण भौतिक संरचना तथा कारागारको कम्पाउन्ड स्तरोन्नति गर्न कारागार व्यवस्थापन विभाग तथा अर्थ मन्त्रालयले चाँसो दिएको छैन । मुस्ताङ कारागारमा कैदी–बन्दीलाई खेलकुदका सामाग्री छैनन् भने पुस्तकालय पनि छैन ।

पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङले कारागारका कैदी–बन्दीलाई आयआर्जनका लागि १५ दिने सीप विकास तालिम दिएको छ । कार्यालयले कैदी–बन्दीलाई मुडा बनाउने तालिम दिएको हो । तालिम पाए पनि बाँस पाउन अप्ठ्यारो पर्ने र बजारमा मुडा सहजै बिक्री नहुने भएकाले कैदी बन्दी अझै अप्ठेरैमा छन् ।

तपाईको प्रतिक्रिया