६ दिनपछि खुल्यो बेनी—जोमसोम सडक

समाधान संवाददाता २०७७ चैत २० गते २१:००

एसके थकाली, जोमसोम

सडक स्तरोन्नतिका लागि बन्द गरिएको राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडक ६ दिनपछि शुक्रबार बिहान सञ्चालनमा आएको छ ।

मुस्ताङ र म्याग्दीको सीमा क्षेत्र काभ्रेभीर र मुस्ताङको थासाङ ३ कैकु खोलाको सडक बेस स्तरोन्नति गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्याललय मुस्ताङले सडक पूर्ण रुपमा बन्द गरेको थियो ।

Advertisement

जिल्ला सडक सुरक्षा समिति मुस्ताङले बेनी जोमसोम सडक पहिलो पटक चैत १४ देखि १७ गतेसम्म बन्द गरेको गरेको थियो । तोकिएको समयमा सडक मर्मत नसकिपछि थप २ दिन बाटो बन्द गरिएको थियो ।

कालिगण्डकी करिडोर अन्तर्गत शर्मा गजुरमुखी जेभीले जिम्मा लिएको सडकमा निर्माण कम्पनीका उपकरण र जनशक्ति प्रयोग गरी सडक आवागमन खोलिएको गरिएको बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

Advertisement

सडक खुलेपछि मुस्ताङबाट लामो तथा छोटो दूरीका यातायातका साधन चल्न थालेका छन् । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । म्याग्दी र मुस्ताङको प्रवेशद्वार काभ्रेभीर मुस्ताङ प्रवेश गर्ने जोखिमपूर्ण विन्दु हो ।

यहाँ आयोजनाले १ हजार ५ सय मिटर सडकमाथिको ढुंगा कटिङ गरी सडक चौडा गरिरहेको छ । सडक निर्माणका क्रममा मुस्ताङको कैकुमा सुख्खा पहिरो जाँदा बेनी—जोमसोम सडक अवरुद्ध भएको थियो ।

हिउँद यामपछि चाडपर्व नजिकिँदै गरेको र मुस्ताङमा पर्यटकीय चहलपहल बढेको अवस्थामा सडक बन्द हुँदा सयौं यात्रु बिचल्लीमा परेका थिए । बाटो बन्द हुँदा मुस्ताङको पर्यटन क्षेत्रसमेत प्रभावित बनेको थियो ।

तस्बिर : इन्द्रसिंह शेरचन

तपाईको प्रतिक्रिया